१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चर्को ब्याजदर घटाउन माग गर्दै बाजुरामा उद्योगी व्यवसायीको प्रदर्शन

बाजुरा सदरमुकाम मार्तडीका विरोध प्रदर्शन गर्दै व्यवसायी। तस्बिर: नागरिक।

बाजुराका व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुपर्ने माग सहित बजार बन्द गराएका छन्।

बुधवार बैंकको ब्याज चर्को रहेको उल्लेख गर्दै सदरमुकाममा ब्याजदरविरुद्ध जुलुस सहित व्यवसायीले पसल बन्द गरेर आन्दोलन गरेका हुन्।

बिहान देखि २ बजेसम्म बजार बन्द गराएका व्यवसायीले दिनभर विरोध जुलुस प्रदर्शन गरेका छन्। बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरिएको व्यवसायीले बताएका छन्। बाजुरा उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलन भएको कार्यालय सचिव टेकबहादुर धामीले बताए।

व्यवसायीहरूले ब्याजदर घटाउनुपर्ने, ऋणको किस्ता र ब्याज तिर्ने समय बढाउनुपर्ने लगायतका माग राखेका छन्। सुदूरपश्चिम प्रदेश राजधानी धनगढी सहितका बजारमा व्यवसायीले आन्दोलनलाई सशक्त बनाएर अघि बढेका छन्। उनीहरूले आफ्ना माग पुरा नभए थप आन्दोलन गर्ने र उपलब्ध सबै बैंकहरुमा धर्ना दिने चेतावनी समेत दिएका छन्।

बैंक तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको आरोप व्यवसायीको छ। चर्को ब्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर हुनु पर्ने माग सहित पहिलो दिन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए।

बैंक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजदरका कारण व्यवसाय धराशायी हुँदा आन्दोलन गर्नुपरेको बाजुराका व्यवसायीको साझा गुनासो छ। आर्थिक मन्दी चलिरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको भन्दै व्यवसायी आन्दोलित हुनु परेको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए।

पसल बन्दपछि व्यवसायीले नारा जुलुस सहित बजार परिक्रमा गरेका थिए। ज्ञापन पत्र बुझाए लगत्तै लोकतान्त्रिक चोकमा विरोध सभा आयोजना गरिएको थियो। पहिलो चरणमा साङ्केतिक विरोध गरिएको र ब्याजदरका कारण व्यवसायी पलायन हुन थालेको प्रति राज्य सचेत र जिम्मेवार हुनु पर्ने माग व्यवसायीको छ। चर्को व्याज र राज्यको व्यवसायी पेल्ने नीतिका कारण धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको छ। भने ब्याजदरका कारण घर खेत लिलाम हुने अवस्थामा पुगेको छ।

बैंकहरुले ८ प्रतिशतमा दिएको ऋणको ब्याजदर बढाएर अहिले १६ प्रतिशतसम्म पुर्याउदा व्यवसाय धराशायी हुँदै गएको व्यवसायीहरुकाे गुनासाे छ। बैंक तथा वित्तीय संस्थाहरूले मनलाग्दी ब्याजदर बढाएपछि व्यवसायीहरू पलायन हुने क्रम बढ्न थालेको छ।

प्रकाशित: १७ फाल्गुन २०७९ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App