५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छः पूर्वमुख्यसचिव पौडेल

पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन।शुक्रवार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो कुरा बताएका हुन।  

उनले निक्षेपको मूल्य वृद्धि ८ प्रतिशत रहेको भन्दै बैंकको ब्याजदर ८ प्रतिशत भन्दा माथि नभएर निक्षेपकर्ताको पैसाको भ्यालु कम हुने बताए।उनले बैंक खाता खोल्ने २ करोड बढी भएपनि कर्जा लिने १८ लाख मात्रै भएको भन्दै २ करोडलाई दोहन गरेर सिमित मानिसहरुलाई पोस्ने हो भने मुलुकको अर्थतन्त्र नचल्ने बताए।  

पूर्वमुख्यसचिव पौडेलले बैंकहरुको खर्च धेरै भएको भन्दै भड्किलो खर्च कर्जाको ब्याजबाट उठाउने उल्लेख गरे।पौडेलले बैंकहरु मिलेर कर्जाको ब्याजदर फिक्स गर्नु कानूनी रुपमा अवैधानिक रहेको बताए।उनले बैंकहरुको ब्याजदरमा गरिने प्रतिष्पर्धा ऐनले निषेध गरेको बताए।उनले अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढेकाले र मुद्रास्फिती बढेका कारण ब्याजदर ८ वा ९ प्रतिशतभन्दा तल हुन नहुने उल्लेख गरे।पौडेलले कोरोना महामारीको समयमा बैंकहरुले सस्तो ब्याजदरमा लिएको कर्जा घरजग्गामा लगानी गरेकाले सहुलियतका प्याकेजहरु ल्याएपनि काम नगर्ने बताए।

उनले मुलुकको अर्थतन्त्र संकटमा नभएर संकटको डिलमा रहेको जानकारी दिए । उनले राष्ट्र बैंक र अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा मात्रै भर पर्न नहुने उल्लेख गरे । पौडेलले धेरै मानिसहरुमा अर्थतन्त्रको कारण निराशा छाएकाले निराशा कम गर्नेगरी सरकारले नीति नियम बनाउन आवश्यक रहेको धारणा राखे । उनले नेपालका सार्वभौम अधिकारहरु भारतसँग समर्पण गरिसकेको बताए।उनले साफ्टाअन्तर्गत भारतसँग गरेको सम्झौतामा सामान नेपाल आउँदा भन्सार लगाउन नपाउने व्यवस्था रहेको बताए।  

त्यस्तै,अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र समस्या र चुनौतिको चाङमा रहेको बताए । उनले पछिल्लो समय बाह्य क्षेत्रमा सुधार भएपनि लगानी,उत्पादन,आय र वृद्धिमा संकुचन आएको जानकारी दिए । उनले नेपालको एतिहासमा पहिलो पटक राजश्व घाटाको स्थिति देखिएको बताए।  

अर्थविद् अधिकारीले नेपालका उत्पादनको गति ओरालो लाग्ने,वार्षिक रुपमा बजारमा प्रवेश गर्ने भन्दै धेरै जनशक्ति विदेशीएको बताए।उनले पैसा विधिसंगत तरिकाले सरकारको नियन्त्रणमा रहनुपर्ने भएपनि राज्य र राजनीति पैसाको नियन्त्रणमा पुगेको अनुभुति हुन थालेको धारणा राखे। 

प्रकाशित: १० चैत्र २०७९ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App