१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन पुनरुत्थानको खाका कोरेको पर्यटनमन्त्रीको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थानको लागि खाका कोरेको दाबी गरेका छन्। मन्त्री पद छाड्नु अघि आफ्नो ६ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन्।  

पर्यटन मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा आफ्नो आफूले महत्वपूर्ण भूमिका खलेको दाबी गरे। ‘पर्यटन क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत सुधार गरेको छु,’ मन्त्री पदबाट बिदा हुनुअघि प्रेस नोट सार्वजनिक गर्दै भने, ‘पर्यटन क्षेत्रको पुनरुत्थानको लागि कार्ययोजना ल्याएको छु।’

श्रेष्ठले कोरोना महामारीले पर्यटन उद्योगलाई सबैभन्दा बढी असर गरेको बताए। कार्ययोजनामा पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन, पर्यटन दशकको घोषणा लगायतका महत्वपूर्ण कामहरूको सुरुआत गरेको उनको भनाइ छ।

यस्तै सांस्कृतिक, र पुरातात्विक सम्पदाको पुनर्निर्माण, संरक्षण एवम् प्रवद्र्धनका लागि ‘होप अन होप अफ बस’ सञ्चालनको अवधारणा ल्याएको, रात्रिकालीन सम्पदा यात्राका लागि आवश्यक पूर्वाधार तयार गरेको जनाएको छ। उनले समग्र पर्यटन क्षेत्रको बृद्धि विकासको लागि पर्यटन दशकको अवधारणा आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए।  

सरकारले गत साउन २ गते पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनको लागि पुनरुत्थान कार्ययोजना ल्याएको थियो। कार्ययोजनाका ७३ बँुदाहरूमा पर्यटन क्षेत्रको विकास तथा प्रर्वद्धनका विभिन्न कार्यक्रमहरू उल्लेख थिए।  

यसै अन्तर्गत सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार भएको थियोे। कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना रहेको छ। यस्तै कोभिडबाट थलिएको पर्यटन क्षेत्रलाई २०२४ सम्ममा पर्यटक आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ। साथै प्रतिपर्यटक प्रतिनिधि खर्च १ सय २५ पुर्‍याउने तथा देशको कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य रहेको छ। मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा अमूर्त संस्कृतिक सम्पदाहरूको पहिचान, विकासको लागि विषयगत कानुन निमार्ण गर्न ऐनको मस्यौदा तयार गर्न कार्यदल गठन गरेको उल्लेख गर्दै पर्यटन सम्बद्ध शैक्षिक जनशक्ति उत्पादन गर्ने सरकारी संंस्था नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई प्रदेशस्तरमा विस्तार गर्ने योजना अघि बढाएको बताएका छन्। 

प्रकाशित: १२ पुस २०७९ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App