coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

आइतबार ३० मध्ये १० मात्र उडान हुने

शुक्रबारदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार दिउँसो साढे २ बजे मात्र खुलेको छ। ढिलागरि विमानस्थल खुल्दा आइतबारका धेरै उडान प्रभावित भएका छन्। बाक्लो तुवाँलोका कारणले पोखरामा हवाई उडानमा बाधा पर्दै आएको थियो।

विमानस्थल प्रमुख विक्रम गौतमले आइतबार दिउँसो साढे २ बजेपछि बल्ल विमानस्थल खुलेको जानकारी दिए। उनका अनुसार शुक्रबार र शनिबार पोखराका लागि कुनै पनि उडान हुन सकेका थिएनन्। बिहीबार पनि दुई वटा उडान रद्द भएका थिए। आइतबार भने २० वटा उडान रद्द भएको गौतमले जानकारी दिए।  

‘ढिलागरि विमानस्थल खुल्दा आइतबार सबै उडान सम्भव भएन। दिनमा ३० वटा जति उडान हुँदै आएकोमा आइतबार १० वटा उडान मात्र गर्न भ्याइने अवस्था रह्यो,’ गौतमले भने, ‘बिहानदेखिका उडान प्रभावित भएका थिए। तीन दिनदेखि उडान प्रभावित भएकोले यात्रुले पनि समस्या खेप्दै आएका थिए।’ यो बेला पोखराको हवाई उडानमा यात्रुको अकुपेन्सी राम्रो रहे पनि मौसमी अवरोधले उडान हुन नसक्दा ठुलो मार परेको उनले बताए।  

उनका अनुसार ६० वटा (दुई तर्फी) उडान हुँदा झन्डै ४२ सय यात्रु पोखरा आउजाउ गर्दथे। ‘ठुलो आर्थिक नोक्सानी भएको छ। बेलैमा उडान नहुँदा आर्थिक रुपमा पोखरालाई मार परेको छ। त्यो नोक्सानी हवाई कम्पनिदेखि विमानस्थललाई पनि पर्छ,’ उनले भने, ‘नेपाली नयाँ वर्ष मनाउन पोखरा आउने तयारीमा रहेका धेरै आन्तरिक पर्यटक उडान नहुँदा मारमा परे। कतिपयले यात्रा नै रद्द गर्नुपर्ने अवस्था आयो।’ कनेक्टिङ फ्लाइटका धेरै यात्रुलाई आन्तरिक उडान प्रभावित हुँदा समस्या थपिएको उनले बताए।

बिहान ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म संचालित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा तुवाँलो बाधक बनेको थियो। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तीमा ३८ सय मिटरको भिजिबिलिटी चाहिन्छ। तर विगत तीन दिनदेखि पोखराको भिजिबिलिटी २ हजार मिटर मात्र थियो,’ गौतमले भने, ‘उडान गर्नका लागि भिजिबिलिटी पर्याप्त भएन। त्यसले गर्दा उडान प्रभावित भएको हो।’ 

हावा चलेको खण्डमा राती अबेरसम्म पनि उडान संचालन गर्न सकिने प्रयास भएपनि त्यो पनि नसकिएको उनले बताए। आइतबार दिउँसो हावा चलेपछि बल्ल विमानस्थलका लागि चाहिने भिजिबिलिटी पुगेको उनले बताए।

पोखरामा बिहीबार बेलुकी रात्रि विसान गरेका बुद्ध एयरका दुई वटा जहाजले शुक्रबार बिहान काठमाडौंका लागि उडान भरे पनि काठमाडौँ सहित अन्य सहरबाट त्यसपछि पोखरामा जहाज आउन सकेका थिएनन्। शुक्रबार र शनिबार सबै उडान रोकिएका थिए। बाक्लो तुवाँलोले गर्दा विमानस्थल नै खुल्न सकेको थिएन। गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि ३८ सय मिटर भिजिबिलिटी चाहिन्छ। यसअघि पोखराको पुरानो विमानस्थलबाट भिएफआर (आँखाले हेरेको भरमा गरिने उडान) मा आधारित रहेर उडान गर्दा पाँच हजार मिटर भिजिबिलिटी चाहिन्थ्यो।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले काठमाडौं सहित भरतपुर, भैरहवा र नेपालगञ्जसम्म नियमित उडान भइरहेको छ। पोखरा–काठमाडौं रुटमा सबैभन्दा बढी उडान हुने गरेका छन्। बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले ठुला सहरसम्म सिधा उडान गरिरहेका छन्। पोखराको पुरानो विमानस्थलबाट भने जोमसोमका उडान सहित हेलिकप्टर र अल्ट्रालाइट जहाजको उडान हुने गरेको छ।

प्रकाशित: ३ वैशाख २०८० १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App