coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पर्यटनको लगानीमा बढाएको हौसला

पोखराको सेदीमा बनिरहेको दोर्जेज रिसोर्ट एण्ड स्पा। फाइल तस्बिरः सन्तोष पोखरेल÷नागरिक

फेवाताल नजिकै सेदीमा दोर्जेज रिसोर्ट एण्ड स्पा बनाउँदै गरेका दोर्जे लामाले पूर्वाधारमा मात्र करिब ४० करोड रुपैयाँ खर्च गरिसकेका छन्। २३ कोठाको निकै नै सुविधासम्पन्न रिसोर्ट बनाइरहेका लामाले अबको केही महिनामा आन्तरिक तथा बाह्य पर्यटकका लागि आफुले बनाएको रिसोर्ट खुला गर्दैछन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएर अन्तर्राष्ट्रिय उडान हुने दिनको सुखद् प्रतिक्षामा लामा छन्।  

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने र पोखरालाई विभिन्न अन्तर्राष्ट्रिय सहरसम्म हवाई माध्यमबाट जोड्न सके पोखरामा अहिले भन्दा बढी संख्यामा विदेशी पाहुना आउनेमा लामा आशावादी छन्। विमानस्थल बन्दै गर्दा रिसोर्टमा लगानी सुरु गरेका उनले विमानस्थलकै कारणले पनि लगानी गर्न आफुलाई उत्साह जागेको बताए। विमानस्थलले पर्यटनका लागि नयाँ ढोका खोल्नेमा उनी ढुक्क छन्।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति म निकै आशावादी छु। पोखरामा अहिले कम संख्यामा विदेशी पाहुना छन। तर, अब अन्तर्राष्ट्रिय विमानस्थलले सिधै पाहुनालाई पोखरामा उतार्नेछ,’ लामाले भने, ‘जुन दिन पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडानबाट विदेशी पाहुना ओर्लनेछन, त्यो दिन म जस्ता व्यवसायीका लागि निकै नै महत्वपूर्ण हुनेछ।’ विमानस्थलकै कारणले लगानीमा उत्साह बढेको बताउँदै लामा भन्छन्, ‘पोखरालाई सिधै अन्तर्राष्ट्रिय सहरसम्म जोड्नका लागि विमानस्थलले ढोका खोल्दैछ। आशा गरौं, यो ढोका हुँदै पाहुनालाई सिधै पोखरामा स्वागत गर्न पाइनेछ।’

विमानस्थलबाट पाहुना भिœयाउनका लागि बाटो मात्र खुल्ने नभई पोखरालाई बजारीकरण गर्न पनि सहज हुने उनले बताए। अहिलेसम्म पोखरामा पाहुना बोलाउन जाँदा काठमाडौं हुँदै जानुपर्दथ्यो। पाहुना पनि राजधानी हुँदै भित्रिनुपरेको थियो। अब भने सिधै पोखरामा ओर्लिन सकिने गरि पाहुनालाई बोलाउन सकिने उनले बताए। ‘पोखराबाट भारतका विभिन्न सहर, थाइल्याण्ड, कतार, चीनका विभिन्न सहरसम्म सिधा उडान गर्न सके त्यो हाम्रा लागि निकै नै गर्वको कुरा हुनेछ,’ उनले भने,’ उनले भने, ‘विमानस्थलले पोखरामा पाहुना भिœयाउन त सघाउने छ नै अहिलेभन्दा बढी पाहुना पनि स्वागत गर्न पाउनेछौ।’ विमानस्थलका कारण पोखरामा पाहुनाको बसाई अवधि पनि बढ्ने उनको अनुमान छ।

अर्का व्यवसायी विश्वराज पौडेलले पनि हालैमात्र १५ कोठाको होटल सहित रेस्टुरेन्ट संचालनमा ल्याए। उनले हालै संचालनमा ल्याएको हिमालयन ग्लोरी होटल विमानस्थल निर्माण सुरु भएपछि बनाउन थालेका थिए। अघिल्लो महिना मात्र उनले पूर्वाधार तयार पारे। उनले त्यो होटलमा मात्र १२ करोड रुपैयाँ लगानी गरेका छन्।  

उनै पौडेलले अर्काे होटल पनि बनाइरहेका छन्। ५२ कोठाको टेम्पल बेल बुटिक होटलमा उनले ३५ करोड रुपैयाँ लगानी गर्दैछन्। विगत दुइवर्षदेखि बनिरहेको टेम्पल बेल बुटिक होटल निकै नै सुविधासम्पन्न हुनेछ। ‘विमानस्थल बनाएर मात्र हुँदैन, विदेशी पाहुना आउँदा त्यही अनुसारका होटल, रेस्टुरेन्ट लगायतका पूर्वाधार पनि आवश्यक पर्छ,’ पौडेलले भने, ‘विमानस्थल बनेपछि अहिले भन्दा पक्कै बढी पाहुना आउनेछन्। त्यसबाहेक महंगा पाहुना भिœयाउन पनि सहज हुनेछ। पाहुनाको बसाई अवधि पनि पक्कै बढ्नेछ।’

विमानस्थलकै कारण पनि लगानी बढाउनुपर्छ भनेर पूर्वाधार थपेको उनले बताए। ‘सात समुन्द्रपारका मुलुकसम्म सिधै जान नसकेपनि विदेशी मुलुकसम्म त सिधा उडान गर्न सकिन्छ। त्यसले पक्कै पनि पर्यटनमा नयाँ छलाङ मार्नेछ भन्नेमा हामी आशावादी छौ,’ उनले भने, ‘विमानस्थलले व्यवसायिक क्षेत्रमा लगानीको माहोल बनाएको हो।’ विमानस्थलले सबैतिर कनेक्टिभिटी बढाउन सघाउने उनले पनि बताए।  

लामा र पौडेल जस्ता धेरै पर्यटन व्यवसायीले पोखराको पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखराको यो विमानस्थलप्रति निकै नै आशावादी छन। बाराही समुहले अहिले ठुलो लगानीको पूर्वाधार बनाईरहेको छ। त्यसबाहेक यहाँ होटल र अपार्टमेन्टहरु पनि धमाधम थपिएका छन। अवस्था सहज हुँदै गएमा लगानी गर्न व्यवसायी तयार छन्।  

व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भिœयाउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।

‘व्यवसायी विमानस्थलप्रति निकै नै आशावादी छन। विमानस्थलका कारण लगानीको आकार बढिरहेको छ। केहीले पूर्णरुपमा नयाँ लगानी गरेका छन् भने कतिपयले पुरानै लगानीको आकारलाई बिस्तार गरिरहेका छन,’ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष नरेश भट्टराई भन्छन, ‘अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्याप्त पाहुना आउनेमा आशावादी छौ। व्यवसायी लगानीमा हौसिएका छन्। अन्तर्राष्ट्रिय उडान सुरु भएपछि अहिलेको पाहुनाको आकार बढ्नेमा हामी ढुक्क छौ।’ भट्टराई आफैले पनि अहिले माउन्ट कैलाश रिसोर्टमा लगानी थपिरहेका छन्।

कोरोना भाइरस संक्रमणले गर्दा पर्यटन क्षेत्र निकै नै खस्केको अवस्थामा पनि व्यवसायी पर्यटन क्षेत्रमा लगानी गर्न भने उत्साहि नै रहेको उनीहरुले बताएका छन्। सन् २०२० को सुरुवातदेखि नै पर्यटन क्षेत्रमा कोरोनाको मार पर्न थालेको थियो। त्यसपछिका करिब दुइवर्ष पोखरामा पर्यटक आगमन निकै नै खस्केको थियो। कुनै महिनाको आगमन त दुइअंकमा झरेको थियो। कोरोनाले निम्त्याएको त्यो निराशाबीच पनि व्यवसायीले लगानी गर्नुमा मुख्य कारण विमानस्थल निर्माण हुनु मुख्य रहेको उनले बताए।

‘धेरै पर्यटकले चाहेर पनि आउन सकेका थिएनन। कहिले मौसम त कहिले रात्रीकालिन उडान नहुँदा पोखरा घुम्न चाहेर पनि पर्यटक आउन सकेका थिएनन,’ अध्यक्ष भट्टराईले भने, ‘अब सबैखाले पर्यटकलाई पोखरा भित्रिन सहज हुनेछ। भोलि महंगा पर्यटक पनि चार्टर उडान गरेर पोखरा आउन सक्नेछन।’ पर्यटन बाहेक यहाँबाट सबैखाले उत्पादनलाई हामीले बजारीकरण गर्न सकेमा आर्थिक क्षेत्र उकासिने उनले बताए।  पोखरालाई अरु प्रदेशमा हवाई उडानमार्फत जोड्ने र कफि, सुन्तला, मह जस्ता उत्पादनलाई निर्यात गर्न सकेमा मुलुककै अर्थतन्त्र उकासिने उनले बताए।

पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गहना भएको बताउँछन्। उनका अनुसार पोखरामा हवाई र स्थल पहुँचमा निकै नै समस्या थियो। अब हवाई पहुँचको समस्या केही कम हुनेछ। स्थलमार्गको पहुँच बिस्तारमा पनि काम भईरहेकोले अबका केहीवर्षपछि पोखराको पर्यटन क्षेत्रमा अहिले भन्दा पनि सुखद समय आउने उनले बताए।  

‘अन्तर्राष्ट्रिय विमानस्थलका कारण अब पोखरा विश्वसँग झनै नजिकिएको छ। खर्च गर्न सक्ने पाहुना आफ्नै निजी जहाज लिएर पोखरा ओर्लिन सक्ने भएका छन,’ श्रेष्ठले भने,‘पर्यटन क्षेत्रका लागि यो निकै सुखद पक्ष हो। सडक पनि निर्माणाधिन रहेकोले सडकका पूर्वाधार तयार भएपछि आउजाउ अझै सहज हुनेछ।’

विमानस्थल नहुँदा पोखराले पर्यटन क्षेत्रको बजारीकरणमा समेत समस्या झेल्दै आएको थियो। अब त्यो समस्या कम हुने उनले बताए। ‘आफ्नै सहरमा अन्तर्राष्ट्रिय विमानस्थल छ र सिधै पोखरा ओर्लिन सकिन्छ भनेर अब हामीले बजारीकरण गर्नेछौ,’ उनले भने, ‘त्यसले गर्दा पोखरामा पाहुना आगमन हुनेमा विश्वस्त हुन सकिन्छ।’ नेपाल भित्रिएका विदेशी पाहुनाको करिब ४० प्रतिशत हिस्सा पोखरा आउने व्यवसायीको अनुमान रहेकोमा अब त्यो आकार अझै बढ्ने उनीहरुले बताएका छन्। पोखराको चालु विमानस्थलबाटै दिनमा ३८ सय जना भन्दा बढी यात्रु आएको तथ्यांक रहेकोमा त्यो आकार अब अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै बढ्ने व्यवसायीको अपेक्षा छ।  

प्रकाशित: १५ पुस २०७९ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App