२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रतिबन्धित वस्तुको आयात फुकुवा

विदेशी मुद्रा सञ्चितिमा चाप परेका कारण सरकारले केही विलासी वस्तुमा लगाएको आयात प्रतिबन्ध फुकुवा गरेको छ। विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

सरकारले गत बैशाखमा ती वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुसार आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंसिर २९ गतेबाट लागू हुन्छ।

मुख्यसचिव शंकरदास बैरागी संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेसँगै खुलाउने निर्णय भएको हो। आयात प्रतिबन्ध खुल्ला गर्न हुने/नहुने विषयमा सरकारले वैरागीको संयोजकत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। अध्ययनमा विदेशी मुद्राको सञ्चिति बढिरहेकाले प्रतिबन्धलाई निरन्तरता दिइरहनु नपर्ने सिफारिस गरेको थियो। निजी क्षेत्र र विश्व बैंकले समेत आयात प्रतिबन्ध खुला गर्न सुझाव दिएका थिए।

विदेशी मुद्राको सञ्चितिले आयात धान्न कठिन हुने भएपछि सरकारले गत बैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। अन्य ६ वस्तुको आयात खुला गरेको भए पनि निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्धलाई अहिलेसम्म निरन्तरता दिएको थियो।

सुरुमा कुरकुरे, कुरमुरे, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शवबाहन बाहेक), २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, खेल्ने तास प्रतिबन्ध लगाएको थियो। अत्यावश्यक वस्तुको आयातमा समस्या सिर्जना नहोस् भनेर राष्ट्र बैंकले सुरुका महिनामा धेरै वस्तुको आयातमा कडाइ गरेको भए पनि पछि खुकुलो बनाउँदै लगेको थियो।

विदेशबाट रेमिट्यान्स र पर्यटक आगमन वृद्धिसँगै विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि प्रतिबन्ध हटाउने निर्णयमा पुगेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। निजी सवारी साधनको आयात प्रतिबन्धले अटोमोबाइल्स व्यवसाय धराशायी भएको भन्दै प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका थिए। आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णयको अटोमोबाइल्स व्यवसायीले स्वागत गरेका छन्।

सरकारले विभिन्न वस्तुको आयातमा कडाइ गरेपछि आयात घटेको छ। पोहोरको तुलनामा चालु आवको कात्तिक मसान्तसम्म आयात १८.०८ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ। यो पोहोरको तुलनामा १ खर्ब १७ अर्बले कमी हो। पोहोर कात्तिकसम्म ६ खर्ब ५० अर्ब २९ करोड रूपैयाँको वस्तु आयात भएको थियो। यो वर्ष सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड रूपैयाँको मात्र वस्तु आयात भएको छ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले वस्तुको आयातमा कडाइ गरेपछि आयातमा गिरावट आएको हो। विदेशी मुद्राको सञ्चिति निकै घटेपछि श्रीलंका टाट पल्टिएको थियो। त्यहाँ सिटामोल र कागज किन्न पनि समस्या भएको थियो। त्यस्तै अवस्थामा नेपालमा आउन सक्ने भन्दै सरकारले आयातमा प्रतिबन्ध लगाएको थियो।

आयात घटेपछि सरकारको राजस्वमा समेत गम्भीर असर परेको छ। राजस्व घट्दा चालु खर्च धान्न पनि मुस्किल भएको छ। आयात घटेपछि व्यापार घाटा १५.८८ प्रतिशतले घटेको छ। पोहोर चार महिनामा ५ अर्ब ६८ करोड १७ लाखको व्यापार घाटा रहेकामा यो वर्ष ४ खर्ब ७७ अर्ब ९१ करोड रूपैयाँ व्यापार घाटा रहेको छ। व्यापार घाटा मात्र नभएर कुल वैदेशिक व्यापारमा पनि करिब २० प्रतिशतले कमी आएको छ। पोहोर चार महिनामा वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब ४१ करोड रूपैयाँ रहेकोमा यो वर्ष ५ खर्ब ८७ अर्ब ४६ करोड रूपैयाँ रहेको भन्सार विभागले जनाएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.६८ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा ९.३२ प्रतिशत मात्र रहेको छ।

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन राष्ट्र बैंकले केही वस्तु आयातमा गरेको कडाइले विदेशी विनिमयको सञ्चितिमा धेरै सुधार आएको छ। विदेशी मुद्राको सञ्चिति घटेर ६.६ महिनालाई मात्र आयात धान्न सक्ने अवस्थामा पुगेकोमा धेरै सुधार भएको छ। असोजसम्मको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति बढेपछि अहिले ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ। विदेशी मुद्राको सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ पुगेको छ। एक महिनामै सञ्चिति ५७ अर्ब ६ करोड रूपैयाँले बढेको छ।

भुक्तानी सन्तुलन लगायतका क्षेत्रमा पनि सकारात्मक परेको छ। रेमिटेन्स वृद्धि र आयातमा कमी आउँदा १४ महिनापछि शोधनान्तर १२ अर्ब ४३ करोड बचतमा पुगेको छ। गत आर्थिक वर्ष ०७८/०७९ असोजमा ७६ अर्ब १४ करोड रूपैयाँ घाटामा रहेको शोधनान्तर यो वर्षको असोजमा बचतमा पुगेको छ। चालु आवको भदौमा २३ अर्ब ६८ करोड रूपैयाँ घाटा रहेकोमा असोजमा आइपुग्दा शोधनान्तर बचतमा पुगेको हो।

२०७८ असारदेखि निरन्तर घाटामा गएको शोधानान्तर बचतमा सुधार आउनु अर्थतन्त्रका लागि सकारात्मक भएको अर्थ क्षेत्रका जानकार बताउँछन्। शोधनान्तर स्थिति घाटामा गएपछि सरकारले आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। त्यसैगरी केही वस्तुको आयातमा पनि कडाइ गरेको थियो। विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेकाले पनि आयात प्रतिबन्ध खुलाउन सहयोग पुगेको हो। पोहोरको असोजसम्म विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो भने अहिले १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड रूपैयाँ पुगेको छ। असोजमा मात्र ९४ अर्ब १ करोड रूपैयाँ विदेशबाट रेमिटेन्स आएको थियो ।

प्रकाशित: २१ मंसिर २०७९ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App