अनुकुल मौसम, समयमा धान रोपाइँ लगायतका कारण यो वर्ष करिब सवा ९ अर्ब रूपैयाँको धान उत्पादन बढेको छ। पोहोरको तुलनामा चालु आव २०७९/८० मा ३५ लाख ५८ हजार ४ सय ७० क्विन्टल धान धेरै फलेको हो।
मध्यम धानको प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य ३ हजार १ सय २८ रुपियाँ रहेको छ। यसलाई आधार मानेर हिसाब गर्दा पोहोर भन्दा यो वर्ष ९ अर्ब २२ करोड रूपैयाँ धेरैको धान फलेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आव २०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान उत्पादन भएको छ। पोहोर ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो।
पोहोरको तुलनामा चालु आवमा धान उत्पादन ६.९४ प्रतिशत बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। सन्जेलका अनुसार पोहोरभन्दा यो वर्ष ३ लाख ५५ हजार ८ सय ४७ मेट्रिक टन धान धेरै फलेको हो। विदेशबाट चामल आयात भैरहेको अवस्थामा स्वदेशमै उत्पादन बढेपछि आयात प्रतिस्थापन हुने विश्वास लिइएको छ। यो वर्ष १ लाख ४४ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो। पोहोर भन्दा धान रोपाइँ कम भए पनि उत्पादन भने बढेको छ। पोहोर १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो।
समयमा रोपाइँ नहुँदा धान उत्पादन घट्न सक्ने अनुमान गरिएको भए पनि उत्पादन वृद्धि भएको छ। यो वर्ष धान उत्पादन वृद्धि भए पनि अघिल्ला वर्षहरूमा धान उत्पादन राम्रो थियो। आव २०७७/७८ मा धान उत्पादन ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन थियो।
कृषि प्रधान देश भए पनि बर्सेनि खाद्यान्नको आयात बढिरहेको अवस्थामा यो वर्ष उत्पादन बढेपछि चामल आयात घट्ने भएको छ। पोहोर करिब ३० अर्ब रूपैयाँ बढीको चामल आयात भएको थियो। नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि यहाँका उपभोक्ताले भारत, चीन, अमेरिका, थाइल्यान्ड, इटाली, जापान, कोरिया, बंगलादेश लगायत मुलुकबाट आयात गरिएको चामल प्रयोग गरिरहेका छन्।
अपेक्षित रूपमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन सकेको छैन। सिँचाइ, मल र बीउ अभाव, गुणस्तरीय बीउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्वराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको सरोकारवाला बताउँछन्।
कृषि उत्पादन वृद्धि गर्न बर्सेनि अर्बौं रूपैयाँ बजेट विनियोजन गरे पनि परिणाम देखिएको छैन। अहिले पनि किसानले ४७ वर्ष पुरानो धानको बीउ प्रयोग गरेका छन्। करिब ८५ प्रतिशत किसानले पुरानो धान प्रयोग गरिरहेका छन्। उन्नत जातको धानको बीउ प्रयोगमा ल्याएर १५/२० प्रतिशत उत्पादन बढ्ने भए पनि किसानले उन्नत जातको बीउ पाउन सकेका छैनन्। धान लगाउने बेला रासायनिक मल नपाएर किसान भौंतारिइरहेका छन्। सरकारी निकायको व्यवस्थापन नै फितलो भएको किसान अगुवा बताउँछन्।
कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ। उपभोक्ताले अन्य खाद्यान्न प्रयोग नगरी मसिनो चामल प्रयोग गर्ने प्रचलन बढेकाले चामल आयात बढेको कृषिका अधिकारी बताउँछन्। सरकारले उत्पादन वृद्धि गर्न आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरण गर्ने बताउँदै आए पनि २० प्रतिशत किसानले मात्र यन्त्र प्रयोग गरेको कारण पनि उत्पादन बढ्न सकेको छैन।
सरकारले धान उत्पादन बढाउन केही वर्षदेखि मसिना तथा बासनादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम, बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न जिल्लामा धानका पकेट, जोन, सुपरजोन बनाइएको छ। कृषि अनुसन्धान परिषद् (नार्क) ले उन्नत जातका हर्दिनाथ-१, हर्दिनाथ-३ लगायतका धान सिफारिस गरेको छ।
पर्याप्त सिँचाइको व्यवस्था नहुँदा अकासे पानीका भरमा धान रोप्नुपर्ने बाध्यता छ। करिब ३२ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिँचाइ हुने गरेको छ। खेतीयोग्य करिब २५ प्रतिशत जमिन बाँझो छ।
पर्याप्त धान उत्पादन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ। उत्पादन वृद्धि नहुँदा ठूलो परिणाममा धान, चामल लगायतका कृषिजन्य वस्तु आयात हुँदै आएको छ। सरकारले उत्पादन वृद्धि गर्न आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरणमा ध्यान दिनुपर्ने किसानको माग छ। गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्बरा शक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन सकेको छैन।
प्रकाशित: १५ पुस २०७९ ०१:३६ शुक्रबार