८ वैशाख २०८१ शनिबार
अर्थ

आठ महिनामा ८ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। विदेशमा रहेका नेपालीले पछिल्लो समय मासिक एक खर्बको हाराहारीमा रेमिट्यान्स पठाएसँगै मुलुकको शोधनान्तर स्थितिमा पनि सुधार आएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै फागुन महिनामा मात्रै एक खर्ब ४ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ।

पछिल्ला चार महिनामा मासिक एक खर्ब रूपैयाँको रेसियोमा रेमिट्यान्स मुलुकमा आएको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड डलर पुगेको छ।

अघिल्लो वर्षको आठ महिनाको अवधिमा भने रेमिट्यान्स २.६ प्रतिशतले घटेको थियो। चालु आवको ८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५१ हजार ७ सय ६१ पुगेको छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५ सय ५९ पुगेको छ।

विदेशी विनियम सञ्चिति पनि बढ्यो

चालु आवको ८ महिनाको अवधिमा मुलुकमा सञ्चिति पनि उल्लेखनीय वृद्धि भएको छ। २०७९ को असार मसान्तसम्मको अवधिमा १२ खर्ब १५ अर्ब रूपैयाँ सञ्चिति रहेको थियो। चालु आवको ८ महिना भने १४ खर्ब १ अर्ब रूपैयाँ विदेशी सञ्चिति पुगेको छ। अहिले कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा पनि विनियम सञ्चितिमा वृद्धि भएको छ। २०७९ को असार मसान्तसम्मको अवधिमा ९ अर्ब ५४ करोड डलर रहेकोमा २०७९ फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड डलर पुगेको छ। आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखाएको छ।

२०७९ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २८.९ प्रतिशत, ७८.५ प्रतिशत र २४.२ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

प्रकाशित: २९ चैत्र २०७९ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App