१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

हेटौंडामा बैंकविरुद्ध उद्योग वाणिज्य संघको प्रदर्शन

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा आइतबार निकालेको विरोध प्रदर्शनका सहभागी।

देशैभर बैंक तथा वित्तिय संस्थाको विरुद्ध आवाज उठिरहेको अवस्थामा हेटौंडामा पनि बैंक विरुद्ध विरोध प्रदर्शन भएको छ।

बैंक तथा वित्तिय संस्थाको चर्को व्याज र अनावश्यक दवावका कारण प्रताडित हुनुपरेको भन्दै मकवानपुरका उद्योगी व्यवसायीहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आइतबार दिउँसो हेटौंडामा उद्योगी व्यवसायीले कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन्। चर्को व्याजदरको विरुद्ध सम्बन्धित बैंक तथा वित्तिय संस्थामा ज्ञापनपत्र समेत बुझाइएको छ।

उद्योग वाणिज्य संघले विरोध प्रदर्शनमा कालो ब्यानरसहित उपस्थित हुन सार्वजनिक रुपमा आव्हान नै गरेको थियो। हेटौंडाको पल्पसा सभाहलबाट सुरु भएको विरोध प्रदर्शन र्‍यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो। बैंक तथा वित्तिय संस्थाको विरुद्धमा मकवानपुर उद्योग वाणिज्य संघले ७ दिने विभिन्न विरोध प्रदर्शन कार्यक्रम तय गरेको छ।  

विरोध प्रदर्शनको पहिलो दिन कालो व्यानरसहित विरोध प्रदर्शन सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम भएको छ भने २४ गते हेटौंडाको बुद्धचोकमा बागमती प्रदेश स्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा व्यानर सहितको शान्तिपूर्ण धर्ना, २५ गते बैंकहरुमा १ घण्टा धर्ना, २६ गते बैंकहरुमा २ घण्टा धर्ना, २८ गते बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने, २९ गते सम्पूर्ण बैंकिङ कारोवार बन्द गराउने र ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने कार्यक्रम रहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए।  

संघको आन्दोलनका कार्यक्रमका लागि उद्योगतर्फका उपाध्यक्ष प्रमोदसिंह रानाभाटले संयोजन गरिरहेका छन्। पहिलो चरणको आन्दोलन सकिँदा पनि उद्योगी व्यवसायीको समस्या समाधानमा कुनै तदारुकता नदेखाए चरणबद्ध आन्दोलन घोषणा गर्ने रानाभाटले चेतावनी दिए। ‘हाम्रो यस अभियानलाई राजनीतिक दल, यहाँ रहेका संघसंस्थाहरुले पनि साथ दिइरहेका छन्। बैंक तथा वित्तिय संस्थाबाट धेरै साथीहरु पीडित भैरहेका छन्’, उनले भने, ‘बैंककै कारण उद्योगी व्यवसायीहरु तनावग्रस्त भएपछि हामी आन्दोलन गर्ने अवस्थामा आइपुगेका हौं।’

प्रकाशित: २१ फाल्गुन २०७९ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App