८ वैशाख २०८१ शनिबार
अर्थ

पोखराका १६ पर्यटकीय गन्तव्यको कथा पाँचवटा भाषामा

क्यूआर कोड स्क्यान गरेपछि सुन्न र पढ्न पाइने

पोखरा घुम्न आएका जो कोही पाहुनालाई यहाँको कुनै एउटा धार्मिक, ऐतिहासिक, पर्यटकीय वा पुरातात्विक गन्तव्यको बारेमा बुझ्नुपर्दा कि त गाइडको भर पर्नु पर्दथ्यो, कि प्रकाशित दस्तावेज खोजी गर्नु पर्दथ्यो वा स्थानीय अगुवासँग भेट्नु पर्ने बाध्यता थियो। जो कोहीसँग कुराकानी र सोधखोज गर्दा गन्तव्यको बारेमा फरक कथा र तथ्य आउन पनि सक्थ्यो।  

तर, अब त्यो समस्या हल हुने भएको छ। मात्र एकपटक क्यूआर कोड स्क्यान गरेपछि आफुले जान्न खोजेको गन्तव्यबारे पुरै विवरण पढ्न र सुन्न मिल्ने सामाग्री मोवाइलमै उपलब्ध हुनेछ। त्यसका लागि पोखराका विभिन्न १६ वटा गन्तव्यमा क्यूआर कोड राखिएको छ। पोखराका ती १६ वटा गन्तव्य धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छन्। पर्यटकले ती गन्तव्यमा राखिएका क्यूआर कोड स्क्यान गरेपछि त्यो ठाउँको बारेमा सुन्न र पढ्न मिल्ने सामाग्री पाउनेछन्, त्यो पनि विभिन्न भाषामा। हालका लागि पाँचवटा भाषामा १६ वटा ठाउँको चिनारी क्यूआर कोडमार्फत दिनेगरि राखिएको छ।

पोखरा पर्यटन परिषद् र पर्यटन बोर्डमार्फत ती ठाउँमा क्यूआर कोड राखिएको हो। क्यूआर कोड तयार पार्नका लागि यात्रा प्रविधि कम्पनि सारङ सर्भिसेजले काम गरेको हो। यो कम्पनिले विभिन्न प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको कथा धेरैवटा भाषामा सुनाउँछ। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार नेपाली, अंग्रेजी, हिन्दी, स्पेनीस र फ्रेन्चगरि पाँचवटा भाषामा पोखराका गन्तव्य बारे जानकारी दिनेगरि क्यूआर कोड राखिएको छ। पर्यटकले क्यूआर कोड स्क्यान गरेपछि आफुले चाहेको भाषामा त्यो गन्तव्यबारे पढ्न र सुन्न पाउँछन।

‘अरु भाषाका सामाग्री पनि थप्ने तयारी छ। अहिलेका लागि १६ ठाउँको बारेमा जानकारी दिनेगरि क्यूआर कोड स्क्यानको सुविधा दिएका छौ, गन्तव्य र भाषाको माध्याम पनि थप्दै लैजाने हो,’ श्रेष्ठले भने, ‘पोखरा घुम्न आएका जो कोही स्वदेशी वा विदेशी पर्यटकलाई त्यस गन्तव्यबारे आवश्यक विवरण विस्तृतमा उपलब्ध गराउँछ। यसले पर्यटकलाई एकैखालको जानकारी दिन सहयोग पुग्छ।’ उनका अनुसार जुन मुलुकका बढी पर्यटक ती गन्तव्यमा पुग्छन, त्यही अनुसार कथालाई ट्रान्सलेट गरिएको छ।

कतिपय पर्यटकले आफुले घुमेको गन्तव्यबारे जान्न चाहने भएपनि गाइडको अभावमा पाहुना जानकारी पाउनबाट बञ्चित रहेकोमा अब सहज भएको उनले बताए। ‘पर्यटन क्षेत्रका लागि यो निकै नै महत्वपूर्ण काम हो। बाहिरबाट हेर्दा क्यूआर कोड स्क्यान मात्र गरेको देखिएपनि यसले दिने सामाग्रीले विशेष अर्थ राख्छ,’ उनले भने।  

परिषद्का महासचिव सञ्जयकान्त सिग्देलका अनुसार पोखराको गुप्तेश्वर महादेव गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, महेन्द्र गुफा, पुम्दीकोट, सराङकोट, विन्ध्यवासिनी मन्दिर, बेगनास ताल,, विश्व शान्ति स्तुप, केदारेश्वर महादेव मन्दिरबारे आवश्यक सामाग्री क्यूआर कोडमार्फत उपलब्ध छन्। त्यस्तै फेवाताल, माटेपानी गुम्बा, डेभिज फल्स, तालबाराही मन्दिर र कास्कीकोट मन्दिरलाई पनि क्यूआरकोडमा समेटिएको छ।  

‘अहिलेसम्म ती गन्तव्यबारे जानकारी दिनका लागि पर्यटकले गाइड खोज्नुपर्ने हुन्थ्यो वा प्रकाशित दस्तावेज खोजी गर्नु पर्दथ्यो, तर अब सहज भएको छ,’ सिग्देलले भने, ‘आफुले जान्न चाहेको सम्बन्धित गन्तव्यको जानकारी आफ्नै भाषामा पाइने भएकोले पनि सहज हुनेछ। भाषा नबुझेर हुने समस्या हट्नेछ। यसले पर्यटनमा सहयोग गर्ने अपेक्षा छ।’ उनका अनुसार सबै भाषामा दख्खल गाइड नभएको बेला क्यूआर कोडमार्फत जानकारी दिँदा सहज भएको छ। ‘हामीसँग सबै भाषामा दख्खल टुर गाइड छैनन। गाइड अभावमा पाहुनाले जानकारी पनि पाउँदैनन, त्यो समस्या अब कम हुने भएको छ,’ उनले भने।  

क्यूआर कोडको विकास गरेको सारङ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत सचिन डाँगीका अनुसार हरेक क्यूआर कोडको बोर्डमा दुइठाउँमा स्क्यान गर्न मिल्छ। एउटामा सम्बन्धित गन्तव्यबारे जानकारी दिने सामाग्री पाइन्छ भने अर्काेमा पोखराका अरु महत्वपूर्ण स्थलबारे जानकारी लिन सकिन्छ। आफु रहेको ठाउँबाट अरु गन्तव्य कति टाढा छन् भन्ने पनि पत्ता लगाउन पनि यसले सघाउँछ।  

‘कुनै एक ठाउँको क्यूआर स्क्यान गरेपछि त्यो ठाँउको विस्तृत विवरण र नजिकको अर्काे गन्तव्यको जानकारी पनि पाउँन सकिन्छ,’ डाँगीले भने, ‘पोखराको मुख्य पर्यटकीय ठाँउ घुम्नका लागि अब गाइड खोज्नुपर्दैन। कसैसँग भर पनि पर्नुपरेन।’

 पोखराको बारेमा थाहा पाउने माध्यम बनेको उनले बताए। ‘पोखरामा कहाँकहाँ घुम्ने भन्ने पनि थाहा हुनेछ । घुमेर बाँकी रहेका गन्तव्यबारे पनि जानकारी पाइनेछ,’ उनले भने, ‘कुनै गन्तव्य छुटेको रहेछ भने पनि थाहा पाउन सकिन्छ।’ उनका अनुसार क्यूआर कोड स्क्यान गर्दा आफु रहेको गन्तव्य र अर्काे ठाउँ कति दूरीमा छ भन्ने पनि पर्यटकले थाहा पाउनेछन्।

‘जान खोजेको गन्तव्यको नक्सा पनि देखाउँछ। जसले गर्दा ठगिनबाट पनि जोगाउँछ,’ उनले भने। कम्पनिका अनुसन्धानकर्ताले पोखरामा झन्डै दुइ महिना बसेर ती गन्तव्यबारे जानकारी संकलन गरेका थिए। स्थानीय गुठि, नगरपालिका, अगुवासँग छलफल गर्दै प्रकाशित दस्तावेज अध्ययन गरेर विवरण संकलन गरिएको डाँगीले बताए। 

‘मौखिक रुपमा गाइडको भरमा जानकारी लिँदा फरक फरक जानकारी पनि आउन सक्थ्यो। एकै ठाउँको फरक फरक जानकारी पाउँदा पर्यटक झुक्किने गर्दथे। तर, अब आफ्नै भाषामा पढ्न र सुन्न पाउँदा एउटै सामाग्रीले आधिकारीकता दिनेछ,’ उनले भने। कम्पनिले पोखराबाहेक पर्वतको कुश्मा, मुस्ताङकोे कागबेनी र मुक्तिनाथ र लुम्बिनी क्षेत्रको अहिले विवरण संकलन गरिरहेको उनले बताए। 

‘नेपालका ११६ गन्तव्यलाई क्यूआर कोडमा समेट्ने प्रयास भईरहेको छ। स्थानीय तहसँग मिलेर काम गर्नेछौ,’ उनले भने।  फरक व्यक्तिसँग जानकारी लिनुपर्दा कहिलेकाँही एकै ठाउँको पनि फरक फरक विवरण आउन सक्थ्यो। जसले गर्दा गन्तव्यको मुख्य कथा नै हराउने गरेको थियो। तर, अब कुनै एउटा गन्तव्यको एउटै कथा सुन्न पाउने गरि व्यवस्था मिलाइएको उनले बताए।  

प्रकाशित: ११ फाल्गुन २०७९ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App