१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

तरकारी किसानलाई ऋणको भार

वीरगन्ज- तरकारी उत्पादनको मुख्य सिजनमै सवा महिना बन्दहड्तालमा बितेपछि बारा र पर्साका तरकारी उत्पादक किसानले भारी आर्थिक नोक्सानी बेहोर्नु परेको छ। लगातार ३ महिनाको मिहिनेतले उब्जाएको तरकारी खपत हुन छाडेपछि परल लागत नै नउठ्दा कतिपय किसानलाई ऋणको भार पर्ने चिन्ताले सताएको छ।'धेरै अप्ठ्यारो छ, काँहा बेच्ने? भारततर्फ पनि त्यहाँको लोकल उत्पादनै पर्याप्त छ, यता बन्द हड्ताल अनि कर्फ्यु,' बारा नीलकण्ठवाका किसान विनोद साहले भने, 'यसपालि तरकारी खेतीमा परेको लागत नउठ्ने भयो।'

वीरगन्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु खुलेपछि सहरभित्र पस्न साँझ ४ बजेको समय कुरेर तरकारी लिएर बसेका आधा दर्जन किसानहरुबीच उनी पनि भेटिए। बन्द अनि कर्फ्युको मारमा कतिपय किसानले खेतीमा गरेको लागानी ऋणबाट बेहोर्नु परेको उनले बताए।

बारा र पर्साका गाउँगाउँबाट किसानले तरकारी ल्याएर वीरगन्जको थोक बजारमा बेच्ने र यहाँबाट कारोबारीले काठमाडौं, पोखरा लगायतका बजारमा पुर्या्इदिने गरेका छन्। आफूले मात्रै लगभग १० मेटि्रक टन तरकारी काठमाडौंको कालिमाटी र बल्खु तरकारी बजारमा दैनिक रुपमा पठाउँदै आएको थोक तरकारी व्यवसायी दुर्गाप्रसाद कुशवाहाले बताए। 'बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म किसानबाट नगदमा किनेको तरकारी साँझ ट्रकमा हालेर पठाउने गरेका थियौं,' कुशवाहाले भने, 'खेतबाट निस्केको २४ घन्टाभित्र काठमाडौंका खुद्रा पसलमा तरकारी पुगिसकेको हुन्छ।' उनीजस्तै वीरगन्जबाहिर तरकारी आपूर्ति गर्ने थोक कारोबारी वीरगन्जमा दर्जन बढी छन्।

एउटा थोक बिक्रेताले २५ देखि ४० जना किसानले कारोबार गर्ने गर्छन्। बन्द हड्ताल सुरु भएपछि यो व्यापारचक्र रोकिएको छ। बाराबाट वीरगन्ज पस्ने नगवा गाउँमा कर्फ्यु खुल्ने प्रतीक्षामा साहसँगै भेटिएका अर्का किसान राजकुमार साहलाई भने भान्टाको भाउ घटेर तनाव छ। ४० रुपैयाँमा जानु पर्ने भान्टा १० रुपैयाँमा किन्ने पनि नभेटिएपछि उनलाई तनाव भएको हो। 'बजार लैजान नपाएपछि गाउँतिर तरकारी फालाफाल छ,' उनले भने, 'लगानी र मिहिनेत गरेर उब्जायो, अहिले फाल्नु पर्ने भयो।' सयौंको संख्यामा साइकल मोटरसाइकलमा तरकारी लिएर आउने किसान वीरगन्ज बजारमा अहिले साँझ मात्र ५/१० जना देखिने गरेका छन्। त्यो पनि कर्फ्यु खुलेको बखत।

नगद आम्दनीको स्रोतको रुपमा देखापरेको तरकारी खेतीतर्फ आकर्षित किसानहरु यतिखेर बन्दको मारमा परेका हुन्। जिल्ला कृषि कार्यालय पर्साका अनुसार यसपालि १ हजार ८ सय हेक्टर जग्गामा गर्मी यामको तरकारी लगाएका किसानहरु प्रतिहेक्टर साढे १६ मेटि्रक टन तरकारी फलाइरहेका छन्। त्यस्तै करिब २ हजार हेक्टरमा बारीमा खेती हुने गरेको छ। पर्सा कृषि कार्यालयका प्रविधिक श्यामकिशोर कुर्मीका अनुसार लहरे प्रजातिका तरकारीहरु बोडी, करेला, परवल, लौका, काँक्रो र टमाटर यो सिजनमा उत्पादन हुन्छ। त्यस्तै भिन्डी र खुर्सानीको पनि यो सिजनभरी उत्पादन हुन्छ। स्थानीय आवश्यक्ताभन्दा बढी भएका पर्सा र बारामा उत्पादित तरकारी वीरगन्जको थोक बजार भएर काठमाडौं र पोखरा पठाइने गरिएको छ। वीरगन्जबाट लगभग १ सय टन तरकारी बाहिरका सहरहरुमा जाने गरेकोमा अहिले ठप्प छ।

प्रकाशित: १ आश्विन २०७२ २१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App