४ वैशाख २०८१ मंगलबार
अर्थ

पर्यटन मन्त्रीको निर्देशन-‘महिना दिनभित्र ई-टिकटको व्यवस्था गर्नू’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई महिनाभित्र ग्राहकलाई अनलाईन टिकटको व्यवस्था गरिसक्न निर्देशन दिएका छन्। नवनियुक्त पर्यटन मन्त्रीसहितको समूहलाई निगममा स्वागत गर्ने क्रममा बोल्दै मन्त्री किराँतीले त्यस्तो निर्देशन दिएका हुन्।

सोही क्रममा मन्त्री किराँतीले राष्ट्रिय ध्वजावाहक नेपालको गौरव भएको बताउँदै निगमले परिणामजनक काम गर्नुको विकल्प नभएको बताएका छन्। उनले मन्त्रालयको अहिलेको समूह एकदमै ऊर्जावान र सक्रिय रहेको बताउँदै राष्ट्रिय ध्वजावाहकको विकासको लागि मन्त्रालयबाट नीतिगत समस्याहरूमा कुनै पनि अवरोधहरू नआउने स्पष्ट पारेका छन्।

यस्तै उनले निगमको आर्थिक लेखाजोखाको मासिक विवरण तथा व्यावसायिक योजना मन्त्रालयमा पठाउन समेत निर्देशन दिएका छन्। राष्ट्रिय ध्वजाबाहकको विकास र समृद्धिको लागि आफू तयार रहेको बताउँदै उनले भने ‘म काम गर्न आएको हो। मलाई काम गरेर परिणम चाहिन्छ, त्यसको लागि निगमको आर्थिक स्थितिको मासिक विवरण र व्यावसायिक योजनाका खाका मन्त्रालयमा आउनुपर्‍यो।’

यसका साथै उनले निगममा कार्यरत करार र ज्यालादारी कर्मचारीहरूको सम्पूर्ण विवरणको माग गरेका छन्। मन्त्री किराँतीले निगम भर्ती केन्द्र नभएको उल्लेख गर्दै भने ‘निगम भर्ती केन्द्र हैन यसको विकासको लागि आवश्यक यहाँको करार र ज्यालादारी कर्मचारीको विवरण कति छ त्यो मलाई चाहियो। अब आवश्यक कर्मचारीको अध्ययन हुन्छ।’

उनले राष्ट्रिय ध्वजावाहकले जनताको सुविधालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै लगेज व्यवस्थापन तथा समयमा उडान नहुने समस्या तत्काल सम्बोधन गर्नुपर्ने बताए। मन्त्री किराँतीले आजसम्म कसले केके गरे भन्ने भन्दा पनि अब जनाताले चाहे अनुरूपको काम गरिने प्रतिवद्धता व्यक्त गरे।

उनले जिम्मेवारीमा बसेका कसैलाई पनि असफल हुने छुट नभएको बताउँदै अन्य एयरक्राफ्टहरू नाफामा हुँदा राष्ट्रिय ध्वजावाहक भने समस्याग्रस्त हुनु दुखद भएको बताए। उनले मुलुकको गौरवपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर बस्न नसक्ने उल्लेख गर्दै कानुनको परिधिभित्र रहेर काम गर्ने बताए।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले निगमको विकासको लागि आवश्यक कुराहरूलाई रणनीति बनाएर काम गर्नुपर्ने बताएका छन्। उनले संस्थामा समस्या र चुनैती भए पनि सम्भावना उत्तिकै रहेको बताउँदै यसको सुधार र विकासको लागि सबै मिलेर काम गर्नुपर्ने बताइन्।

मन्त्रालयका सचिब सुरेश अधिकारीले निगममा व्यवस्थापकीय सुधार आवश्यक रहेको औंल्याएका छन्। उनले आन्तरिक तर्फको उडानका लागि राष्ट्रिय ध्वजाबाहकको माग अत्यधिक भएको उल्लेख गर्दै निगमले यसका लागि व्यावसायिक योजना बनाएर मन्त्रालयमा पेश गर्न सुझाएका छन्।

यस्तै सचिव अधिकारीले निगमले बाइडबडी जहाजको लागि नयाँ गन्तव्यको पहिचान गरी उडान गर्नुपर्ने जिम्मेवारी भएको बताए। साथै उनले विमानस्थलको ग्राउण्ड हेण्डलिङको अरू कसैलाई दिने भन्ने विषयमा मन्त्रालयमा कहिल्यै पनि छलफल नभएको प्रष्ट पार्दै यससम्बन्धी बाहिर आएको कुनै पनि कुराले महत्व नराख्ने बताए।

उनले ग्राउण्ड हेण्डलिङ महत्वपूर्ण पक्ष भए तापनी राष्ट्रिय ध्वजाबाहकले जहाज उडाउने पक्ष त्योभन्दा महत्वपूर्ण र प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

निगमको आन्तरिकतर्फको उडानका लागि अत्यधिक माग भएका कारण एयरक्रफ्ट थप्नुपर्ने बताएका छन्। उनले निगमले २/४ वटा जहाज किन्न सक्षम भएका कारण यसका लागि मन्त्रालय र सञ्चालक समितिले सहकार्य गरिदिन आग्रह गरेका छन्।  

प्रकाशित: १० माघ २०७९ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App