२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

फाइल तस्बिर।

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।

आर्थिक मन्दी, चर्को ब्याजदरले थलिएका उद्योगहरूलाई अनियमित  विद्युत् आपूर्तिले झनै समस्यामा पारेको उद्योग संगठन मोरङले जनाएको छ।

उद्योग संगठन मोरङले सोमबार विज्ञप्तिमार्फत अनियमित विद्युत् आपूर्तिको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

उद्योग संगठन मोरङले तत्काल विद्युत् आपूर्तिको समस्या समाधान नभए उद्योगी व्यवसायी उद्योग बन्द गरेर सडकमा उत्रन बाध्य हुने र त्यसपछि आउने विकराल परिस्थिति प्रति गम्भीर हुन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

‘विषम परिस्थितिमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरताले कम गर्न र रोजगारी सिर्जना गर्न स्वदेशी उद्योगहरूले सहयोग पुर्‍याउदै आइरहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘उद्योग व्यवसाय विद्युत् समस्याका कारण निर्बाध संचालन हुन सकेनन् भने बन्द गरी उद्योगी÷व्यवसायी सडकमा आउनुको विकल्प नरहने तर्फ ध्यानाकर्षण गराउँदै त्यसपश्चात् उत्पन्न हुने विकराल अवस्था प्रति गम्भीर हुन संगठन सम्बन्धित निकायमा अनुरोध गर्दछ।’

उद्योग संगठन मोरङका अनुसार आर्थिक मन्दी, बैङ्कको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले २०७९ पुस महिना देखि अनियमित विद्युत् आपूर्तिको समस्या भोग्दै आएका छन्।

विद्युत्को अनियमित आपूर्ति, बारम्बारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत् कटौती जस्ता कारणले यस क्षेत्रका उद्योगहरूले दैनिक करोडौँ रुपैयाँको नोक्सानी बेहोर्नु परिरहेको छ।

विद्युत् आपूर्तिमा आइरहने समस्याका कारण उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुँदै गएको उद्योग संगठनले जनाएको छ।

उद्योग निर्बाध सञ्चालनका लागि अत्यन्त महत्त्वपूर्ण रहेको विद्युत् आपूर्तिलाई कुनै पनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौती गरिदिँदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा समेत लिई यसतर्फ गम्भीर हुन संगठनले अनुरोध गरेको छ।

संगठनले विद्युत् आपूर्तिको समस्यालाई गम्भीर रुपमा लिई समस्या समाधानमा ध्यान दिन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ।

प्रकाशित: ४ वैशाख २०८० ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App