१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कुखुरापालक किसानले पाउन थाले लागत मूल्य

फाइल तस्वीर

लामो समयदेखि नोक्सान बेहोरिरहेका कुखुरापालक किसानले आफ्नो उत्पादनको लागत मूल्य पाउन थालेका छन्। कोरोना संक्रमणपछि निरन्तर नोक्सान खेपिरहेका किसानले करिब एक महिनादेखि उचित मूल्य पाउन थालेका हुन्।

‘कोरोना महामारीसँगै कुखुरापालक किसानहरू निरन्तर घाटामा थिए,’ नेपाल ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले भने, ‘करिब एक महिना हुन लाग्यो किसानले लागत मूल्य पाउन थालेका छन्।’

उनका अनुसार, एक किलोको ब्रोइलरको कुखुरा उत्पादन गर्न किसानको दुई सय रूपैयाँ लागत लाग्छ। अहिले किसानले प्रतिकिलो दुई सय ६५ रूपैयाँमा बिक्री गर्दै आएका छन्। उपभोक्ताले भने चितवनमा प्रतिकेजी चार सय ३० रूपैयाँमा उपभोग गर्दै आएका छन्। करिब चार वर्ष निरन्तर नोक्सानमा गएका किसानले राहत महसुस गरेको उनले बताए। ‘२०७७ सालको पुस महिनामा किसानले लागत मूल्य पाएका थिए। त्यसबाहेक चार वर्षदेखि लागत मूल्य पाएका थिएनन्,’ उनले भने, ‘यो समयको नोक्सानी उठाउन किसानलाई धेरै समय लाग्छ।’

किसानले चल्लाको लागत मूल्य पनि पाउन थालेका छन्। १५ रूपैयाँसम्ममा चल्ला बेच्दै आएका किसानले ७० रूपैयाँसम्ममा बिक्री गरिरहेको पोखरेलले बताए। ‘चल्ला बिक्री नहुँदा खाल्टोमा पुरेर पनि नष्ट गर्नुपर्‍यो,’ कुनै समय हप्तामा ६० हजार चल्ला समेत उत्पादन गर्दै आएका पोखरेलले भने, ‘आजभोलि खाल्टोमा पुर्ने अवस्था छैन। हाम्रो लागत मूल्य ५५ रूपैयाँ पर्छ। ७० रूपैयाँसम्ममा चल्ला बिक्री भइरहेको छ।’

उत्पादन कम भएका कारण मूल्य बढी हुँदा किसानले मुनाफा बढी लिन नसकेको उनले बताए। ‘कतिपय किसानकोमा तयारी अवस्थामा कुखुरा छैनन्। अहिले निस्किएका कुखुराको मूल्य छ,’ उनले भने, ‘निरन्तर घाटामा गएपछि अधिकांश किसानहरू पलायन भएका छन्।’ किसानहरू बैंकको कर्जा थप गर्दै व्यवसाय धानिरहेको उनले बताए।

पाँच वर्ष अगाडि चितवनका किसानले सबैभन्दा बढी मूल्य पाएका थिए। त्यतिखेर ब्रोइलर कुखुराको मूल्य किसानले दुई सय ८० रूपैयाँसम्म पाएको पोखरेलले बताए। त्यसपछि किसानले अहिले मूल्य पाएका छन्। त्यतिखेरको लागत मूल्य भने निकै कम रहेको उनले बताए।

उनका अनुसार, दानासँगै औषधिको मूल्य अत्यधिक बढ्दा लागत मूल्य बढेको हो। अहिले ब्रोइलर कुखुराको दानालाई प्रतिकेजी ४२ रूपैयाँ पर्छ। दानाको अधिकांश कच्चा पदार्थ भारतलगायत देशबाट आउने गर्दछ। जसका कारण मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ।

मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानले बिक्री गरे पनि अण्डाको मूल्य भने पाउन सकेका छैनन्। अण्डाको मूल्य पनि बढ्दो क्रममा रहेको चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे बताउँछन्। ‘अहिले लेयर्स पाल्ने किसानहरू घाटामा हुनुहुन्छ, अण्डाको लागत मूल्य पाउन सक्नु भएको छैन,’ उनले भने, ‘प्रतिक्रेट एक सय ७० रूपैयाँमा बिक्री गर्दै आएका किसानहरूले आजभोलि दुई सय ७० रूपैयाँमा बिक्री गर्दै आउनु भएको छ। केही दिनमा लागत मूल्य उठ्ने अनुमान गरेका छौं।’

किसानको उत्पादन क्रमशः कम हुँदै घट्दै गएकाले अण्डाको मूल्य पनि बढ्ने अनुमान उनको छ। नेपाल सरकारले अण्डाको मूल्य चार सय रूपैयाँ तोकेको छ। अण्डाको प्रतिगोटा लागत मूल्य ११ रूपैयाँ ५३ पैसा पर्ने व्यवसायीको भनाइ छ।

नेपालमा रहेका चार सय ५० ह्याचरी उद्योग घटेर एक सय ५० मा झरेका छन्। १४ वटा लेर्यसका ह्याचरी उद्योग घटेर ३ मा झरेको कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने बताउँछन्।  

नेपालका ह्याचरीको हप्तामा ६० लाख चल्ला उत्पादन गर्ने क्षमता छ तर अहिले किसानले २५ लाखको हाराहारी उत्पादन गर्दै आएका छन्। नेपालमा माग भने ४० लाख कुखुराको चल्ला आवश्यक छ। अधिकांश चल्ला लुकिछिपी भारतबाट आउँदा किसानहरू समस्यामा पर्ने गरेका छन्। 

प्रकाशित: ८ चैत्र २०७९ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App