७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

खस्कँदै रेसम खेती: महिलामैत्री बनाउन सके नाफैनाफा

नुवाकोट म्यागङ गाउँपालिका–२ लामीडाँडाकी पृथीमाया तामाङ रेसम किरा पाल्न बनाइएको ठाउँ देखाउँदै। तस्बिर: भाषा/नागरिक

यस वर्ष भदौमा लगातार तीन दिन झरी पर्दा नुवाकोट म्यागङ गाउँपालिका–२ लामीडाँडाकी पृथीमाया तामाङले पालेका रेसम किरा मरे। लगातारको झरीले घरभित्र पालेका रेसम किरा खान नपाउँदा मरेका हुन्। कोया (कोकुन) बनाउन ठिक्क परेका रेसम किरा लगातारको झरीकै कारण बारीमा रोपेको किम्बुका पात खान नपाउँदा मरेका थिए।  

बैमौसमी झरीसँगै विगतभन्दा यस वर्ष केही छिटो चिसो मौसम सुरु भयो। यसको असर रेसम किरामा पनि पर्‍यो। पृथीमायाले अब रेसम किरा पाल्न चैत महिना कुरेर बसेकी छिन्।  

महिलामैत्री मानिएको रेसम खेती नेपालमा खस्कँदो अवस्थामा छ। निश्चित तापक्रममा हुने रेसम खेती बेमौसममा पर्ने असिना, पानी अनि समयभन्दा अगाडि नै सुरु हुने चिसोका कारण प्रभावित भएको छ। रेसम किरा निश्चित तापक्रममा पाल्नुपर्छ। यसका लागि २५ डिग्र्री सेल्सियसदेखि ३० डिग्रीसम्मको तापक्रम र ७० देखि ८० प्रतिशतसम्मको आद्र्रता उपयुक्त हुन्छ। रेसम किराको मुख्य खानेकुरा किम्बु पाखो जमिनमा रोप्ने गरिन्छ। किम्बुको बगैंचा बनाएर यसको खेती गरिन्छ। रेसम किराले किम्बुको पातबाहेक अरू केही पनि खाँदैन। किम्बु नभए रेसम खेती गर्न सकिँदैन।  

बेमौसममा पर्ने असिनापानीले पनि किम्बुको पात नष्ट गरिदिन्छ। पहिलो, दोस्रो गर्दै पाँचौं अवस्थासम्म पुगेपछि रेसम किराले धागोका लागि कच्चा पदार्थ कोकुन निकाल्छन्। किरालाई लार्भा, प्युपा हुँदै पाँचौं अवस्थासम्म किम्बुको कलिलो पात खुवाउनुपर्छ। पाँचौं अवस्थामा कोकुन बनाउन ठिक्क परेका किरा खन्चुवा हुन्छन्। आफैंले हुर्काएको किम्बुको बगैंचा देखाउँदै पृथीमायाले १६ वर्षदेखि रेसम किराको खेती गरिरहेको बताइन्। उनी गाउँमा रेसम किसान समूहकी अध्यक्ष पनि हुन्।  

पृथीमायाकी छिमेकी रन्जना तामाङको पनि कोकुन निकाल्न ठिक्क परेका रेसम किरा मरे। एकपटकमा तीन बाकस रेसम किरा पाल्ने गरेकी उनलाई यसपटक किरा मरेपछि घाटा लाग्यो। एक बाकसमा २० हजार रेसम किरा हुन्छन्। रन्जनाले किरालाई छुट्टै घर बनाएर पाल्ने गरेकी छन्।  

नुवाकोट लामीडाँडाका रेसम किसान समूहका महिलाले किरा मरेकै कारण बिस्तारै पाल्न छोड्दै गएका छन्। रेसम किरा मर्न थालेपछि किसान अन्य खेतीतर्फ आकर्षित हुनुपर्ने बाध्यता आएको छ।  

पानी लगातार प¥यो भने रेसम किरालाई ‘फंगल डिजिज’ (ढुसीबाट आउने रोग) ले सताउने केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. नरहरिप्रसाद घिमिरेले बताए। रेसम खेती विज्ञसमेत रहेका घिमिरेले किम्बु खेतीले जलवायु परिवर्तनको असरसँग लडेर वातावरणलाई फाइदा पुर्‍याउने पनि बताए। ‘रेसम किरालाई खुवाउने किम्बुले हरियाली बढाउँछ। कार्बन उत्सर्जनलाई घटाउन मद्दत पुग्छ,’ उनले भने, ‘रेसम खेती गर्न सकेमा वातावरणमा पनि फाइदा पुग्छ। वातावरण परिवर्तनको असरले रेसम खेतीमा पनि असर पुगेको छ।’ जलवायु परिवर्तनको असर हिसाब गर्न नसकिने कृषिविज्ञ घिमिरेको भनाइ छ। ‘यो वर्ष वैशाखबाट पानी पर्न थालेको थियो, भदौसम्म नै पर्‍यो,’ उनले भने, ‘किम्बुको चिसो पातले पनि किरामा रोग निम्त्याउँछ।’

कोकुन बेचेर आएको पैसाले पृथीमायाले घर खर्च चलाउँदै आएकी छन्। उनले पतिसँग पैसा माग्नुपर्दैन। प्रौढ कक्षा मात्रै पढेकी उनले रेसम किरा पाल्न धेरै पढ्न नपर्ने र सजिलो हुने बताइन्। ‘पढ्ने बेलामा स्कुल भन्ने त सुनेकी थिएँ। बुबाआमाले गोठालो पठाउनुहुन्थ्यो। बाख्रा चराउँदै ठिक्क भयो,’ पृथीमायाले भनिन्, ‘एक महिनामा कुखुरा, बाख्रा पालेर पनि केही आउँदैन। तरकारी खेती लगाएर पनि पैसा आइहाल्दैन। रेसम किराले एक महिनामा पैसा दिन्छ। दुःख त हुन्छ, मेहनत त लाग्छ। तर पैसा छिटोछिटो आउँछ।’

रेसम खेती महिलाका लागि अवसर भएको कृषिविज्ञ घिमिरेले बताए। ‘कोकुन उत्पादन गर्ने, कोयाबाट धागो निकाल्ने, चर्खाको काम घरमै बसेर गर्न सक्ने भएकाले यो खेती महिलामैत्री हो,’ घिमिरेले भने, ‘यो सहज कामभित्र पर्ने भएकाले महिलालाई आयआर्जनका लागि सहयोग पुग्छ। यो खेतीको विस्तार गर्न सके नाफैनाफा हुन्छ।’  

सरकारले बाली बिमाको व्यवस्था गर्न सके किसान यो खेतीतर्फ थप आकर्षित हुने उनले बताए। तर, बाली बिमाको व्यवस्था छैन। रेसम किराको खेती देशको आर्थिक समृद्धिसँग जोडिएको उनी बताउँछन्।

पृथीमायाले गाउँका अरू महिलालाई पनि रेसम किरा पाल्न प्रोत्साहन गरिरहन्छिन्। ३५ दिने तालिम लिएकी उनी किम्बुको गोडमेल, काँटछाँट आफैं गर्छिन्। उनले अरूले पालेको देखेर १६ वर्षअघि नाङ्लोबाट पाल्न सुरु गरेकी थिइन्। उनले भनिन्, ‘त्यतिबेला १५ सय रूपैयाँ आम्दानी गरेकी थिएँ।’ त्यसबेला अहिले जसरी किरा मरेका थिएनन्। ‘पाँच हजार किम्बुको बिरुवा रोपेर आधा बाकसबाट रेसम किरा पाल्न सुरु गरें। किम्बु पनि बढ्दै गयो। किरा पनि थपिँदै गए। त्यसपछि नर्सरी पनि राखें,’ पृथीमायाले भनिन्। किसान समूहका साथीलाई पनि किम्बुको हाँगा रोप्न उनले सुझाइन्।

रेसम किसान समूहले मासिक पैसा पनि बचत गरेका छन्। प्रतिव्यक्ति मासिक पाँच सय रूपैयाँ उठाएर महिला आफैंले ब्याजमा पालैपालो चलाउने गरेका छन्। बाख्रापालन, कुखुरापालनका लागि पनि उनीहरूले समूहबाट पैसा लैजाने गरेका छन्।

रेसम किरा मरेपछि सरकारले केही सहयोग गरिदिए हुन्थ्यो भन्ने पृथ्वीमायाको आशा छ। ‘समस्या परेका बेलामा सरकारले थोरै भए पनि सहयोग गरे हामीलाई राम्रो हुन्थ्यो, उत्साह जाग्थ्यो। स्थानीय सरकारसमक्ष त सहयोगका लागि प्रस्ताव राखेको हो, तर केही भएन। कोरोना कालमा रेसम उत्पादन भएर पनि बजारमा पु¥याउन सकिएन। स्थानीय सरकारले समस्या हेर्छु पनि भन्दैन, हेर्दैन पनि भन्दैन। किरा मरेका बेलामा थोरै भए पनि सहयोग गरे राम्रो हुन्थ्यो नि,’ उनले भनिन्।

सरकार रेसम खेतीका लागि नीतिमा मात्र सीमित छ। रेसम किरा पाल्ने किसान घट्नै जानु र कोकुनको मूल्य पनि नबढ्नुले किसान थप मर्कामा परेका छन्। सरकारले १६ वर्षअघिदेखि नै कोकुनको मूल्य प्रतिकिलो तीन सय ७५ रूपैयाँ तोकेको थियो। त्यतिबेला तोकेको मूल्य अहिलेसम्म कायम छ। ‘अरू सबै चीजको मूल्य बढ्ने तर रेसम कोकुनको मूल्य नबढ्दा यो खेतीप्रति आकर्षण बढ्न नसकेको हो। साथीहरू पनि यसै भन्छन्,’ पृथ्वीमायाले भनिन्। सिधै व्यवसायीलाई बेच्दा किसानले कोकुनको प्रतिकिलो ५ सय रूपैयाँ पाउने गरेका छन्।

घट्यो रेसम खेती  

नेपालमा रेसम धागोको माग बढ्दो भए पनि रेसम खेतीप्रति किसानको आकर्षण घट्दो छ। रेसम किरा पाल्नेले बदलिँदो वातावरण, सहज बजारजस्ता अनेकन समस्या झेल्नुपरेको छ।

रेसम किराबाट निस्कने कोकुनबाट धागो निकालेर बेच्न सकिन्छ। यो महिलाले गाउँघरमै गर्न सक्ने खेती हो। यसबाट महिलाले मनग्गे आम्दानी गर्न सक्छन्। तर अन्य खेतीको तुलनामा रेसम खेतीप्रति महिलाको आकर्षण बढ्न सकेको छैन। जसले गर्दा रेसमको माग र आपूर्तिको खाडल बढ्दै गएको छ।

रेसम किराप्रति किसानको आकर्षण घट्दै गइरहेको रेसम विकास केन्द्र, खोपासी काभ्रेका सूचना अधिकारी विनोद लामिछाने बताउँछन्। खोपासीबाट रेशम किराका अन्डा उत्पादन गरेर किसानलाई पु¥याउने गरिएको छ। लामिछानेका अनुसार एक सिजनका लागि खोपासीमा ३५ सय बाकस (एक बाकसमा २० हजार किरा) रेसम किराको अन्डा उत्पादन हुन्छ। तर किसान पाल्न इच्छुक नहुँदा केन्द्रमा एक सिजनमा १५ सय बाकससम्म रेसम किराको अन्डा खेर जाने गरेको छ।  

रेसम खेती महिलाका लागि सहज हुने कामका रूपमा लिइन्छ। नेपाल सरकारले पनि रेसम किरा पाल्न महिलालाई विशेष अनुदान दिने गरेको छ। सरकारले सुरुमा घर बनाउँदा अनुदान दिए पनि अनेक कारणले किरा मरेपछि भने किसानलाई क्षतिपूर्ति दिन सकेको छैन। पृथीमायालगायतका किसानले किरा मरेपछि अनुदान पाउन नसकेको बताए।  

किम्बुको पात टिप्ने, रेसम किरालाई खुवाउने, कोया (कोकुन) निकालेपछि धागो बनाउने प्रक्रिया महिलाले सजिलै घरमै बसेर गर्न सक्ने काम हो। तर ‘सेतो सुन’ का रूपमा चिनिने रेसम खेतीमा सरकारले महिलासहितका किसानलाई आकर्षित गर्न सकेको छैन। माग ज्यादा भएको रेसमको आपूर्ति निकै कम छ। कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा किसानस्तरबाट तीन सय ७० हेक्टर जमिनमा किम्बु खेती गरिएको छ। कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा किसानस्तरबाट तीन सय ७० हेक्टर जमिनमा किम्बु खेती गरिएको छ। त्यसबाट अधिकतम २० मेट्रिक टन रेसम कोया (कोकुन) र दुई मेट्रिक टन कच्चा रेसम धागो उत्पादन हुन्छ। नेपालमा २०५०/५१ सालतिर ७० देखि ७१ टनसम्म धागो उत्पादन भएको तथ्यांक छ।

महिलालाई प्रोत्साहन  

राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गत सरकारले महिलाका लागि सहकारी खेतीअन्तर्गत रेशम खेतीलाई समेटेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७७ सालमा बनाएको जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्डमा बनाएको छ। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जीविकोपार्जन सुधार कार्यक्रममार्फत मानव विकास सूचकांकमा पछाडि परेका जिल्लाका विपन्न एवं एकल महिलालाई सिप, क्षमता र योग्यताका आधारमा रोजगारीमा प्राथमिकता दिने र उनीहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउने लक्ष्य राखिएको छ।  

त्यसैगरी ‘व्यावसायिक कीट विकास कार्यक्रम २०७६’ अनुसार किम्बु खेती विस्तार कार्यक्रमलाई जोड दिइएको छ। जसअन्तर्गत तोकिएको क्षेत्रमा रेसम किरा पाल्न किम्बु बिरुवा रोप्ने, व्यक्ति वा समूहमा पाँच हेक्टर क्षेत्रमा किम्बुका बिरुवा लगाउने, रेसम किराको घर निर्माणलाई प्राथमिकता दिने कार्यक्रम राखिएको छ। सरकारले किम्बु खेती गर्ने उद्यमी व्यवसायी, रेसम कोया संकलन गरी धागो उत्पादन, कपडा उत्पादनमा सरिक, युवा तथा महिला उद्यमीलाई प्राथमिकता दिने भने पनि व्यवहारमा त्यस्तो पाइएको छैन।

रेसम खेतीमा महिला आकर्षण बढाउन ‘नन रिलेबल’ कोकुनबाट कतुवा धागो निकाल्न ५० प्रतिशत अनुदानमा महिला समूहलाई चर्खा उपलब्ध गराउने नीति पनि सरकारले लिएको छ। महिला समूहद्वारा कोयाबाट रेसम धागो निकाल्न चाहेमा ५० प्रतिशत मूल्य कम गरी बिक्री गर्ने व्यवस्था मिलाउने नीति छ।  

रेसम नेपालका लागि एउटा आसलाग्दो खेती पनि हो। रेसम खेती विकास र विस्तारका लागि सरकारले महिलालाई मुख्य प्राथमिकतामा राखेर विशेष कार्यक्रम ल्याउन आवश्यक देखिन्छ। यसले महिलाले गाउँघरमै रोजगारीका साथ आम्दानी बढाउन मद्दत गर्छ। कृषि प्रणालीमा यो खेतीलाई व्यावसायिक रूपमा समावेश गरी राष्ट्रिय आयमा सहयोगी बनाउनु जरुरी देखिएको छ।

(यो आलेख युकेएआइडीको सहयोग प्राप्त ब्रिटिस काउन्सिलको ‘रोड टु कप’ अभियानअन्र्तगत जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदानको सहयोगमा तयार पारिएको हो।)

प्रकाशित: २३ पुस २०७९ ००:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App