१५ चैत्र २०८० बिहीबार
अर्थ

कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम

स्याङजाको वालिङस्थित दौवाफाँटामा अवतरण गरेकी कतारकी राजकुमारी अल्थानी। तस्बिर सौजन्यः सानोबाबु सुनुवार

पोखरा आएका धेरै पर्यटक प्याराग्लाइडिङ गर्न रुचाउँछन्। त्यत्ति मात्र नभई प्याराग्लाइडिङ उडान सिक्नकै लागि पनि पर्याप्त विदेशी पाहुना पोखरा आउने गर्दछन। तिनै मध्येकी हाईप्रोफाइल पाहुना कतारकी राजकुमारी आश्मा अल्थानीले पनि केहीदिन अघि स्याङजाको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षण लिएकी छिन्।  

तालिम लिएर एक्लै उड्न र सुरक्षित रुपमा अवतरण गर्न सक्ने गरि सक्षम बनेर राजकुमारी अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणमा निस्केकी छिन्। अन्नपूर्ण प्रथम आरोहणका लागि नेपाल आएकी अल्थानीले केहीदिन अघि स्याङजामा प्याराग्लाइडिङ उडानको प्रशिक्षण लिएकी हुन्। स्याङजाको भीरकोटस्थित द बाबु एडभेन्चर इन्टरनेशनल स्कुलमा उनले प्रशिक्षण लिएकी हुन्।

भीरकोट नगरपालिका–५ महापुर मैदानको शीरकोटबाट उडेर उनले वालिङ नगरपालिका–१ दौवाफाँटमा अवतरण गर्दै अल्थानीले प्याराग्लाइडिङ उडानको एकसाता अवधिको आधारभूत पाइलट प्रशिक्षण पुरा गरेको स्कुलका संचालक सानोबाबु सुनुवारले बताए। सुनुवारका अनुसार एकसाता अवधिको कोर्ष सिक्ने क्रममा ‘ग्राउण्ड र हिलफ्लाई’ उडान सिकाइन्छ। त्यसको अर्थ डाँडाबाट टेकअफ र मैदानमा सुरक्षित तवरले अवतरण गर्न सक्षम बनाइने सुनुवारले बताए।  

‘सोलो उडानको प्रशिक्षण हो। एकसाता अवधिमा डाँडाबाट उड्ने र मैदानमा सुरक्षित रुपमा अवतरण गर्न सक्ने गरि सक्षम बनाइन्छ,’ उनले भने, ‘विशेष कोर्षको रुपमा उनले कक्षा लिएकी हुन। सुरक्षित रुपमा उड्ने र अवतरण गर्न सक्ने सक्षम बनाउन एकसाता लाग्छ।’ आठहजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स)ले राजकुमारी अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्। त्यही क्रममा अल्थानीले प्याराग्लाइडिङ प्रशिक्षण लिएको उनले बताए।

‘एकवर्ष अघिदेखि नै प्याराग्लाइडिङ उडान सिक्न आउने अल्थानीको तयारी हो। तर, विविध कारणले रोकिएको थियो, उडान सिकाई सपना पुरा भएको छ,’ सुनुवारले भने, ‘आरोहण र उडान प्रशिक्षण एकैसाथ गर्नेगरि नेपाल आएको मौका पारेर अल्थानीले उडान सिकेकी हुन्।’ प्याराग्लाइडिङ पाइलटको आधारभूत उडान प्रशिक्षण खासमा १५ दिनमा पुरा हुन्छ, तर, मौसमले साथ दिने र सानो समुहमा सिकाउन पाउने हो भने एकसातामा पनि पुरा हुने सुनुवारले बताए। त्यही क्रममा एकसाता अवधिमा अल्थानीले प्रशिक्षण पुरा गरेको सुनुवारले बताए। उडान प्रशिक्षण पुरा गरेर राजकुमारी अल्थानी आरोहणका लागि म्याग्दीतिर गएको उनले जानकारी दिए।

‘एक्लै उड्न र अवरण गर्न सक्ने गरि सक्षम हुनु नै ठुलो कुरा हो। पर्याप्त समय पाउने हो भने एकसाता अवधिमा पनि आधारभूत उडानको सिकाई पुरा हुन्छ,’ उनले भने। उनका अनुसार राजकुमारी अल्थानीले बाँकी रहेको प्रशिक्षणका लागि पनि स्याङजा आउने वचन दिएकी छिन्। ‘राजकुमारीको त्यो वचनले हामीलाई पनि उत्साही बनाएको छ। हाई प्रोफाइल पाहुना प्याराग्लाइडिङ सिक्नकै लागि यहाँ (स्याङजा) सम्म आउनु नै ठुलो कुरा हो,’ उनले भने। राजकुमारीका लागि आवश्यक उडान उपकरण पनि स्कुलले उपलब्ध गराएको थियो।’

प्रशिक्षणको क्रममा आठकिलोमिटर स्थलगत दुरीलाई राजकुमारी अल्थानीले दिनमा दुईपटकसम्म उडेर पुरा गरेकी थिइन किनकी कच्ची सडक भएकोले फाँटमा ओर्लेर डाँडामा फर्किन समय लागेको सुनुवारले बताए। ‘दिनमै दुइपटकसम्म उडान गरेकी थिइन। टेकअफ गरेर ल्याण्डिङ गर्ने आकाशको दूरी १५ मिनेटको हो। तर, अल्थानीले २५ मिनेटसम्म उडान भरेकि थिईन,’ उनले भने, ‘टेकअफ र ल्याण्डिङको स्थलगत दूरी भने आठकिलोमिटर छ।’

स्कुलमा प्याराग्लाइडिङ उडान सिक्नका लागि विभिन्न मुलुकका पाहुना आउने गरेका छन्। स्कुलका संचालक सुनुवारका अनुसार हेलिकप्टरका पाइलट, हिमाल आरोहीहरु लगायतका व्यक्ति प्याराग्लाइडिङ सिक्नका लागि स्याङजा आउने गरेका छन। ‘हामीले धेरैजनालाई प्याराग्लाइडिङ पाइलट बनाउन सक्यौ। हेलिकप्टर पाइलटदेखि हिमाल आरोही देखि हाईप्रोफाइल पाहुनासम्मले स्याङजामा आएर प्याराग्लाइडिङ पाइलटको प्रशिक्षण लिएका छन,’ उनले भने, ‘नेपालको साहसिक पर्यटनमा यो सुखद् सन्देश हो। उड्ने मात्र नभई सिक्ने थलोको रुपमा पनि नेपालको प्याराग्लाइडिङले अन्तर्राष्ट्रिय बजारमा चर्चा पाउन सकेको छ।’

नेपालको प्याराग्लाइडिङ क्षेत्र विश्वमै परिचित हुनुले पनि उच्च ओहदाका प्रशिक्षार्थी भिœयाउन सकिएको सुनुवारले बताए। ‘प्याराग्लाइडिङको सिकाई अन्यत्र पनि हुन्छ। तर, पोखरा क्षेत्रको मौसम र यहाँको दृष्यले धेरैलाई तान्न सकेको हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा नेपालको प्याराग्लाइडिङ मात्र नभई प्याराग्लाडिङको सिकाई पनि आकर्षक बनेको छ।’

प्रकाशित: १४ चैत्र २०७९ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App