१५ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

बारीमा सड्यो तरकारी

बारीमै सड्न थालेको टमाटर। तस्बिर नागरिक

टीकापुर नगरपालिका–८ वनगाउँका श्यामलाल चौधरीको बारीमा बन्दा गोभी सड्न थालेको छ। करिब आठ कठ्ठा जमिनमा लगाएको बन्दा गोभी किनिदिने कोही छैन। 

चौधरीका अनुसार विगत वर्षहरुमा बाहिरबाट व्यापारी तरकारी किन्न बारीमै पुग्थे। यो वर्ष एक जना पनि व्यापारी सम्पर्कमा छैन। उनले मेहनत गरेर उत्पादन गरेको बन्दा गोभी किनिदिने कोही नभएपछि बारीमै सडेको टुलुटुलु हेर्न बाध्य हुनुपरेको दुःखेसो पोखे। ‘पहिले जस्तो तरकारी किन्न कोही आएन’ उनले भने–‘कोही नआए पछि बारीमै सड्न त दिनु पर्‍यो।’ 

उनको काउली समेत बारीमै सड्ने अवस्था आएको थियो। कोही व्यापारी किन्न नआए पछि उनले केही दिन अघि आफै ट्याक्टरमा भरेर टीकापुर नगरपालिका–१ स्थित हाटबजार पुर्‍याएको बताए। उनले हाटबजारमा सस्तोमा काउली बेच्नुपरेको सुनाए। ‘७० रुपैयाँमा ५ केजी बेचे’ उनले भने–‘बारीमा सड्नु भन्दा सस्तोमा बेच्नु उचित लाग्यो।’

सोही ठाउँका अर्का किसान भौना चौधरीको पनि बन्दा गोभी र काउली बारीमै छ। उनले १५ कठ्ठामा तरकारी खेती गरेका छन्। उनको बारीमा बन्दा गोभी र काउली प्रशस्त फलेको छ। उनको समस्या पनि उस्तै छ। मेहनत गरेर उत्पादन गरेको तरकारी किनिदिने कोही छैन। 

‘बाहिरबाट व्यापारी आउँदैन। स्थानीय ठाउँमा बजार छैन’ उनले भने–‘किसानको उत्पादन बारीमै सड्नुको विकल्प छैन।’

उनले सबैतिर तरकारी उत्पादन बढेकोले बाहिरबाट व्यापारी नआएको हुनसक्ने बताए। पहिले सीमित ठाउँमा हुने तरकारी उत्पादन विभिन्न संघसंस्थाको सहयोगमा धेरै ठाउँमा फैलिएको छ। 

थुप्रै संघसंस्थाहरुले किसानलाई तरकारी खेती तर्फ आकर्षित गर्ने गरेका छन्। यसमा गौरवको आयोजना रानी जमरा कुलरीया सिँचाई आयोजनाको समेत महत्त्वपूर्ण भूमिका रहेको छ। आयोजनाको कमाण्ड क्षेत्रका करिब ३०० घरपरिवारले व्यवशायिक तरकारी खेती गर्ने गरेको बताइन्छ। 

किसानले आयोजनाले आफूहरुलाई तरकारी खेती तर्फ आकर्षित गरे पनि उत्पादनको बजारीकरणमा भने ध्यान दिन नसकेको गुनासो गरे। उनीहरु बजार नभएका कारण उत्पादन बारीमै सड्नुपर्ने अवस्था आएको बताउँछन्। 

‘सबैको जोड उत्पादनमा मात्रै छ’ चौधरीले भने–‘बजारको व्यवस्थापन कसैले गरेको पाइँदैन।’

वनगाउँ तरकारी उत्पादनका लागि प्रख्यात छ। यहाँका किसान २०४० सालदेखी तरकारी खेती गर्दै आएका छन्। सुरुमा १÷२ जनाले ४÷५ कठ्ठामा सुरु गरेको तरकारी खेती अहिले गाउँ भरी फैलिएको छ। 

चौधरीका अनुसार ८५ घरधुरी रहेको वनगाउँका ४० परिवारले तरकारी खेती गर्छन्। उनीहरुले करिब ३० विगाह सम्म जमिनमा तरकारी खेती गर्ने गरेको पाइएको छ। सुरु सुरुमा तरकारी खेतीबाट प्रशस्त आम्दानी गरेको वनगाउँबासीको अनुभव छ। 

प्रकाशित: ९ चैत्र २०७९ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App