८ वैशाख २०८१ शनिबार
अर्थ

ब्याजदरको समस्या सम्बोधन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीयसंस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई जोखिममा पारेको बताए।

अध्यक्ष मल्लले भने, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरू निकै मर्कामा परेका छन्। ऋण लिएर व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन। यसअघि ऋण लिएकाहरूले समेत साँवा ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन। यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ।’

उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरूको ध्यानकर्षण गराए।

ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरूलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए। उनले भने, ‘पुँजीगत खर्च हुन सकेको छैन। सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ। आन्तरिक उत्पादन ठप्प हुँदा ब्यापार घाटा आकासिएको छ। रोजगारी सिर्जना हुन सकेको छैन। आम सर्वसाधारण नागरिकसँग जोडिएका विषयलाई संसद्बाट प्रभावकारी रूपमा आवाज उठ्न जरुरी भइसक्यो।’

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजस्व जस्ता क्षेत्रमा निश्चित समय तोकेरै परिणाम दिनेगरी काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए। नागरिकको सेवा प्रवाहसँग जोडिएका क्षेत्रमा टाईम कार्ड लागु गर्नुपर्ने मल्लको भनाइ छ।

मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजान ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने अध्यक्ष मल्लले बताए। डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि निस्तेज गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ। चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्ने बताइन्। संसद्मा आफूहरूले यो विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराएकोे उनको भनाइ छ। अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरू पुरानो भएकाले पनि परिणाम मुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ। 

प्रकाशित: १५ चैत्र २०७९ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App