२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अरुण–३ परियोजनास्थलमा उच्चस्तरीय भ्रमण

 नेपाल भ्रमणमा रहनुभएकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने–म्यारी ट्रेवेलियनले सङ्खुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरूण ३ जलविद्युत् परियोजनाको भ्रमण गरेकी छिन्। उनले परियोजनाको विद्युत्गृह स्थल तथा ट्रान्सफर्मर बेको अवलोकन गर्दै नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गर्नेतर्फ मुखरित रहेको भन्दै खुसी व्यक्त गरिन्।

उनले जलविद्युत् उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन्।

अरूण–३ जलविद्युत् परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभिएनको मुख्य स्वामित्वमा स्थापित एसजेभिएन अरूण ३ पावर डेभलपमेन्ट कम्पनी प्रालिमार्फत विकास भइरहेको छ। परियोजनाको उत्पादनतर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ।

विकासकर्ता स्वयम्ले परियोजना विद्युत्गृहदेखि भारतको सीतामढीसम्म ४०० केभी क्षमताको कुल २५३ किमी लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको छ र सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

राष्ट्रिय महत्वका पूर्वाधार परियोजनामा सार्वजनिक–निजी साझेदारीमा लगानी जुटाउने तथा विकास गर्ने नोडल एजेन्सीका रूपमा रहेको लगानी बोर्डको क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको मित्रराष्ट्र बेलायत सरकारले उक्त प्राविधिक सहयोगलाई निरन्तरता दिने उल्लेख गरेको छ।

परियोजनास्थल भ्रमणका क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरूण–३ जलविद्युत् परियोजना नेपालमा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण कोसेढुंगा रहेको उल्लेख गर्दै लगानी बोर्डले कोभिड–१९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्‍न आवश्यक सबै सहजीकरण गरेको बताए।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठुला जलविद्युत् परियोजनाहरूले यस क्षेत्रको विद्युत्को माग सम्बोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै क्षेत्रीय विद्युत् व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरू बीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।

अरूण–३ जलविद्युत् परियोजनास्थल उच्चस्तरीय भ्रमण टोलीमा राज्यमन्त्री ट्रेवेलियनसहित नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, एफसिडिओ डेभलपमेन्ट डाइरेक्टर पिपा बर्ड, लगानी बोर्ड नेपाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।  

प्रकाशित: २७ फाल्गुन २०७९ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App