२८ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

अबको पर्यटकीय गन्तव्य महावु

कर्णाली विशेष

वीरेन्द्रनगर-चारैतिर अग्लाअग्ला लेक। बीचमा आँखाभरि नअटाउने महावु पाटन। पाटननजिकैको धुम्कोमाथि भगवान् शिवको पूजाआराधनाका लागि विशाल ढुंगामाथि रहेको थान। सुन्दर पाटन हेर्न चाहने र धार्मिक आस्थावान् दुवै पर्यटकको आकर्षणको केन्द्र रहेको महावु एकपटक पुग्नैपर्ने ठाउँ हो। उकालो चढ्दाको थकान महावु पाटन पुगेपछि देखिने सुन्दरताले सबै मेटाइदिन्छ। ‘पुग्ने जोकोहीले पनि आहा क्या राम्रो महावु !’, सबैका मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ।

महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने बूढापाका बताउँछन्। महावु सदरमुकामबाट हिँडेर डेढ दिनको पैदल यात्रापछि पुगिन्छ। तर अहिले नजिकैसम्म गाडी पनि पुग्छ।

यो पाटन साविकको कर्णाली अञ्चल छिर्ने प्रवेश द्वार पनि हो। भैसीखोर, भवानी हुँदै दैलेखको अन्तिम मानव बस्ती रहेको उनपाटामा बास बसेर भोलिपल्ट बिहान २ देखि ३ घन्टाको पैदल यात्रापछि पाटन पुगिन्छ। गाडीमा बिहानै हिँडेर साँझ दैलेख बजार फर्कन सकिन्छ। मनोरम दृश्य, लेकाली परिवेश, विभिन्न प्रजाति, भेषभूषा आदि अवलोकन गर्दै पैदल यात्रा गर्नेलाई थकानको अनुभूति नै हुँदैन।

पाटन हेर्न र शिवजीको दर्शनका लागि पुग्ने पर्यटक साउन र भदौमा बढी हुन्छन्। दसैंतिहारसम्म यहाँ विभिन्न जातका फूल पाटनभरि देख्न सकिन्छ। कात्तिकपछि यहाँ हिउँ पर्छ। टम्म हिउँ पर्ने बेला भारतको उत्तर प्रदेशसहित नेपालका बाँके, बर्दिया सुर्खेत लगायतका स्थानबाट हिउँ खेल्न आउने पर्यटकको भीड लाग्ने गर्दछ। साउन र भदौमा महावु पुग्नेहरू शिवको दर्शनअघि पाटनमै बगेको खोलामा नुहाउँछन् र ३० मिनेट ठाडो लेकमा पुगेर शिवलिंगको पूजा समेत गर्दछन्।

माथिल्लो पाटनमा पूजाका लागि पुगेका भक्तजन (माथि)। महावु पाटननजिक रहेको पोखरी र फूल।तस्बिर: गोविन्द/ नागरिक

महावु पाटन उक्लिएपछि चारैतिरबाट बहने चिसोचिसो हावाले शरीर थरर्र काम्न थाल्छ। माथि लेकका ठूलाठूला ढुंगाको काखमा रहेको शिवलिंगको दर्शन गर्न पुगेकाहरू पाटनको सुन्दर दृश्य समेत नियाल्छन्। पाटनमा फुलेका रंगीबिरंगी फूलले यात्रा अवधिभरको थकान नै मेटाइदिने गर्दछ। पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अँध्यारो बनाइदिन्छ त कहिले सिमसिमे पानीसँगै चल्ने हावाले फूलहरू हल्लाएर आगन्तुकलाई मख्ख पारिदिन्छ। छिनछिनमा मौसम बदलिरहँदा महावु पुग्ने प्रकृतिप्रेमी मस्त हुने गर्दछन्। लेकमै रहेको पोखरी र पोखरीआसपास ढकमक्क फुलेका फूलले पर्यटकलाई अझ आनन्दित तुल्याउँछ।

हिउँ खेल्न वा गर्मी छल्न आन्तरिक पर्यटन हरेक मौसममा महावु पुग्ने गर्दछन्। तर रक्षाबन्धनको दिन भने महावुमा विशेष रूपमा पूजा गरिन्छ। सात महिना बढी हिउँ पर्ने महावु जिल्लाकै प्राकृतिक सौन्दर्यको धनी मानिन्छ। महावुबाट दैलेखका सम्पूर्ण भूभाग एकएक गरी छुट्याएर देख्न सकिने भएर पनि महत्वपूर्ण रूपमा हेरिने गरिएको छ। दशौं हजार भक्तजन साउनको जनैपूर्णिमामा घुइँचो लाग्ने गर्दछ। सवारी साधनको प्रयोग गरे दैलेख सदरमुकामबाट ६ घन्टामा महावु लेक पुग्न सकिन्छ।

महावु अर्को विशेषता साविकको कर्णाली अञ्चल प्रवेश गर्ने सबैभन्दा छोटो मार्गसमेत हो। महावु भएर कर्णाली प्रवेश गर्दा ४८ किलोमिटर छोटो पर्ने इन्जिनियरहरूको भनाइ छ। तर सरकारले यो नाका खोल्नका लागि बजेट व्यवस्थापन गरेको छैन। भविष्य हेर्दा कर्णाली प्रवेश गर्ने पर्यटकहरूलाई यहाँ रोक्न विशेष योजना ल्याउनुपर्ने दैलेखका पर्यटन व्यवसायी रूपक थापाको भनाइ छ। ‘कर्णाली जान निकै छोटो र सजिलो मार्ग भएकाले पर्यटक बढ्नेछन्’, पर्यटककर्मी थापाले भने, प्रचारप्रसार अभावमा मनोरमस्थल पाटन ओझेलमा परेको छ।’

प्रकाशित: ३० चैत्र २०७९ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App