२१ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

लघुवित्तको ज्यादतीः २७ वर्षको बचत ५४ हजार मात्र

स्वाबलम्बन लघु वित्त बित्तीय संस्था। तस्विरः महेश्वर

लघु वित्तहरुले सर्वसाधारणको बचत रकम थाहै नपाई खाईदिने गरेको रहस्य भर्खरै उदयपुरमा भएको एक घट्नाबाट पुष्टि भएको छ। सदरमुकाममा ३ दशकदेखि सञ्चालन हुँदै आएको स्वावलम्वन लघु वित्त बित्तीय संस्था गाईघाट शाखाले एक सदस्यको २७ वर्षदेखिको बचत रकम हिनामिना गरेको पाइनुले ठगीको रहस्य खुलेको हो। लघु वित्तको ठगीको रहस्य बिगत २७ वर्षदेखि सो संस्थामा बचत गर्दै आएकी त्रियुगा नगरपालिका ५ देउरीकी सुनैनादेवी दासको २७ वर्ष बचत रकम नगन्य पाएपछि खुलेको हो।

दासले २७ वर्षको बचत रकम ५४ हजार मात्रै देखाइएपछि ठगिएको कुरा चाल पाएको बताइन्। वर्षौँदेखि बिभिन्न नाममा बचत राख्दै आएको रकम अहिले झिक्न खोज्दा ५४ हजार मात्रै रहेको संस्थाले बताएपछि छाँगाबाट खसे झैँ भएको दासले बताइन्। उनले ०५३ सालदेखि सो बैंकको समूहमा सदस्य भएर नियमित बचत गर्दै आएको र बेला बेलामा ऋण पनि लिएर नियमित चुक्ता गर्दै आएको बताएकी छिन्। सुरुमा ३ हजार ऋण लिएको बताउने उनले पछिल्लो समय १ पटक ३ लाख र अर्को पटक ७ लाख ऋण लिएको बताइन्।

आफूले लिएको ऋणको साँवाव्याज लकडाउन अवधिमा पनि नियमित बुझाएर सबै चुक्ता गरिसकेपछि समूह छाड्ने पक्षमा थिइन्। तर, उनलाई समूहबाट अलग हुन संस्थाका कर्मचारीले नदिएको बताउँछिन्। लिएको ऋण इमान्दारीका साथ तिरिसकेपछि समूह छाड्न खोज्दा दुईवर्षसम्म झुलाएर राख्दै जत्ति माग्यो उत्ति ऋण दिने प्रलोभन देखाएर निस्कन नदिएको उनको भनाइ छ। तर, पछि अनेक बहाना गरेर ऋण पनि नदिएको र बचत फिर्ता माग्दा ५४ हजार मात्र देखाएपछि आफु मारमा परेको दासको गुनासो छ।

समूह छाड्न खोज्दा नदिएकै बेला समूहका केही सदस्य भागेपछि उनीहरुको नामको ऋण आफ्नो बचतबाट कटाएको जानकारी उनलाई दिइयो। समूहका केही सदस्य भागेपछि उनीहरुको ऋणमा दासको बचतबाट ६ हजार कटाएर भागेको सदस्यसँग लिन भनेका थिए। ऋण तिरिसकेपछि निस्कन खोज्दा नदिने र उल्टै भाग्ने सदस्यको ऋण आफ्नो बचतबाट कटाउने संस्थाले ३ दशक लामो अवधिको बचत कसरी ५४ हजार मात्र भयो भन्ने चित्त बुझ्दो जवाफ भने दिएको छैन। दासका अनुसार बैंकले १ लाख ऋण लिदा १५ हजार बचत खातामा राख्ने भनेको पनि बताइन्।  

समूहले ऋण लिदा सेवा शूल्कवापत १.५ प्रतिशतले हुन आउने १ हजार ५ सय राख्नु पर्नेमा बिभिन्न बचतमा जम्मा गर्ने प्रलोभन दिदै १५ हजार काट्ने गरेकाले आफ्नो बचत देखाए भन्दा १० गुना बढी हुनुपर्ने अनुमान उनको छ। संस्थाकै भनाई अनुसार २ पटक १–१ लाख ऋण लिँदा ३० हजार र ७ लाख लिँदा १ लाख ५ हजार हुनुपर्ने उनको सोझो हिसाव छ।

त्यसमाथि हरेक किस्ता बुझाउँदा विभिन्न नाममा गरेको बचत जोड्ने हो भने कम्तीमा ४–५ लाख हुनुपर्ने उनको अनुमान छ। तर, ५४ हजार मात्र देखाउनुको कारण संस्थाले नराम्ररी ठगेको उनको बुझाई छ। विभिन्न बचतसँगै दोब्बर पेन्सन नामको अर्को बचत रकम पनि नपाएको गुनासो उनले गरेकी छिन्।

पीडितले आफ्नो बचतको हिसाव हेर्न सुरुदेखिको अभिलेख (स्टेटमेन्ट) माग्दा बैंकले देखाउन नमानेको गुनासो पनि गरेकी छिन्। आफू सदस्य भएर समूहमा बसेदेखिको बचत, ऋणलगायत के के शीर्षकमा के कति रकम लिए, बुझाएको विवरण हेर्न माग्दा ०७० साल उताको पाउन नसकेको बताइन्। सुरुदेखिको अभिलेख माग्दा पुरानो ढड्डा जलाईसकेको भन्दै कर्मचारीहरुले देखाउन नसक्ने बताएका सुनाइन्। त्यसबेलाको कागजात अहिले कार्यालयमा नरहेको जवाफ पाए पनि उनले सबै हेर्न पाउनुपर्ने जिकिर गरेकी छिन्। सुरुदेखिको ऋण र बचतको अभिलेख माग्दा नदिएको भन्दै उनले आफूजस्ता थुप्रै पीडितहरु रहेकाले संयुक्त रुपमा आवाज उठाउने बताएकी छिन्।

‘२७ वर्षदेखिको बचत यत्ति मात्र हुन्छ भनेर कसरी विश्वास गरौँ, स्टेटमेन्ट हेर्न माग्दा पनि दिदैनन्’ उनले भनिन् ‘म जस्ता थुप्रै पीडित महिलाहरु छन्, हामी सबै मिलेर आप्नो हिसाव खोज्छौँ, यसरी ठग्न पाइन्छ?’ भनेको बेला समूह छाड्न खोज्दा २ वर्षदेखि झुलाएर राखेकोमा पनि दुःखी देखिएकी दासले न्याय पाउन सम्बन्धित निकायसम्म पुग्ने अडान लिएकी छिन्।

उनले डबल दिने प्रलोभन दिएर पेन्सन बचत गरेकोमा अझै डबल नभएको जवाफ पाएकी छिन्। उनले पेन्सन वचतवापत ७८ हजार बुझेको हस्ताक्षर रहेको तमसुक देखिएको तर, त्यो रकम आफुले नगद नलगेको दावी गरिन्।  

दासको विषयमा शाखा प्रबन्धक राजु बस्नेतसँग सम्पर्क गर्दा दासको नाममा ५४ हजार मात्र बचत देखिएको बाँकी सबै फिर्ता लगिसकेको बताए। कार्यालयको अभिलेखमा दासको बचत ५४ हजार देखिएको भन्दै उनले अरु हिसाव कितावको जिम्मेबार आफू हुन नसक्ने बताए।  

प्रकाशित: २१ चैत्र २०७९ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App