भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए। तर, आजभोलि उनले घटाएर २५ हजारसम्म चल्ला उत्पादन गर्ने गर्छन्। चल्लाको मूल्य घट्दै गएपछि पाख्रेलले उत्पादन घटाउँदै लगेका हुन्।
२०५४ सालदेखि यस व्यवसायमा लागेका पोख्रेलले शिवनगरमा २० करोडको लगानीमा ह्याचरी उद्योग खोलेका हुन्। यो अवधिको तीन वर्ष घाटामा भएपछि उत्पादन घटाउँदै लगेको उनी बताउँछन्।
‘कुनै समय ६० हजार चल्लासम्म उत्पादन गरेका थियौं, कोरोनापछि चल्लाको बिक्री हुनै छाड्यो,’ उनले भने, ‘अहिले बिक्री नभएपछि उत्पादन घटाएर २५ हजारमा झार्नुपरेको छ ।’ उत्पादन भएका चल्ला पनि घाटा खाएर दिन परेको उनले बताए।
ब्रोइलर कुखुराका चल्ला उत्पादन गर्न ६० रूपैयाँ लगानी लाग्छ। २० रूपैयाँमा पनि बिक्री हुँदैन,’ उनले भने, ‘व्यवसाय नै धरापमा छ ।’ उत्पादन कम हुँदै गएपछि उनले कामदारसमेत घटाएका छन्। कुनै समय २० जनासम्म कामदार राखेका उनले १० जनामा झारेको बताए। एक सातादेखि ब्रोइलर चल्ला ५० रूपैयाँमा बिक्री भएको बताए।
किसानहरू धमाधम घाटामा जान थालेपछि ह्याचरी उद्योगहरू बन्द हुन थालेका छन्। कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार, ब्रोइलरका चार सय ५० ह्याचरी उद्योग घटेर एक सय ५० मा झरेका छन्। १४ वटा लेयर्सका ह्याचरी उद्योग घटेर ३ मा झरेको उनले बताए। ‘खपत कम छ। ह्याचरीहरू धमाधम बन्द भएका छन्। हप्तामा ५५ लाख चल्ला उत्पादन हुने नेपालमा २५ लाख पनि छैन,’ उनले भने, ‘कोरोना महामारीसँगैै रुस र युक्रेनको युद्धको असर पोल्ट्री क्षेत्रमा देखिएको छ ।’
अहिले लेयर्सका चल्ला उत्पादन गर्ने व्यवसायी सबैभन्दा बढी मारमा परेका छन्। १ सय २५ रूपैयाँ लागतमा चल्ला उत्पादन गरेर किसानहरूले लेयर्सका चल्ला ५० रूपैयाँमा बेच्नुपरेको उनले बताए। किसानहरूले बिक्री नभएपछि चल्ला खाल्टोमा गाड्नेसमेत गरेका छन्। नेपालमा हप्तामा ४० लाख कुखुराका चल्ला आवश्यक छ। तर, उत्पादन भने हप्तामा ४५ लाख गर्ने क्षमता रहेको छ।
मासु र अन्डाको मूल्य पनि किसानहरूले पाएका छैनन्। नेपालमा दैनिक तीन लाख ५० हजार अन्डा उत्पादन गर्दै आएका विनोद पोख्रेल नौ रूपैयाँमा पनि अन्डा बेच्न सक्दैनन्। जब कि उनको लागत मूल्य १३ रूपैयाँसम्म पर्न आउँछ। तर, बजारमा १५ रूपैयाँमा अन्डा बिक्री भइरहेको छ। ‘सरकारले चार वर्षअगाडि अन्डाको समर्थन मूल्य प्रतिक्रेट चार सय रूपैयाँ तोकेको थियो। तर, अहिले प्रतिक्रेट २ सय ३० मा बेच्न परेको छ,’ पोख्रेलले भने, ‘त्यसयता दानाको मूल्य आकासियर कहाँ पुग्यो ।’ ब्रोइलर कुखुराको मासुको लागत मूल्य प्रतिकेजी २ सय ५० रूपैयाँ पर्ने किसानको दाबी छ। तर, अहिले एक सय ७० रूपैयाँमा बेच्नुपरेको उनले बताए। यद्यपि बजारमा भने उपभोक्ताले प्रतिकेजी ३ सय ८० रूपैयाँसम्म उपभोग गरिरहेका छन्। ‘हामीले लागत मूल्य नपाई बेच्न बाध्य छौं, उपभोक्ताले चर्को मूल्य तिरेर खानुपरेको छ,’ उनले भने ‘बीचको मार्जिन घटाउन सरकार लागेको खै।’
समग्र पोल्ट्री व्यवसाय नै धरापमा रहेको छ। कुखुरालाई खुवाउने दानाको मूल्य निरन्तर उकालो लाग्दा लागत मूल्य बढिरहेको नेपाल ह्यारी उद्योग संघका उपाध्यक्ष ज्ञानबहादुर विशुराल बताउँछन्। ‘एक वर्षको अवधिमा प्रतिकेजी ३० रूपैयाँसम्म दानाको मूल्य बढेको छ। तर, चल्लाको मूल्य बढ्लाभन्दा घट्छ,’ उनले भने, ‘लेयर्स कुखुरालाई खुवाउने दाना प्रतिकेजी ७० रूपैयाँसम्म पुगेको छ।
’तीन वर्षअघि सरकारले पोल्ट्रीमा आत्मनिर्भर रहेको घोषणा गरेको थियो। यहाँका व्यवसायीले पनि विगत ८ वर्षदेखि पोल्ट्रीमा आत्मनिर्भर रहेको बताउँदै आएका थिए। हाल नेपालमा पोल्ट्री क्षेत्रमा एक सय ५० अर्ब हाराहारीमा लगानी रहेको बताइन्छ। सस्तो कुखुरा भारतबाट भित्रने गर्दा किसान मर्कामा परेको ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेल बताउँछन्।
भारतीय सीमा क्षेत्रका खुला नाकाका कारण अवैध रूपमा चल्ला, कुखुरा, तयारी मासु र अन्डा भित्रिएका छन्, उनले भने, नेपाली उत्पादनले बजार पाएको छैन ।’ नेपाल सरकारले केही मात्रा कडाइ गरे पनि पूर्ण रूपमा लागु हुन सकेको छैन। नेपालमा नवलपरासी, सर्लाही, पर्सा, सिराहा, बाँके जिल्लाका नाकाबाट अवैध कुखुरा भित्रने गर्छन्।
भारत सरकारले किसानलाई छुट दिँदै आएको छ। जसका कारण उनीहरूसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न सकेका छैनन्। कृषिका कच्चा पदार्थमा भन्सार बढाएर सरकारले ९ प्रतिशत पुर्याएका छ। तीन वर्षअघिसम्म कृषिका कच्चा पदार्थमा सरकारले १ प्रतिशतसम्म भन्सार कर लिँदै आएको थियो। त्यस्तै पोल्ट्री सामग्रीमा २३ प्रतिशतसम्म भ्याट लगाउँदै आएको छ। जसका कारण व्यवसायीहरूलाई थप मर्का पर्दै आएको व्यवसायीको भनाइ छ।
पोल्ट्रीको ३० प्रतिशत हिंसा चितवनले ओगट्दै आएको छ। भारतबाट अवैध रूपमा चल्ला भित्रिएपछि यहाँका व्यवसायीले उत्पादन घटाउँदै लगेका हुन्। नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार कोभिड–१९ पछि पोल्ट्री व्यवसाय ४० अर्ब रूपैयाँ बराबरको घाटामा छ। खुल्ला सीमाका कारण भारतबाट अवैध भित्रने अन्डा, चल्ला र मासुलाई रोक्न नसक्दा यहाँका व्यवसायी समस्यामा परेको उनी बताउँछन्। ‘व्यवसायीक रूपमा ब्रोइलर पाल्नेलाई घाटा छ। चल्लाको त कुरा नगरौं। ५५ रूपैयाँमा उत्पादन गरेर १५ रूपैयाँमा बेच्न परेको छ। दाना उद्योग सुरक्षित थियो। यसको पनि बिक्री ह्वात्तै घटेको छ,’ उनले भने, ‘हाम्रो आन्तरिक नीति र खुला सीमाका कारण समस्यामा छौं ।’ पोल्ट्री व्यवसायीको समाधानका लागि छुट्टै ऐन ल्याउन उनले माग गरेका छन्। भारतबाट आउने पोल्ट्रीजन्य वस्तु रोक्न सके पहिलेकै अवस्थामा उत्पादन गर्न सक्ने उनले बताए।
नेपालमा २०१७ सालमा सरकारी स्तरबाट पोल्ट्री उद्योग खुलेको थियो। २०४७ सालपछि पोल्ट्री व्यावसायिक रूपमा अगाडि बढेको छ। अहिले देशको कुल ग्राहस्थ उत्पादन करिब ३ दशमलब ५ प्रतिशत पोल्ट्रीले योगदान दिँदै आएको छ। यसमा १ खर्ब ६० अर्ब रूपैयाँ लगानी भएको व्यवसायीको दाबी छ। ५ लाख परिवार पोल्ट्रीमा आश्रित रहेको अनुमान छ।
प्रकाशित: १९ फाल्गुन २०७९ ०१:४५ शुक्रबार