१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना

लघुवित्त वित्तीय संस्थाहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन्।

पछिल्लो समय लघुवित्तका कारण गाउँमा बस्ने महिलाहरु असुरक्षित महशुस गर्नुका साथै तराईका जिल्लाहरुमा ऋणीहरु यातना खेप्न बध्य भएका हुन्। 

लघुवित्तहरुले ऋण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने गरेको र लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गरी मिटर ब्याजमा पैसा लगाउने गरेको पीडितहरुले बताएका छन्। 

लघुवित्तको कर्मचारी भन्ने तर लघुवित्तको ऋणको दुरुपयोग गरी गाउँघरमा महिलाहरुलाई मिटर ब्याजमा पैसा लिन प्रोत्साहन गर्ने काम भइरहेको पीडितहरुको आरोप छ। गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले शुरुमा समूह निर्माण गर्ने जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भन्दै ऋण लिन प्रोत्साहन गर्ने गरेका छन्। 

लघुवित्तहरुले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ऋणीहरुको घरमा पठाउने र कर्मचारीहरुले मानसिक र शारीरिक यातना दिने गरेको बताए। 

किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ऋण बनाउने गरेको उनीहरुले बताए। सोमवार काठमाडौंमा भएको एक कार्यक्रम महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतोले २०७२ सालदेखि लघुवित्त र मिटर ब्याजीको समस्या खेप्नुपरेको बताइन्। 

उनले पछिल्लो समय तराईका जिल्लाहरुमा मिटरब्याजी साहुहरुले महिलाहरुलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गरेको गुनासो गरिन्। उनले तराईमा लघुवित्तको कारण महिलाहरु घर बस्न समेत नसकेको बताइन्। उनले लघुवित्तका कर्मचारीहरु रातिसमेत घरमा गइ शरीरमा थुक्ने, शरीर व्यापार गरेर भएपनि ऋण तिर् भन्दै यातना दिने गरेको दुःखेसो गरिन्। लघुवित्तले ऋण तिर्न नसक्ने महिलाहरुलाई शौचालयमा थुनिदिने गरेको उनकाे गुनासाे छ। 

उनले लघुवित्तहरुले घरमा ताल्चा लगाएकाले धेरै महिलाहरु घरबार बिहीन हुनुपरेको समेत बताइन्। उनले घरमा आमा बुबाको वृद्धभत्ताको पासबुक लगेर पैसा निकालेर लघुवित्तले मनोमानी खाने गरेको गुनासो गरिन्।

त्यस्तै, अर्को सिराहाकी सुनिता विश्वकर्माले लघुवित्त संस्थाबाट लिएको १ लाख ५० हजार ऋण पाँच वर्षसम्म तिर्दा पनि अहिलेसम्म नसकिएको बताइन्। उनले ११ वटा लघुवित्त समूहबाट ऋण लिएको बताइन्। उनले आफूले एउटामा ३० र अर्कोमा ४० हजार रुपैयाँ ऋण तिर्न भएपनि लघुवित्तले १ लाख नै रहेको भन्दै तत्काल तिर्न दबाब दिँदै आएको बताइन्। 

उनले लघुवित्तका कर्मचारीहरु ऋण उठाउनको लागि बिहान १० बजेदेखि बेलुका १० बजेसम्म घरमा नै बस्ने गरेको बताइन्। उनले लघुवित्तको ऋण तिर्दा तिर्दा भएका गाईवस्तु र लगाएको सुन समेत सकिएर सुकुम्वासी जस्तै भएको गुनासो गरिन्।

त्यस्तै, रौतहट घर भएकी डिल्लीकुमारी कार्की मिटर व्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको बताइन्। उनले मिटर ब्याजमा पैसा दिनेले धेरै फसाएर सुकुम्वासी बन्ने लागेको अवस्थामा लघुवित्तले झन पीडा थपेको बताइन्। कार्कीले मिटरब्याजी साहुले भएको जग्गा जमिन समेत लिलाममा हालेर खाएको उल्लेख गरिन्।

त्यस्तै, विभन्न बाहिर जिल्ला छाडेर काठमाडौं उपत्यकामा आएर लघुवित्त समूहमा बसेर ऋण लिएर व्यवसाय गर्ने कमला मुक्तान र सुनमाया तामाङलाई समेत लघुवित्तले यातना दिएको गुनासो गरेका छन्। उनीहरुलाई लघुवित्तहरु आफैँले समूह बनाएर ऋण लिन बोलाएको र अहिले एउटाले ऋण तिर्न नसक्नेको भन्दै सबै महिलाहरुको निक्षेप समेत दिन नमानेको बताइन्। तत्काल किस्ता तिर्न पैसा छैन भन्दा समेत जसरी जहाँबाट भएपनि २८ दिनमा किस्ता बुझाउनुपर्ने भन्दै दबाब दिइएको उनकाे भनाइ थियाे।

उदार बजार अर्थतन्त्रमा लघुवित्त संस्था आफैँ जिम्मेवार बन्नुपर्ने भएपनि पछिल्लो समय त्यस्तो देखिएको छैन। लघुवित्तबाट ऋण लिने ३३ लाख ऋणी छन्।  राष्ट्र बैंकले सुपरीवेक्षण गरेपछि ऋणीबाट लिन पाइने भन्दा बढी असुल गरेको १ अर्ब ६० करोड सेवाशुल्क फिर्ता गर्न लघुवित्तहरु तयार भएका छन्।

प्रकाशित: ९ फाल्गुन २०७९ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App