१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन महिनामा ६८ ठेक्का तोडियो

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन महिनाको अवधिमा ६८ वटा रुग्ण ठेक्का तोडेको छ। मन्त्रालयले तीन महिनामा काठमाडौं उपत्यका भित्र र बाहिरका ६८ वटा रुग्ण ठेक्का तोडेको जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफूले जिम्मेवारी सम्हालेपछिको तीन महिनामा ६८ वटा रुग्ण ठेक्का तोडेको बताएका छन्।

‘मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न सरोकारवाला निकायसँगको बैैठकपछि २ सय ६४ वटा रुग्ण ठेक्काको पहिचान भएको थियो,’ उनले भने ‘मन्त्रालयले सो अवधिमा २४ वटा ठेक्काहरूमा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गरेर ठेक्का तोडिएको छ। अन्य ४४ वटा ठेक्काहरू प्रचलित कानुनबमोजिम सुविस्ताको आधारमा तोडिएको छ।’

मन्त्रालयले बाँकी रहेका १ सय ९६ वटा ठेक्काको हकमा निर्माण व्यवसायीले काम गर्ने प्रतिवद्धता जनाएकाले आवधिक लक्ष्य निर्माण गरेर काम सुरु गरेका छन्।

मन्त्रालयले विगत लामो समयदेखि सुस्त गतिमा निर्माण सञ्चालन भएको नारायणघाट–बुटवल खण्डको स्थलगत अनुगमनपछि निर्माण कार्यले गति लिएको दाबी गरेको छ। पछिल्लो समय यो सडक खण्डको चार किलोमिटर सडक दुई लेनमा कालोपत्रे भएको छ। नारायणगढ बुटबल सडक खण्डले तीन महिनामा समष्टिगत ५.५ प्रतिशत सडकको भौतिक प्रगति गरेको छ। बुटबल नारायणगढ सडक खण्डको हालसम्मको समष्टिगत भौतिक प्रगति २८ प्रतिशत पुगेको छ।

मन्त्रालयले पछिल्लो समय पूर्व पश्चिम राजमार्गअन्तर्गत कन्चनपुर–कमला खण्डको भौतिक प्रगतिमा उल्लेखनीय सुधार भएको जनाएको छ। तीन महिनाअघि सो सडक खण्डको भौतिक प्रगति १६ प्रतिशत रहेको थियो। तीन महिनापछि यो सडक खण्डको भौतिक प्रगति ११.३ प्रतिशत थप भएर हाल समष्टिगत भौतिक प्रगति २७.३ प्रतिशत पुगेको छ। भौतिक पूर्वाधार मन्त्रालयले मुग्लिङ पोखरा सडक अन्तर्गत पूर्वी खण्ड (आँबुखैरेनी (जामुने) को ७ कि.मि.मा विद्युत् पोल स्थानान्तरणको काम भइरहेको जनाएको छ।

तीन महिनाअघि सो सडक खण्डको समस्टिगत भौतिक प्रगति १० प्रतिशत रहेको थियो तर अहिले सुधार भएर समष्टिगत भौतिक प्रगति २१ प्रतिशत पुगेको छ। मन्त्रालयले काठमाडौं उपत्यका चक्रपथ दोश्रो खण्ड कलंकी–महाराजगञ्जको बिस्तार कार्य अन्तर्गत साईट क्लियरेन्स लगायतका पूर्व तयारीका केही कार्यहरू बाँकी रहेका काम अघि बढ्ने वातावरण तय भएको छ।

पूर्वाधार मन्त्री, चिनियाँ राजदूत, काठमाडौं महानगरपालिकाका प्रमुख र नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीहरू सहितको संयुक्त स्थलगत अनुगमन पश्चात् सो कार्यको समाधान गरी चक्रपथ बिस्तार कार्यले गति लिएको जनाएको छ।

मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनातर्फ मध्यपहाडी राजमार्ग अन्तर्गत यस अवधिभित्र १८ किमिसहित यस आवमा जम्मा ४२ किमि सडक कालोपत्रे भएको छ। यो खण्डमा तीन वटा पुल निर्माण सकिएका छन्। हुलाकी राजमार्गअन्तर्गत यस अवधिमा थप १५ कि.मि. सडकसहित यस आ. व. मा जम्मा ३६.५ कि मि सडक कालोपत्रे भएको छ भने ८ वटा पुल निर्माण सम्पन्न भएका छन्। उत्तर–दक्षिण राजमार्गहरू अन्तर्गत रहेको कालिगण्डकी कोरिडोरमा थप ९ किमि कालोपत्रे सम्पन्न भएको र थप ३ वटा पुलहरूको निर्माण कार्य सम्पन्न भएको छ।

त्यसैगरी, कर्णाली कोरिडोरमा यसअवधिमा थप २८ किमि ट्रयाक चौडा गर्ने कार्य भई यस आवमा जम्मा ३८ किमि सडक चौडा गर्ने कार्य सम्पन्न भएको छ भने कोसी कोरिडोरमा थप १३ किलोमिटर गरी जम्मा १५ किलोमिटर सडक ग्राभेल स्तरमा स्तरोन्नति कार्य सम्पन्न भएको छ।

पूर्व झापाको बाहुनडाँगीदेखि पश्चिमको डडेल्धुराको रूपालसम्म जोड्ने मदन भण्डारी राजमार्गको गुल्मी र सुर्खेत खण्डमा गरी ४८ किमि ठेक्का आह्वान भई सम्झौता भएको र निर्माण कार्य प्रारम्भ हुने चरणमा रहेको छ। अन्य खण्डमा कालोपत्रे स्तरमा स्तरोन्नति कार्य चालु रहेको छ।

यस अवधिमा सडक विभाग अन्तर्गत योजना/डिभिजनहरूबाट भएको निर्माण कार्यको प्रगतिको समीक्षा गर्दा चालु आवमा भएको कुल २४८ किलोमिटर मध्ये तीन महिनाको अवधिमा भने १६७ किलोमिटर सडक कालोपत्रे भएको छ। चालु आवको हालसम्मको अवधिमा ३१६ किलोमिटर ग्राभेल सडक तयार भएका छन्। 

प्रकाशित: १५ चैत्र २०७९ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App