coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

विकासले फेरिएको पश्चिम चितवन

दश वर्षपछि अष्ट्रेलियाबाट घर आएका पश्चिम चितवनको रामपुरका विष्णु अधिकारीलाई यहाँको सडक सञ्जाल देखेर अनौठो लाग्यो। हिँड्नुपर्ने अधिकांश सडक कालोपत्र देखेपछि उनी दङ्ग भए। रामपुरबाट गोलाघाट, शिवघाट, पटिहानी, भरतपुर जहाँ जाँदा पनि कालोपत्र सडक छोड्न नपरेको उनले बताए।अधिकारी यसअघि अष्ट्रेलियाबाट आउँदा सडकमा ठूला–ठूला खाल्डा पर्दा बसबाट झरेर बस खाल्डो कटाएरमात्रै फेरि बस चढेको उनलाई अनुभव छ।

 भरतपुरबाट मेघौली जाने सडकका ठाउँ–ठाउँमा ठूला–ठूला खाल्डा पर्दा पाँच वर्षअघिसम्म यो सडक यात्रा गर्नेहरू ठाउँ–ठाउँमा झर्नुपर्ने बाध्यता थियो। अहिले यो सडक पार गर्दैगर्दा आपूm कुन सडकमा छु भन्ने आभास नहुने गरी फराकिलो कालोपत्र सडक बनेको छ।

 सडक सञ्जालमात्रै होइन, खानेपानी, पर्यटन, सिँचाइ, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ। झण्डै २० वर्षपछि यो क्षेत्रले जनप्रतिनिधि पाएसँगै विकासको लहर आएको हो। सोही क्षेत्रबाट यसअघि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल  निर्वाचित भएका थिए। त्यसो त भरतपुर महानगरपालिकामा प्रमुखमा रेनु दाहाल आएसँगै उनको विकासमा ध्यान पश्चिम चितवनमा केन्द्रित भएको हो।

 नेपाली कांग्रेसका नेता गुञ्जनगर निवासी विष्णु ढकाल विगत पाँच वर्षमा पश्चिम चितवनमा विकासका धेरै काम भएको बताउँछन्। उनले स्मरण गर्दै भने, ‘गञ्जसिंह गुरुङको घरदेखि तल मेघौलीसम्मको बाटो हिँड्दा निकै दुःख हुने गथ्र्यो।’ ढकालकै नेतृत्वमा सडक निर्माणका लागि धेरैपटक डिभिजन सडक कार्यालयमा डेलिगेसन गएको उनले स्मरण गरे।

ढकालको भनाइमा सडकसँगै वडा–वडामा भूमिगत जलसिँचाइ भएका छन्। सबैजसो वडामा खानेपानी पुगेको छ। पटिहानी, मेघौली, रानीपोखरी, लक्ष्मीनारायण मन्दिर, राइनो कुञ्ज, गोलाघाट, राइनो पार्कलगायतका धेरै ठाउँ पर्यटकीय गन्तव्य बनेको ढकाल बताउँछन्।

 यससँगै नदी किनारमा बस्नेहरूका लागि सधैँ जोखिम बनेको नारायणी नदी तटबन्धनको काम धमाधम भइरहँदा स्थानीयवासीले सुरक्षित बनेको महसुस गरेका छन्। नदी किनारलाई पर्यटकीय मार्गको रूपमा विकास गरिँदै छ। तत्कालीन गुञ्जनगर गाउँ विकास समितिका उपाध्यक्षसमेत रहेका ढकाल विद्यालयको भौतिक पूर्वाधार बढेको र स्कुल बसले टाढाका विद्यार्थी सहजै विद्यालय पुगेको बताउँछन्। ढकालले भने, ‘महानगरपालिकामा प्रमुख दाहाल आएपछि पश्चिम चितवनले विकासको फड्को मारेको छ।’

नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओम लामिछाने पछिल्लो समय विकासका धेरै काम भएको बताउँछन्। ग्रामीण क्षेत्रमा बनेका सडक सञ्जालले स्थानीयलाई राहत दिएको उनको बुझाइ छ। पछाडि परेको यस क्षेत्र लामो समयपछि आएका जनप्रतिनिधिका कारण विकास भएको उनी बताउँछन्। प्रधानमन्त्री दाहालले यसअघि यहाँबाट निर्वाचित भएपछिका सभाहरूमा बोल्ने क्रममा भरतपुरलाई नेपालकै नमूना महानगरको रूपमा विकास गरेर यसलाई देशव्यापीरूपमा चिनाउने र अभियानलाई विस्तार गर्ने बताउने गरेका थिए।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरमा जनप्रतिनिधि आएसँगै विकासका दृष्ट्रिले आमूल परिवर्तन ल्याउन सकिएको बताए। पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा अपेक्षाकृत काम भएको उनले  बताए। उनले भने, ‘विगत पाँच वर्षको अवधिमा पश्चिम चितवनले मुहार फेर्न सफल भएको छ।’ आम नागरिकलाई प्रत्याभूत हुने गरी काम भएको उनले बताए।  

 भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आफू निर्वाचित भएर आएपछि ६ सय ११ किलोमिटर सडक कालोपत्र गरेको बताउँछिन्। दोस्रो कार्यकालमा भारी मतले विजयी भएकी दाहालले  नारायणी नदी तटबन्धनका लागि अर्बौँको काम भइरहेको भन्दै यसले नदी नियन्त्रणसँगै तटीय क्षेत्रको सुन्दरता बढ्ने गरी काम हुने जानकारी दिइन। उनले भनीन, ‘नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्गका रूपमा विकास गरिँदै छ।’

महानगरमा  चार अर्बभन्दा बढीको खानेपानी योजना केही सम्पन्न भएको र केही अन्तिम चरणमा पुगेको छ। उनले भनिन, ‘सबै वडामा स्वच्छ पिउने पानी पु¥याउँदै छौँ।’ पश्चिम चितवनका सुक्खा क्षेत्रका अधिकांश भागमा भूमिगत सिँचाइ प्रणालीमार्फत सिँचाइको काम गरिएको उनले जानकारी दिइन्। यसले पश्चिम चितवनलाई हराभरा बनाएको तरकारी, तेलहन र खाद्यान्न बालीको उत्पादन वृद्धि भएको उनको  भनाइ छ।

विद्यालयलाई भौतिक संरचनाले पूर्ण बनाउँदै टाढाबाट विद्यार्थी ल्याउन बस उपलब्ध गराइएको छ।  यसले समग्र विद्यालयको शैक्षिक गुणस्तर बढेको उनको भनाइ छ। महानगरका पर्यटकीय गन्तव्यलाई सङ्घ र प्रदेशका महत्वपूर्ण गन्तव्यमा सूचीकरण गराई यसको पूर्वाधार विकास गराइएको उनले जानकारी दिइन्। आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ। शिवनगर र शारदानगर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाइएको छ।

विभिन्न वडामा सेवा केन्द्र विस्तार गरी महानगरवासीलाई सहजीकरण गरिएको छ। पश्चिम चितवनलाई पर्यटन केन्द्रका रूपमा विकास गरिएको छ। चौबीसकोठी–गोलाघाट सडकलाई सहायक राजमार्गका रूपमा सूचीकृत गरिएको छ। हुलाकी सडकलाई स्तरोन्नति गरिएको छ। मेघौली विमानस्थल स्तरोन्नति गरी नियमित सञ्चालन गर्ने तयारी गरिएको छ। बजारी क्षेत्रमा स्मार्ट लाइट जडान गरी उज्यालो भरतपुर अभियान अगाडि बढाइएको छ। कुलो मर्मत गरिएको छ। रामपुरमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक इञ्जीनियरिङ कलेज सञ्चालनमा ल्याइएको छ।

प्रकाशित: ११ माघ २०७९ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App