१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः विहीबारदेखि रात्रीकालीन उडानका लागि बाटो खुल्ने

बुद्धले राती ८ बजेम्म उडान गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विहीबारदेखि रात्रीकालीन उडानका लागि तयार हुँदैछ। हालसम्म दिउँसोको समयमा मात्र उडान भईरहेकोमा अब रात्रीकालीन उडान गर्नका लागि बाटो खुल्नेछ। हवाई कम्पनिले पनि रात्रीकालीन उडानका लागि आवश्यक तयारी थालेका छन्।

गत जनवरी १ देखि संचालनमा आएको विमानस्थल अहिले दिउँसोको समयमा चारबजेसम्म मात्र संचालन हुँदै आएको थियो। तर, अब भने रातीको समयमा आवश्यक अनुसार उडान र अवतरण संचालन गर्न सकिने विमानस्थलले बताएको छ।

विमानस्थल प्रवक्ता जशोदा सुवेदीका अनुसार विहीबारदेखि विमानस्थल प्रविधिमा आधारित रहेर उडान गर्ने विधि आइएफआर (इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स) अनुसार संचालन हुँदैछ। अहिलेसम्म  सबै उडान भिएफआर (भिजुअल फ्लाइट रुल्स) प्रविधि अनुसार संचालित थिए। भिएफआरमा ककपिटमा बसेका पाइलटले आँखाले हेरेको भरमा उडान र अवतरण गराइन्छ।

‘अब विहीबार रातीदेखि हामीलाई आइएफआर उडानका लागि बाटो खुल्छ। त्यस अनुसार रात्रीकालीन उडान पनि गर्न मिल्छ। आवश्यक परेमा कुनैपनि बेला रातीको समयमा उडान र अवतरण गराउन सकिन्छ,’ उनले भनिन, ‘रात्रीकालीन उडानका लागि अहिलेसम्म केही समय पर्खिनुपर्ने बाध्यता थियो। त्यो समय विहीबार सकिँदैछ। विमान कम्पनिले चाहेमा रात्रीकालीन उडान गर्न सक्छन्।’

गत जनवरी १ देखि व्यवसायिक रुपमा विमानस्थलबाट उडान संचालन गरेपनि गत जनवरी १२ मा मात्र विमानस्थल सबैखाले हवाई उडानका लागि उडानयोग्य रहेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआईपी) प्रकाशित गरेको थियो । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एआईपी प्रकाशन गरेको ४२ दिन नपुगेका कारण रात्रीकालिन उडानका लागि समय पर्खिनुपरेको उनले बताईन।  

प्राधिकरणले प्रकाशन गर्ने एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनिले आफ्नो उडानलाई पोखरासम्म बिस्तार गर्न सक्छन। प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रावधान अनुसार एआईपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) प्रकाशन गरेको ४२ दिनपछि मात्र विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य मानिने उनले बताइन। त्यही समय पुरा हुनका लागि विहीबारसम्म पर्खिनुपरेको उनको भनाई छ।

‘विहीबार देखि रात्रीकालीन उडानका लागि बाटो खुल्छ। सुरुमा कति घण्टा संचालन हुने भन्ने आवश्यकता अनुसार हुन्छ । अब यान्त्रीक र रात्रीकालीन उडानका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । अहिलेसम्म भिएफआर प्रविधिमा उडान हुँदै आएकोमा अब आईएफआरबाट हुन्छ,’ उनले भनिन।  

प्रवक्ता सुवेदीले रात्रीकालीन उडान राती १२ बजेसम्म पनि संचालन गर्न सकिने बताइन। तर समय सिमा भने हवाइ कम्पनिले राख्ने उडान तालिकामा भर पर्ने उनले बताईन। ‘जनशक्ति व्यवस्थापन गर्ने कुरा हो हवाई कम्पनिको सेड्यूलमा पनि उडान समय भर पर्छ। अहिले त्यो काम भईरहेको छ,’ उनले भनिन, ‘अब विमानस्थल रात्रीकालीन समयमा पनि चलायमान हुनेछ।’ पोखरा–काठमाडौं रात्रीकालीन उडानका लागि विभिन्न हवाई कम्पनिले चाँसो दिएको पनि उनले बताईन।  

बुद्धले मार्च नौदेखि रात्रीकालीन उडान गर्ने

निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले मार्च नौ देखि काठमाडौं–पोखरा रुटमा रात्रीकालीन उडान गर्ने तयारी गरेको छ। अहिलेका लागि राती ८ बजेसम्म रात्रीकालीन उडान गर्ने तालिका रहेको बुद्धका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। उनका अनुसार अहिले दिउँसोको समयमा उडान गर्दा बढीमा १० वटा सम्म उडान भएका छन्। तर, रात्रीकालीन उडान गर्दा त्यो संख्या बढाएर दिनमा १२ वटासम्म पु¥याउने तयारी रहेको कर्णले जानकारी दिए।

‘दिउँसो र रात्रीकालीन गरि दिनमा कम्तिमा एकदर्जन उडान गर्ने तयारी हो। मार्च नौदेखिको उडान तालिका बनाउँदैछौ,’ उनले भने। उनका अनुसार रात्रीकालीन उडान गर्ने भएपछि बुद्धले चारवटा जहाजलाई पोखरामै रात्रीबिसान गर्ने योजना पनि बनाएको छ। ती विमानबाट बिहानैको समयमा भैरहवा, नेपालगञ्ज, चितवन, भद्रपुरसम्म उडान गर्ने योजना रहेको कर्णले बताए। सबै उडान एटिआर ७२ बाट गर्ने पनि उनले बताए। बुद्धसँग अहिले एटिआर जहाज मात्र छन्।

प्रकाशित: १० फाल्गुन २०७९ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App