२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘वर्डफ्लु’ पीडित किसान भन्छन्: अझै राहत पाइएन

गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामिरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो।

खोरका विभिन्न उमेरका एक लाख १४ हजार छ सय ८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार पाँच सय किलो दाना, ५२ हजार क्रेटसँगै औषधि लगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो।

सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राखे। उनको हिसाबमा सरकारले राहतवापत आठ करोड रुपैयाँ हाराहारी दिनुपर्ने हुन्छ। त्यहीअनुसार खोरमा उनले एक लाख २२ हजार कुखुरा राखे। केही ऋण बैंकले थप्यो। केही सरसापट चलाउँदै अघि बढे। अझैसम्म पनि राहत रकम नआएपछि बैंक र तिर्नुपर्ने ठाउँको दबाब थेग्न नसक्ने भएको छ। कुखुरा बचाउन हारगुहार गरेर ल्याइएका दाना, औषधि लगायतको रकम तिर्न उनले सकेका छैनन्। उनले भने, ‘मजदुर, बिजुली, पानी आदिका खर्च धान्न मुस्किल हुँदै गएको छ।’

विस्थापनको अवस्थामा पुगेका व्यवसायी अर्यालले पेसा जोगाउन गरेको मेहेनतमा सरकारले सहयोग नगरेको उनको गुनासो छ। उनले भने, ‘राज्यले हामीलाई नहेर्दा हामी निकै पीडित छौं।’ बर्डफ्लुका कारण सबैभन्दा बढी लेयर्सपालक कृषक प्रभावित बनेका छन्।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोख्रेल सरकारले तत्काल राहत नदिए ती कृषकहरू विस्थापित हुने अवस्थामा पुगेको बताउँछन्। उनले भने, ‘कयौं कृषकको खोर खाली छ। बैंकमा ऋण तिर्न नसक्दा कालोसूचीमा निस्कने अवस्थामा पुगेको छ।’

खोरमा कुखुरा राखेकाहरूले पनि बचाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ। बर्डफ्लुबाट धेरै लेयर्स कुखुरापालक कृषक प्रभावित भएको जनाउँदै उनले यो व्यवसाय बचाउन तत्काल सरकारको ध्यान जानुपर्ने बताए।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले सरकारले नहेरे आउँदो वैशाखपछि व्यवसाय नै धराप भएर जाने बताए। उनले भने, ‘नेपालमा अब कुखुरापालन व्यवसाय आत्मनिर्भर हुन नसक्ने अवस्थामा पुगेको छ।’

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले गत साउन २६ गते क्षतिको विवरण पशु सेवा विभागमा पठाएको भए पनि पीडित कृषकले अहिलेसम्म राहत पाउन नसकेका हुन्।

कार्यालयका अनुसार २०७८ साल कात्तिक १२ गतेदेखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको थियो। बर्डफ्लुका कारण ४७ कृषकले पालेका पक्षी नष्ट गरिएको थियो। यसका कारण तीन लाख ७२ हजार छ सय १२ पक्षी नष्ट गरिएको हो। बर्डफ्लुका कारण सबैभन्दा धेरै लेयर्स कुखुरा प्रभावित भएको कार्यालयका सूचना अधिकारी डा.प्रभात न्यौपानेले बताए। उनका अनुसार विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार एक सय ११  नष्ट गरिएको थियो।

यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, ब्रोइलर आठ सय ९६, टर्की पाँच सय नष्ट गरिएको थियो। लोकल कुखुरा एक सय ३२, हाँस ३६, बट्टाई आठवटा नष्ट गरिएको न्यौपानेले बताए। सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार पाँच सय ६४, क्रेट एक लाख २८ हजार नौ सय २० वटा नष्ट गरिएको थियो। दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा छ हजार तीन सय, हाँसको अण्डा २०, अण्डा राख्ने कार्टुन दुई हजार पाँच सय, डाला छ सय ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको न्यौपानेले बताए।

बर्डफ्लुका कारण चितवनमा मात्रै ४५ करोड रुपैयाँ हाराहारीको क्षति भएको अनुमान गरी विभागमा सिफारिस गरिएको छ। उनले भने, ‘संख्या र उमेर अनुसार क्षतिको मूल्यांकन गरी पठाइएको छ।’ राहत आउन ढिला हुनुको कारण आफूहरूलाई समेत जानकारी नभएको उनले बताए।

पशु सेवा विभागकी महानिर्देशक डा सम्झनाकुमारी काफ्ले पाण्डेले आफूहरूले अर्थमन्त्रालयमा बजेट सुनिश्चितताका लागि पठाइएको बताइन्। उनले भनिन्, ‘सरकार फेरबदलका कारण केही ढिलाइ भएको हो। हामी यस विषयमा लागिरहेका छौं।’

देशभरका १५ जिल्लामा बर्डफ्लुको समस्या देखिएको बताउँदै उनले कृषकलाई क्षतिको ७५ प्रतिशत राहत दिने व्यवस्था भएको बताइन्। यसका लागि अर्थ मन्त्रालयले ५८ करोड रुपैयाँ बढीको रकमका लागि सुनिश्चित गर्नुपर्ने भएकाले केही ढिला भएको उनको भनाइ छ। आफूहरूले राहतका लागि सो रकम सिफारिस गरिसकेको उनले बताइनन्। रासस

प्रकाशित: १० माघ २०७९ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App