२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

महासंघमा ढकालद्वारा सर्वसम्मत नेतृत्व चयनका लागि पहल

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आसन्न महासंघको निर्वाचनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न पहल थालेका छन्। महासंघको विधान अनुसार आगामि २९ गतेबाट स्वत अध्यक्ष हुन लागेका ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसम्मतका लागि पहल स्वरुप आंकाक्षीसँग छलफल गरेका छन्।

ढकालले बुधबार वरिष्ठ उपाध्यक्षका तीन आकांक्षी अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठलाई एकै ठाउँमा राखेर एकआपसमा मिलेर सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरे। ‘अर्थतन्त्र समस्यामा रहेकाले सबैबीच एकता हुन आवश्यक छ,’ ढकालले भने, ‘निजी क्षेत्रको एकताका लागि महासंघको नेतृत्व चयनमा सर्वसम्मतका लागि तीन आकांक्षीलाई राखेर छलफल थालेको छु।’

महासंघको साधारण सभा आगामि चैत्र २८ र २९ गते हुँदैछ। महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने धारणा रहेको उनले बताए। ‘सकेसम्म महासंघमा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालाँै भनेर लागेको छु,’ ढकालले भने, ‘अहिलेको अवस्थामा निजी क्षेत्रबीच सहमति र एकता आवश्यक छ।’

अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता आवश्यक रहेको उनले बताए। ‘हामी एक भयौँ भने मात्र निजी क्षेत्र बलियो हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा एक हुनुको विकल्प छैन।’

ढकालले महासंघको विधानमा भएको तीन वर्षे कार्यकाल घटाएर दुई वर्षमा झार्ने प्रस्ताव गरेका छन्। तीन वर्षे कार्यकालको व्यवस्थालाई दुई वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीहरुलाई मिलाउन सकिन्छ भनेर गृहकार्य गरेको उनले बताए।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले महत्वका साथ हेरिएको छ। तीन जना वरिष्ठ उपाध्यक्षका उम्मेदवारले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।  

महासंघको निर्वाचनमा करिव एक सय भन्दा बढी उम्मेदवार बनेका छन्। जिल्लानगर उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, अरूणराज सुमार्गी र दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। त्यसैगरी वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन, मनीषलाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दर्ता गरेका छन्। एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य उम्मेदवार छन्।

वस्तुगत संघतर्फबाट १४ केन्द्रीय सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन्। उद्योग वाणिज्य संघतर्फ १८ पदमा ३२ जना र एसोसिएटतर्फ १९ पदमा ३० जनाले उम्मेदवारी दिएका छन्। द्वि–राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट भने नेपाल–भारत उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी निर्विरोध निर्वाचित भएका छन्। जिल्लानगर सदस्यतर्फ लुम्बिनी प्रदेशमा जम्शेर मिया निर्विरोध निर्वाचित भएका छन्। महासंघको विधानअनुसार हरेक प्रदेशबाट एक÷एक केन्द्रीय सदस्य रहने व्यवस्था छ। कोसी र कर्णाली प्रदेशमा तीन÷तीन उम्मेदवार छन् भने मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिममा प्रदेशबाट दुई/दुई जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २२ चैत्र २०७९ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App