१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराः अन्तर्राष्ट्रियसँगै पुरानो विमानस्थल पनि चलिरहने

पोखराका दुईवटै विमानस्थल चलिरहन्छनः प्राधिकरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको चालु (पुरानो) विमानस्थलबाट हुँदै आएका ठुला आकारका जहाजको उडान र अवतरण पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु हुनेछन्। तर, छोटो दूरीको धावनमार्गबाट उडान र अवतरण हुने (स्टल) जहाज सहित अल्ट्रालाइट र हेलिकप्टरको उडान भने पुरानै विमानस्थबाट संचालन हुनेछन्।  

ठुला जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालन भइरहँदा चालु विमानस्थल पनि चल्तीकै अवस्थामा रहिरहने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ। पोखरामा अझै केही समयका लागि दुवै (अन्तर्राष्ट्रिय र चालु) विमानस्थल संचालनमा रहिरहने प्राधिकरणले बताएको छ। प्राधिकरण पोखरा प्रमुख बिक्रम गौतमले ठुला जहाज अन्तर्राष्ट्रिय विमानस्थल र स्टल एयरक्राफ्ट, अल्ट्रालाईट र हेलिकप्टर पुरानै विमानस्थलबाट संचालन हुने बताए। ठुला आकारका जहाज मध्ये अहिले पोखरामा एटिआर–४२ माथिका छन्। ती ठुला आकारका सबै जहाजको उडान र अवतरण अगाामि जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु हुनेछन्।  

ठुला आकारका जहाजको नियमित उडान सहरी भेगका गन्तव्यसम्म मात्र छन्। पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, जनकपुर लगायतका सहरी गन्तव्यमा ठुला आकारका जहाजबाट उडान हुने गरेको छ। मुस्ताङको जोमसोम, मनाङको हुम्दे लगायतका छोटो धावनमार्ग भएका विमानस्थलमा भने ट्वीनअट्टर जहाजको उडान हुन्छ। साना आकारका ती जहाजका लागि छोटो धावनमार्ग भएपनि पुग्छ। अहिले श्री, बुद्ध र यती एयरले ठुला आकारका जहाजबाट पोखरालाई विभिन्न सहरसम्म जोड्छन भने तारा र समिट एयरले छोटो धावनमार्ग भएका विमानस्थलसम्म उडान भर्छन।

‘तत्कालका लागि दुवै (अन्तर्राष्ट्रिय र चालु ) विमानस्थल संचालनमा रहनेछन्। छोटो दूरीको धावनमार्गमा उडान र अवतरण हुने जहाज सहित अल्ट्रालाइट र हेलिकप्टर पुरानै विमानस्थलबाट उड्नेछन,’ गौतमले भने, ‘ठुला जहाजको सबैखाले उडान अन्तर्राष्ट्रिय विमानस्थलमा सर्नेछन्। कुनैपनि रुटका ठुला जहाजको उडान र अवतरण अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन्।’ ठुला जहाजले ठुलै सहरको गन्तव्यलाई हवाईमाध्यम मार्फत जोड्छन्।  

गौतमका अनुसार जनवरी १ पछि पनि चालु विमानस्थलबाट बिहानको समयमा हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमसम्म उडान हुनेछन। त्यसबाहेक अल्ट्रालाइट र हेलिकप्टरको उडान पनि नियमित रहनेछन। हेलिकप्टर र अल्ट्रालाइट पर्यटकीय गतिविधिमा उपयोग भईरहेका छन्। हेलिकप्टर उद्धार र राहतका काममा समेत खटिन्छन।

‘बिहानको समयमा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको मौसम हत्तपत्ति खुल्दैन। अबेरसम्म हुस्सु लाग्दा जोमसोम जाने जहाजको उडानमा समेत अप्ठेरो हुन्छ। बिहान १० बजे अघि नै जोमसोमका उडान भईसक्छन। त्यसबाहेक अल्ट्रालाइट र हेलिकप्टरका लागि पनि ठाउँ छैन,’ उनले भने, ‘त्यही भएर सानो जहाज र अल्ट्रालाइट तथा हेलिकप्टरका लागि चालु विमानस्थल खुला रहनेछ। ती सबै जहाजको गतिविधि पुरानै विमानस्थलबाट संचालन हुनेछन।’

पोखराको चालु विमानस्थल।

स्टल एयरक्राफ्टको रुपमा अहिले जोमसोममा मात्र पोखराबाट नियमित उडान छ। मनाङ, बागलुङ लगायतका जिल्लामा उडान गर्दा पनि पुरानै विमानस्थलबाट हुने उनले बताए। ‘स्टल एयरक्राफ्टको सेवा पनि नियमित दिनुपर्छ। बाक्लो हुस्सुका कारण केहीगरि अन्तर्राष्ट्रिय विमानस्थल ढिलागरि खुलेमा त्यसको मार जोमसोमका उडानमा पर्छ। त्यही भएर चालु विमानस्थललाई पनि तयारी अवस्थामा राख्नुपरेको उनले बताए। अन्तर्राष्ट्रिय विमानस्थलमा सबै सेवा सार्दा कतिपय सेवा प्रभावकारी हुन नसक्ने उनले बताए । अहिले पोखराको चालुविमानस्थलबाट तीनवटा अल्ट्रालाईट र हेलिकप्टरको सेवा नियमित चलिरहेको छ। कतिपय हेलिकप्टरले पोखरामै स्टेशन बनाएर आवश्यक सेवा दिईरहेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको चालु विमानस्थल कुन रुपमा उपयोग हुने भन्नेमा यकिन नभएकोले प्राधिकरणले अझै केही महिना पुरानो विमानस्थललाई चल्तीकै अवस्थामा राखिरहन खोजेको श्रोतको भनाई छ। ‘चालु विमानस्थलको उपयोग कुन रुपमा हुने भन्ने यकिनै भएको छैन। चल्तीकै अवस्थामा छाडेर हिड्न पनि मिलेन,’ श्रोतले भन्यो, ‘त्यही भएर पुरानो विमानस्थललाई अथावस्थामा राख्नुपरेको हो।’ चल्तीकै अवस्थाको विमानस्थल यत्तिकै छाड्ने हो भने त्यहाँ जुनसुकै खालका गतिविधि हुने, अतिक्रमण बढ्ने र त्यसको नोक्साना प्राधिकरणलाई हुने भएकोले जोगाउनका लागि पनि विमानस्थलको उपयोग गरिरहनुपरेको श्रोतको भनाई छ।  

‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा मंसिरदेखि चैतसम्म बिहानको समयमा अधिकांश दिन हुस्सु लाग्छ। त्यसले गर्दा कतिपय सेवा प्रभावित पनि हुन्छन,’ श्रोतले भन्यो, ‘अन्तर्राष्ट्रिय विमानस्थलको भर पर्ने हो भने स्टल एयरक्राफ्टको सेवा प्रभावित हुने डर छ।’ विमानस्थल चालु अवस्थामै पनि रहिरहने र दूरुपयोग हुनबाट जोगिने भएकोले पनि यो उपाय लगाइएको श्रोतको भनाई छ। प्राधिकरणले विमानस्थललाई चल्तीकै अवस्थामा राखिरहन खोजेको श्रोतले बतायो।

‘अन्तर्राष्ट्रिय विमानस्थल भनेर मात्र हुँदैन । अधिकांश दिन बाक्लो हुस्सुले आकाश ढाक्छ, अबेर खुल्दा उडान प्रभावित हुन्छन,’ श्रोतले भन्यो, ‘सबै उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न खोज्ने हो भने जोमसोम सहित अल्ट्रालाइट र हेलिकप्टरका उडान प्रभावित हुने पक्का हो।’ विमानस्थल होल्ड गर्नका लागि पनि प्राधिकरणले चल्तीकै अवस्थामा राखिरहन खोजेको श्रोतले बतायो।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि पुरानो विमानस्थललाई चालु अवस्थामा राखिरहनु सकारात्मक पक्ष भएको बताए। उनका अनुसार पुरानो विमानस्थलबाट पर्यटकीय गतिविधिमा उपयोग हुने अल्ट्रालाइट, हेलिकप्टरको उडान हुन्छन। त्यसबाहेक स्टल एयरक्राफ्टको उडान पनि आवश्यक छ। 

‘अल्ट्रालाइट र हेलिकप्टरका कारण पर्यटनमा सहयोग पुगेको छ,’ उनले भने, ‘पोखरा साहसिक पर्यटकीय गन्तव्य भएकोले पनि ती गतिविधि आवश्यक छ। गतिविधि नै नहुने हो भने पर्यटन प्रभावित हुन्छ। त्यही भएर ती गतिविधिका लागि पनि विमानस्थल चल्तीकै अवस्थामा राख्नुपर्छ।’ चालु विमानस्थल आपत्तकालिन अवतरण, उद्धार र राहतका बेला उडान र अवतरण गराउनका लागि पनि उपयोग गर्नुपर्ने उनले बताए।  

प्रकाशित: ६ पुस २०७९ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App