५ वैशाख २०८१ बुधबार
अर्थ

वस्तु आयात १ खर्ब १७ अर्बले घट्यो

सरकारले कडाइ गरेपछि पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातमा गिरावट आएको छ। विदेशी मुद्राको सञ्चितीमा चाप बढेपछि सरकारले बर्सेनि बढ्दै गएको आयातमा कडाइ गरेको थियो।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७९/८० को कात्तिक मसान्तसम्म (चार महिनाको अवधिमा) ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको मात्र वस्तु आयात भएको छ। यो गत वर्षको सोही अवधिको भन्दा १ खर्ब १७ अर्बले कमी हो। अर्थात् गत वर्षभन्दा वस्तु आयात १ खर्ब १७ अर्ब रुपैयाँले घटेको छ। पोहोर कात्तिकसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको थियो। आयात १८.०८ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ।

विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले वस्तुको आयातमा कडाइ गरेपछि आयातमा गिरावट आएको हो। त्यसका अतिरिक्त वस्तुको मूल्य वृद्धि हुँदा मागमा कमी, बैंकको ब्याज दरमा वृद्धि, तरलता अभाव पनि कारण हुन्।

विदेशी मुद्राको सञ्चिती निकै घटेपछि श्रीलंका टाट पल्टिएको थियो। त्यहाँ सिटामोल र कागज किन्न पनि समस्या भएको थियो। त्यसपछि नेपालमा पनि त्यस्तै समस्या आउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीमा गिरावट आउन नदिन आयातमा कडाइ गरेको थियो। नेपालमा पनि विदेशी मुद्राको सञ्चिती रोक्न पेट्रोलियम पदार्थको आयातमा कटौती गर्नका लागि शनिबार र आइतबार बिदा दिएर केही समय परीक्षण गरिएको थियो। नेपालमा पेट्रोलियम पदार्थको आयात उच्च छ। चालु आवको चार महिनामा डिजेल ४४ अर्ब २८ करोड ५१ लाख रुपैयाँको आयात भएको छ। त्यसैगरी पेट्रोल २३ अर्ब ६९ करोड ७० लाख रुपैयाँ र एलपी ग्यास १९ अर्ब ६४ करोड ४७ लाख रुपैयाँको आयात भएको छ।

अत्यावश्यक वस्तुको आयातमा समस्या सिर्जना नहोस् भनेर राष्ट्र बैंकले सुरुका महिनामा धेरै वस्तुको आयातमा कडाइ गरेको भए पनि पछि खुकुलो बनाउँदै लगेको थियो। अहिले पनि चारवटा वस्तुको आयातमा प्रतिबन्ध छ। विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि सरकारले सुरुमा १० वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

आयात घटाएर विदेशी मुद्राको सञ्चिती घट्ने क्रम रोक्न सरकारले यस्तो निर्णय गरेको हो। प्रतिबन्ध लगाइएका वस्तुमा मदिरा, मोटरसाइकल, कार, जिप, भ्यान, हीरा, टेलिभिजनलगायत थिए। त्यसैगरी आयात बन्द गरिएका वस्तुमा कुरकुरे, कुरमुरे, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शवबाहन बाहेक), २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना,खेल्ने तास थिए।

अहिले विदेशी मुद्राको चापमा कमी हुँदै गएर सञ्चितीमा सुधार आएपछि अरू वस्तुको आयात खोलेर चारवटा वस्तुको आयातमा मात्र प्रतिबन्धलाई निरन्तरता दिएको छ। चारपांग्रे सवारीसाधन, १५० सिसीभन्दा माथिका मोटरसाइकल, ३ सय डलरभन्दा माथिका मोबाइल र मदिराको आयात प्रतिबन्ध अहिले पनि छ।

पछिल्लो पटक आयातमा कमी हुनुमा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता)को चरम अभावको पनि कारण रहेको छ। बजारमा महँगी बढ्दा वस्तुको मागमा पनि कमी आएको छ। त्यसले पनि आयात घटेको छ। आयात बढ्दा राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा बाहिरिने क्रम उच्च हुने भएकाले पनि आयातमा कडाइ गरिएको थियो।

आयात घटेपछि सरकारको राजस्वमा भने गम्भीर असर परेको छ। राजस्व घट्दा चालु खर्च धान्न पनि मुस्किल भएको छ। विदेशी मुद्राको चाप परिरहेको अवस्थामा आयात घट्दा विदेशी मुद्राको सञ्चिती गिरावटमा कमी आएको छ। निर्यात व्यापारमा पनि गिरावट आएको छ। पोहोरको तुलनामा निर्यात ३३.३० प्रतिशतले गिरावट आएको छ। पोहोर ८२ अर्ब १२ करोड रूपैयाँको वस्तु निर्यात भएकोमा अहिले सोही अवधिमा ५४ अर्ब ७७ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ। हरेक वर्ष निर्यात वृद्धि हुँदै आएकामा अहिले निर्यात घट्नु अर्थतन्त्रका लागि राम्रो होइन।

आयात घटेपछि व्यापार घाटा १५.८८ प्रतिशतले घटेको छ। पोहोर चार महिनामा ५ अर्ब ६८ करोड १७ लाखको व्यापार घाटा रहेकामा यो वर्ष ४ खर्ब ७७ अर्ब ९१ करोड रूपैयाँ व्यापार घाटा रहेको छ। व्यापार घाटा मात्र नभएर कुल वैदेशिक व्यापारमा पनि करिब २० प्रतिशतले कमी आएको छ। पोहोर चार महिनामा वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब ४१ करोड रूपैयाँ रहेकोमा यो वर्ष ५ खर्ब ८७ अर्ब ४६ करोड रूपैयाँ रहेको भन्सार विभागले जनाएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.६८ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा ९.३२ प्रतिशत मात्र रहेको छ।

मुलुकको निर्यात व्यापारको अवस्था भने चिन्ताजनक रहेको छ। निर्यात हुने प्रमुख वस्तुमा पामोलिन तेल, भटमासको तेल र पाम तेल रहेका छन्। चालु आवको चार महिनामा पामोलिन तेल ५ अर्ब ५४ करोड ४९ लाख रूपैयाँको, भटमासको तेल ५ अर्ब ३२ करोड २३ लाख रूपैयाँ, पाम तेल ४ अर्ब ४८ करोड ११ लाख रूपैयाँको निर्यात भएको छ। १८ अर्ब २९ करोड ५६ लाख रूपैयाँको कच्चा भटमासको तेल, १२ अर्ब ८७ करोड ३७ लाख रूपैयाँको कच्चा पाम तेल आयात भएको छ। यही कच्चा तेललाई प्रशोधन गरेर भारतलगायत मुलुकमा निर्यात गरिएको हो। विदेशबाट कच्चा पदार्थ आयात गरेर निर्यात हुने भएकाले यसमा धेरै भ्यालु एड नहुँदा मुलुकका लागि त्यति धेरै फाइदा पुग्दैन।

अन्य निर्यात हुने वस्तुमा कार्पेट, अलैंची, फेल्ट, चिया, धागोलगायत वस्तु रहेका छन्। यी वस्तु पुरै स्वदेशी उत्पादन हुन्। चार महिनामा ३ अर्ब ९३ करोड रूपैयाँको कार्पेट, १ अर्ब ९६ करोड रूपैयाँको अलैंची, १ अर्ब ९४ करोड रूपैयाँको फेल्ट र १ अर्ब ७१ करोड रूपैयाँको चिया निर्यात भएको छ। त्यसैगरी १ अर्ब ४० करोड रूपैयाँको जुस, १ अर्ब ३२ करोड रूपैयाँको धागो, १ अर्ब १३ करोड रूपैयाँको फ्याब्रिक जुट निर्यात भएको छ।

प्रकाशित: १० मंसिर २०७९ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App