coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

छाला-जुत्ता व्यवसाय संकटमा

कैलालीको टीकापुरमा रहेका छालाजुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्। व्यवसायमा विगतभन्दा कारोबार घट्दै जान थालेपछि व्यवसायी विदेश जान थालेका हुन्। जुत्ता व्यवसायी चार जना अहिले विदेश गइसकेको उनीहरू बताउँछन्। अन्य छ जनासमेत विदेश जाने तयारीमा रहेको व्यवसायी तिलबहादुर सार्कीले बताए। यसरी जुत्ता निर्माण गर्ने व्यवसायी विदेश जान थालेपछि व्यवसाय भने महिलाले धान्न थालेका छन्।

छालाजुत्ता व्यवसायीले टीकापुरमा यो व्यवसाय थालेको कसैको तीन दशक पुग्न थाल्यो भने कोहीले दुई दशक बिताइसकेका छन्। यही पेसाबाट जीवन धानेकाहरू अहिले व्यवसाय नचलेपछि भन्ने दिक्क छन्। २३ वर्षदेखि यही पेसा गरिरहेका तिलबहादुर व्यापार खासै नचलेपछि श्रीमतीलाई सीप सिकाएर विदेश जाने तयारीमा छन्।

‘लामो समयसम्म यो पेसा गरियो, विगतमा राम्रै चलेको थियो’, उनले भने, ‘अहिले पसल बन्द गरेर जान थालेको होइन, मैले जानेको सीप श्रीमतीलाई सिकाउँदै छु। श्रीमतीले यो व्यवसाय धान्नेछिन्।’

केही वर्ष विदेशमा धन कमाइपछि पुनः यही पेसामा फर्कने योजनासहित तिलबहादुर विदेश जाने तयारीमा छन्। ‘मसहित छ जनाले विदेशका लागि कागजात बुझाएका छौं। सबैले पसल श्रीमतीलाई सुम्पने तयारी गरेका छौं’, उनी भन्छन् ‘कोरोना महामारीपछि हाम्रो व्यवसाय धेरै धरापमा छ। तयारी जुत्ताले हाम्रो व्यापार खासै चलेको छैन।’

टीकापुरमा एक दर्जन बढी छाला जुत्ताका पसल छन्। यहाँ ४० जना जतिले रोजगारी पाएका छन्। यहाँ छालाका जुत्ता हातैले बनाइन्छन्। लामो समयदेखि कच्चा पदार्थ किनेर आफैंले उत्पादन गरिने छाला जुत्ता टीकापुरको स्थानीय उत्पादित सामग्रीमा पर्छन्। छाला जुत्ता पसलमा अहिले महिलाहरू पनि काम गरिरहेका देखिन्छन्। टीकापुरमा रहेका एक दर्जन पसलमध्ये सात वटा पसलमा महिला काम गरिरहेका हुन्छन्। महिला त्यहाँ कामदारका रूपमा नभई कतिपयले आफैं पसल सम्हालिरहेका छन् भने कतिपय श्रीमानको सहयोगीका रूपमा काम गर्छन्।

सन्तोषी नेपालीका श्रीमानले लामो समयदेखि छाला जुत्तापसल गरे। यहाँको कमाइमा चित्त नबुझेपछि जुत्ता बनाउने सीप श्रीमतीलाई सिकाएर उनी हाल विदेशमा छन्। अचेल पसल उनकी श्रीमती सन्तोषीले चलाउँदै छिन्। सन्तोषीले जुत्ता, चप्पल आफैं बनाउने समेत गरेकी छिन्। ‘श्रीमानबाट मैले सीप सिकें, यहाँको कमाइले पुग्दैन भन्दै उनी विदेश गए’, सन्तोषी भन्छिन्,‘साँझ-बिहान घरको काम गर्छु। दिउँसो पसल आफैंले चलाएकी छु। जुत्ता बनाउन पनि सिकेकी छु। पसल चलेको छ।’

पूजा नेपालीले पनि लामो समयदेखि श्रीमानसँगै सहयोगीका रूपमा काम गर्दै छिन्। उनले कामदार राख्नुभन्दा आफैं काम गरौं भनी यो सीप सिकेकी हुन्। पूजाका श्रीमान् मोहनलाल नेपालीलाई श्रीमती सहयोगी हुँदा सहज भएको छ। उनी नयाँ काम गर्छिन्, उनकी श्रीमतीले पुरानो मर्मतको काम गर्छिन्।

‘मेरो श्रीमती पसलमा सघाउँदा मलाई कामदार राख्नुपरेको छैन। अब उनलाई यो काम राम्ररी सिकाएर म पनि विदेश जाने तयारीमा छु’, उनले भने।

जुत्ता पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुने पाँचदेखि छ प्रकारका जुत्ता चप्पल पाइन्छन्। टीकापुरमा तयार हुने छालाका जुत्ता चप्पल अन्यभन्दा सस्तो र बलियो छन्। तर पनि बजार खासै नरहेको उनीहरूको गुनासो छ। टीकापुरमा उत्पादन भएका छालाका जुत्ताचप्पलको खपत यही हुन्छ। पछिल्लो समय आधुनिक जुत्ताचप्पल भित्रिंदा व्यवसाय खासै नचलेको उनीहरूको गुनासो छ। रासस

प्रकाशित: २३ माघ २०७९ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App