११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

दैनिक व्यापार घाटा २ अर्ब

काठमाडौं- करिब ५ महिना भारतले नाकाबन्दी गर्दा पनि नेपालको आयात बढेको छ भने निर्यात घटेको छ। जसका कारण गत आर्थिक वर्षमा प्रतिदिन करिब २ अर्ब व्यापार घाटा भइरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७१/७२ मा नेपालको व्यापार घाटा ६ खर्ब ८९ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ०७२/७३ मा व्यापार घाटा २ प्रतिशत बढेर ७ खर्ब ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अर्थात गत आवमा नेपालको व्यापार घाटा प्रतिदिन १ अर्ब ९३ करोड पुगेको छ। यस्तो व्यापार घाटा आर्थिक वर्ष ०७१/७२ मा प्रतिदिन १ अर्ब ८८ करोड रुपैयाँ थियो। करिब ५ महिना नाकाबन्दी भएको आवमा पनि प्रतिदिन व्यापार घाटा बढ्नुको कारण आयात बढ्नु त हुँदै हो, अनि उल्लेख्य रुपमा निर्यात घट्नु पनि हो।

गत आवमा वस्तु निर्यात १७.८ प्रतिशतले घटेर ७० अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ  भने ७ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको राष्ट्र बैंकले जनाएको छ। आव  ०७१/७२ मा यस्तो निर्यात ७.३ प्रतिशतले घटेर ८५ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको थियो। आव  ०७०/७१ मा कुल वस्तु निर्यात ९१ अर्ब रुपैयाँ बराबर थियो।

राष्ट्र बैंकका अनुसार व्यापार घाटा बढ्दै गएपछि गत आवमा कुल व्यापारमा आयातको हिस्सा ९१.७ र निर्यातको ८.३ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो व्यापार घाटा १०.८ प्रतिशतले बढेको थियो। तर, गत आर्थिक वर्ष भारततर्फ २९.३ प्रतिशत र चीनतर्फ २४.६ प्रतिशतले निर्यातमा गिरावट आएकोमा अन्य मुलुकतर्फ भने ६.३ प्रतिशत बढेको छ।

सरकारले तथा निजी क्षेत्र विशेषतः नेपाल उद्योग वाणिज्य महासंघले वार्षिक निर्यात व्यापार बढाएर १ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएकोमा पछिल्ला वर्षमा लगातार निर्यातमा कमी आइरहेको देखिन्छ।

गत आर्थिक वर्षमा भारततर्फ ३९ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निकासी भएको थियो भने भारतबाट ४ खर्ब ७७ अर्ब २१ करोड रुपैयाँ बराबरको आयात भएको छ। यस्तै चीनतर्फ १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निकासी गरेकोमा नेपालले उताबाट १ खर्ब १५ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात गरेको छ।

राष्ट्र बैंकका अनुसार तेस्रो मुलुकमा २८ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु निकासी भएको छ भने १ खर्ब ८० अर्ब ६९ करोड रुपैयाँ बराबरको आयात भएको छ।

कुल वस्तु निर्यात कुल गार्हस्थ उत्पादन (जिडिपी) सँगको अनुपात ३.१ प्रतिशतमा झरेको पनि राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो अनुपात ४ प्रतिशत थियो। वस्तुगत आधारमा गत वर्ष मुख्यतया ऊनी गलैँचा, अलैंची, पस्मिना, तयारी पोसाक, पिना लगायत वस्तुहरुको निर्यात बढेको छ। जिंक सिट, जिआई पाइप, पोलिस्टर यार्न, लत्ताकपडा, जुस लगायत वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ।

पेट्रोलियम पदार्थबाहेकको आयात भने ६.४ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा चीनबाट भएको आयात १५.५ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकको क्रमशः २.९ र १.२ प्रतिशतले घटेको छ। गत वर्ष वस्तुगत आधारमा मुख्यतया यातायातका साधन तथा पार्टपुर्जा, सुन, औषधि, रासायनिक मल, दूर सञ्चारका उपकरण तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ। पेट्रोलियम पदार्थ, चाँदी, एमएस बिलेट, सुपारी, कच्चा पाम तेल लगायत वस्तुको आयात घटेको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा निर्यात–आयात अनुपात ९.१ प्रतिशत अर्थात निर्यातको आकारको तुलनामा आयातको आकार करिब ११ गुणा ठूलो रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ११ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७३ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App