१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा दोस्रो औद्योगिक मेला सुरु

ताप्लेजुङमा मंगलबारबाट दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सव सुरु भएको छ।

स्थानीय कोदो र फापरको पिठोको प्रयोगबाट बनाईएको केक काटेर प्रदेश सरकारका पूर्व उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले महोत्सवको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रदेश मन्त्री हाङ्गामले स्थानीय उत्पादनलाई घरेलु उद्यमको रुपमा विकास गर्ने हो भने आत्मनिर्भरताका लागि नयाँ आयाम सृजना हुने बताए।

उनले स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरेलु उद्यमको अभिवृद्धि र उत्पादनको प्रवद्र्धन गर्न तीनै तहका सरकारको योजना प्राथमिकतामा पर्नुपर्ने बताए। उनी मन्त्री भएका बेला तत्कालिन १ नं प्रदेश सरकारले लोकल रक्सीको ब्राण्डिङ अभियान सुरु गरेका थिए। कोशी प्रदेशमा सो अभियान अहिले पनि जारी छ। प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले स्थानीय उत्पादनको प्रवद्र्धन,बजारीकरण र लघु उद्यम सृजनामा लगानीका क्षेत्र पहिचान गर्न महोत्सव फलदायी हुने विश्वास लिए।

घरेलु उत्पादनको प्रयोग गरेर लघु उद्यम सृजनामार्फत परनिर्भरता हटाउन बिशेष योजना र कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए। जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले कच्चा पदार्थको प्रचुर सम्भावना भएको क्षेत्रमा ति कच्चा पदार्थको प्रयोग गरेर उत्पादन र बजारीकरण गर्ने हो भने उद्यम विकासका लागि त्यो भन्दा रचनात्मक कार्य अरु केहि नहुने बताए।

पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले सीप,श्रम र रोजगारीलाई केन्द्रमा राखेर उद्यम सृजनामा केन्द्रित हुन लाग्नेहरुलाई स्थानीय सरकारले प्रोत्साहित गर्ने विश्वास दिलाए। उनले उत्पादन,भण्डारण,प्याकेजिङ र बजारीकरणको यात्रामा स्थानीय सरकार सम्वन्धित उद्यमीहरुसंग संगै जान सक्ने विश्वास दिलाए। प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले लघु उद्यम प्रवद्र्धनका लागि टेवा पुगोस् भन्ने मनशायले सुरु भएका यस्ता उत्सवहरुको प्रवद्र्धनमा आफुहरुले सधैं साथ र सहयोग दिने बताइन्।

कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पा,पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्य,नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य मातृकादेवी प्रसाँई सहितले घरेलु उद्यमको विकास र प्रवद्र्धनका आयहरुबारे बताएका थिए।

नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीका अनुसार मंगलबारबाट सुरु भएको महोत्सवमा ५० वटा स्टल रहेका छन्।

महोत्सवको सहआयोजक घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले महोत्सवमा ढाका उद्योगका उत्पादन,बाँसजन्य प्रकृतिका सामाग्री,किवी सहितका फलफुलको प्रयोगबाट बनाइएको जुस र वाइन,अलैंचीको दानबाट बनाइएको मसला र अलैंचीको रेसाबाट बनाइएको झोला सहितका घरायसी सामाग्री,दुग्धजन्य परिकार,गलैंचा,छुर्पी देखि गुन्द्रुक र सिन्की प्रजातिका खाद्य परिकार समेत रहेको बताए।

यस्तै ताप्लेजुङ जिल्लामा रहेका विभिन्न जातिय समुदायको महत्व झल्काउने खाद्य परिकारका स्टल समेत रहने छन् भने प्रदेशभरीका बिभिन्न जिल्लाका मुख्य उत्पादनहरुको बेग्लाबेग्लै स्टल रहेका छन्। घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले ‘पृथ्वीको उपहार’को रुपमा रहेको कञ्चनजंघा सहित ताप्लेजुङ र पूर्वी नेपाल झल्कने फोटो प्रदर्शनी औद्योगिक,कृषि,पुस्तक तथा खाद्य परिकार महोत्सव समेत यो बेला सञ्चालन गरिने बताए। दैनिक रुपमा साँझ साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

डोको र टपरी बुन्ने प्रतियोगिता,डोको क्यारी रन,साहित्यिक उत्सव सहितका कार्यक्रम हुनेछन् भने प्रदेश स्तरीय औद्योगिक बिषयमा छलफल कार्यक्रम समेत तय गरिएको छ। नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति समेत रहेका गायक तथा संगितकार शम्भु राई,लोक दोहोरी गायिका प्रिति आले,कुशल कार्यक्रम प्रस्तोता तथा गायक रमेश प्रसाँई,चर्चित गलजकार सुमन स्मारिका,महेश ईशारा,गणेश मुखिया सहितका साँस्कृतिकर्मीहरुको सहभागितामा हरेक दिन साहित्य तथा संगितका कार्यक्रम तय गरिएको समेत आयोजक संस्थाले जानकारी दिएको छ।  

प्रकाशित: २१ चैत्र २०७९ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App