अमेरिकाको भर्जिनियामा चलिरहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले दुई वर्षपछि आफ्नो पुरानो भनाइ बदल्दै नयाँ दाबी गरेका छन्।
यसअघि ममता कहाँ छिन् भन्ने आफूलाई थाहा नभएको बताउँदै आएका नरेशले अहिले आफूले उनलाई जुलाई ३०, २०२४ को बिहान घरमै मृत अवस्थामा फेला पारेको बताएका हुन्।
अदालतमा आफ्नो बचाउमा बयान दिँदै नरेशले ममता ओछ्यानको तलपट्टि मृत अवस्थामा रहेको दाबी गरे। उनका अनुसार ममताको अनुहार र भुइँमा बान्ता थियो। बान्तामा रगत, खानाका कण र चक्कीका क्याप्सुल थिए। त्यहाँ ‘सेल्फोस’ नामको कृषि क्षेत्रमा प्रयोग हुने विषादीको प्रमाण पनि भेटिएको उनको भनाइ छ।
नरेशले ममतालाई बचाउने प्रयासमा सीपीआर गरेको र अन्य उपाय अपनाएको बताए। तर, उनको मृत्यु भइसकेको थाहा पाएपछि आफू निकै आत्तिएको उनले बताएका छन्। ममता मृत अवस्थामा भेटिएपछि पनि आफूले प्रहरीलाई खबर नगरेको विषयमा उनका वकिलले प्रश्न गरेका थिए।
‘मलाई थाहा छैन किन मैले फोन गरिनँ। मैले फोन गर्ने प्रयास गरेको थिएँ। म साँच्चै डराएको थिएँ,’ नरेशले अदालतमा भने।
ममताको मृत्यु भएपछि आफूले उनको शव लुकाउने निर्णय गरेको नरेशले बताएका छन्। सुरुमा शव पोटोम्याक नदीमा फाल्ने सोच बनाएको र त्यसका लागि आवश्यक सामान खोज्न पसलहरू गएको उनको भनाइ छ। तर, शव फोहोरको भाँडोमा अटाउन नसकेपछि काट्ने निर्णय गरेको उनले स्वीकार गरेका छन्।
अदालतमा नरेशले ममताको खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको पनि बताए। उनले शव काट्न आरा प्रयोग गरेको र पछि शवका भाग फोहोरका झोलामा राखेर फालेको स्वीकार गरेका छन्। कसैले पनि शव नभेटोस् भन्ने आफ्नो उद्देश्य रहेको उनले अदालतमा बताएका छन्।
नरेशले ममताको मृत्यु आफूले गराएको नभई विषादी सेवनका कारण भएको दाबी गरेका छन्। तर, उनको यो दाबीलाई अभियोजन पक्षले स्वीकार गरेको छैन। उनीमाथि पहिलो श्रेणीको हत्या, शव लुकाउने र मृत शरीरको अपमान गरेको आरोपमा मुद्दा चलिरहेको छ। ममताको शव अहिलेसम्म फेला परेको छैन।
ममता सन् २०२४ जुलाईदेखि सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उनी अगस्ट १ मा आफूले काम गर्ने अस्पतालमा ड्युटीमा नपुगेपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो देखाएका थिए। त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।
नरेशले अगस्ट ५ मा ममता हराएको उजुरी दिएका थिए। तर, अनुसन्धानका क्रममा दम्पतीको घरको शयनकक्ष र बाथरुममा रगतका दाग फेला परेपछि प्रहरीले अगस्ट २२, २०२४ मा उनलाई पक्राउ गरेको थियो। घरबाट कपालका टुक्रा लागेको पावर आरा पनि बरामद भएको थियो।
पक्राउ परेदेखि नै नरेश हिरासतमा छन्। उनीमाथि अहिले भर्जिनियाको अदालतमा मुद्दा चलिरहेको छ। बिहीबार अदालतमा दिएको बयानका क्रममा उनले पहिलोपटक ममताको शव काटेको स्वीकार गरेका हुन्।
नरेशको नयाँ बयानपछि ममताका साथी र अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूले आक्रोश र दुःख व्यक्त गरेका छन्। ममताकी साथी बिना खड्कलमाले उनको बयान सुन्दा आफूहरू स्तब्ध भएको बताइन्।
‘यो अप्रत्याशित र अविश्वसनीय थियो,’ उनले भनिन्।
समुदायकी अर्की सदस्य मेलिसा बार्टनले ममता बेपत्ता भएपछि नरेशले खोजीमा सहयोग नगरेको आरोप लगाइन्। उनका अनुसार समुदायका सदस्यहरूले आफैं ममताको खोजी गरेका थिए।
ममताको शव अझै फेला परेको छैन। नरेशले अदालतमा दिएको नयाँ बयान र अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणका आधारमा मुद्दाको सुनुवाइ अघि बढिरहेको छ।
प्रकाशित: २० कार्तिक २०८३ ०६:३० शुक्रबार



-600x400.jpg)

