२९ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

उदयपुरगढीमा सतप्रतिशत पुँजीगत बजेट खर्च

चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असार मसान्त (साल तमामी) सकिन लागेको छ। असार २५ गते मध्यरातिदेखि महालेखा नियन्त्रक कार्यालयले नियन्त्रित स्थानीय तहहरूको आर्थिक कारोबार गर्ने बैंक खाता (सुत्र) बन्द गरेको छ।

त्यो अवधिसम्म अधिकांश स्थानीय तहले विगतका वर्षझैँ चालु आर्थिक वर्षमा पनि पुँजीगत बजेट पूर्ण रूपमा खर्च गर्न सकेका छैनन्। साल तमामी नजिकिएपछि हतारमा काम गर्ने, रातारात बिल पेस गर्ने, अनुगमन तथा मूल्याङ्कनसँगै भुक्तानी गर्ने चटारोबीच सुत्र बन्द हुँदा पुँजीगत खर्च शतप्रतिशत गर्न नसकिएको लेखा कर्मचारीहरूको अनुभव छ।

उदयपुरका चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहमध्ये अधिकांशको खर्च सन्तोषजनक रहे पनि उदयपुरगढी गाउँपालिकाले भने उत्साहजनक प्रगति गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार उदयपुरगढीले चालु आर्थिक वर्षको पुँजीगत बजेट करिब ९९ प्रतिशत खर्च गर्न सफल भएको छ।

चालु आर्थिक वर्षका लागि उदयपुरगढी गाउँपालिकाले ७२ करोड ७९ लाख ५२ हजार २६४ रुपैयाँको अनुमानित आय–व्यय पारित गरेको थियो। त्यसमध्ये ६२ करोड ३३ लाख ९३ हजार ६९ रुपैयाँ खर्च भएको छ। प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार तथ्याङ्कमा हेर्दा करिब १० करोड ४५ लाख ५९ हजार २९५ रुपैयाँ खर्च हुन बाँकी देखिए पनि वास्तविक रूपमा चालुतर्फको खर्च कम भएकाले यस्तो देखिएको हो। पुँजीगततर्फ भने उपलब्ध बजेटको करिब ९९ प्रतिशत खर्च भएको उनले बताए।

पुँजीगततर्फ २९ करोड ६१ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएकोमा असार २५ गते रातिसम्म २५ करोड ७ लाख ८७ हजार ३२ रुपैयाँ खर्च भएको छ। बाँकी करिब ४ करोड रुपैयाँ मन्त्रालयले कटौती गरेकाले प्राप्त नभएको राईले जानकारी दिए। त्यसैले तथ्याङ्कमा ८४.६७ प्रतिशत मात्रै खर्च देखिए पनि प्राप्त बजेटको आधारमा करिब ९९ प्रतिशत खर्च भएको उनको भनाइ छ।

उनका अनुसार गाउँपालिकाले मन्त्रालयबाट प्राप्त बजेटको सिलिङका आधारमा खर्च योजना बनाएको थियो। तर विभिन्न कारण देखाउँदै मन्त्रालयले करिब ४ करोड रुपैयाँ कम बजेट पठाएकाले खर्च २५ करोड रुपैयाँमा सीमित भएको हो।

“हामीले प्राप्त सिलिङअनुसार खर्चको योजना बनाएका थियौँ। तर मन्त्रालयले करिब ४ करोड रुपैयाँ नपठाएकाले तथ्याङ्कमा खर्च कम देखिएको हो। वास्तविक रूपमा भने उपलब्ध पुँजीगत बजेटको करिब ९९ प्रतिशत खर्च गर्न सफल भएका छौँ,” प्रमुख प्रशासकीय अधिकृत राईले भने।

चालुतर्फ गाउँसभाले विनियोजन गरेको ४३ करोड २९ लाख ६६ हजार ३६४ रुपैयाँमध्ये ३७ करोड २६ लाख ६ हजार ३७ रुपैयाँ खर्च भएको छ। चालुतर्फको खर्च ८६.०३ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २८ असार २०८३ १९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App