१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद

 नेपालीले गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद गर्ने गरेको आशंका भैरहेका बेला नेपालीलाई लक्षित गरी काठमाडौंमा ‘दुबई घरजग्गा मेला’ सञ्चालन गरिएको छ। मेला आयोजना गरिनुले विदेशमा नेपालीहरूले घरजग्गा किनेको आशंकालाई बल पुगेको छ।

नेपालीलाई लक्षित गरी काठमाडौंको होटल सोल्टीमा शनिबार र आइतबार सञ्चालन गरिएको ‘दुबई प्रपर्टी सो’मा ठूला व्यापारिक घरानाका उद्योगीले अवलोकन गरेका थिए। नेपालमा बस्ने नेपाली नागरिकले विदेशमा अचल सम्पत्तिमा लगानी गर्न नपाउने कानुनी व्यवस्था भए पनि गैरकानुनी रूपमा विदेशमा सम्पत्ति किन्ने गरेका छन्।

नेपालबाट रकम विदेशिएको आशंकामा नेपाल राष्ट्र बैंकले सूचना नै प्रकाशित गरेर विदेशमा लगानी प्रतिबन्ध गरिएको जनाएको छ। राष्ट्र बैंकले ‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार र सो सम्बन्धी प्रचार-प्रसार गर्न समेत रोक लगाएको छ।

राष्ट्र बैंकले बेलाबेला सार्वजनिक सूचना जारी गर्दै त्यसो गरिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने’ बारे सचेत गराउँदै आएको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ। सोही ऐनको दफा ९ (ग) ले नेपाल राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिमबाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ।

‘दुबई प्रपर्टी सो’ सञ्चालन गर्ने पक्राउ

काठमाडौंको होटल सोल्टीमा ‘दुबई प्रपर्टी सो’ सञ्चालन गर्ने पाँचजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली नागरिकलाई लक्षित गरेर दुबईमा घरजग्गा तथा फ्ल्याटमा लगानी गर्न उत्प्रेरित गर्ने उद्देश्यले गैरकानुनी कार्य गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरी बृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक(डिएसपी) अनिल घिमिरेको नेतृत्वको टोलीले पक्राउ गरेको हो। ‘सोल्टीमा दुई दिनदेखि कार्यक्रम चलिरहेको रहेछ। सो आयोजना गर्ने भन्दै नेपालका कुनै आधिकारिक निकायबाट पनि अनुमति लिइएको पाइएन,’ डिएसपी घिमिरेले भने, ‘त्यसपछि आयोजक पाँचजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएका छौं। बाँकी त्यसको वैधता र कानुनी पक्षबारे अनुसन्धान गर्छौं।’ नेपाली नागरिकलाई दुबईमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरेको पाइएको उनले बताए।

डिएसपी घिमिरेका अनुसार उक्त समूहले विगतका वर्षमा पनि नेपालमा ‘दुबई प्रपर्टी सो’ चलाएका थिए। ‘पहिले पनि एक-दुई वर्ष चलाएका रहेछन्,’ डिएसपी घिमिरेले भने। कार्यक्रममा दुबईमा निर्मित घरजग्गा, फ्लाट लगायतको प्रचार प्रसार गरिँदै थियो। ‘द म्याक’ नामक कम्पनीले दुई दिनका लागि यो कार्यक्रम आयोजना गरेको हो।

प्रकाशित: ९ माघ २०७९ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App