१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

एनआरएनसँग मिलेर काम गर्न मुख्यमन्त्री भट्ट इच्छुक

गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापा र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच सुदुर पश्चिमको धनगढीमा भेटवार्ता भएको छ। थापासँगको भेटमा मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताए। उनले गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए।

बिहीबार धनगढीमा भएको उक्त भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन्। उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनहरु इच्छुक रहेको बताइन्।

यसैबीच, अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसँग समेत भेटघाट गरेकी छन्। भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गरे। भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति रहेको थियो।

यस्तै एनआरएनएकी कार्यकारी अध्यक्ष थापाले धनगढीमा रहेका कमौया मुक्त बालबालिका समस्याका बारेमा छलफल गरिन्। साथै कार्यकारी अध्यक्षले कञ्चनपुरमा रहेको जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग भेटघाट गरेकी हुन्।

सोही भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताए। उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए।

बिहीबार भएको विद्यालय भ्रमणको क्रममा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले मुख्य रुपमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर गतिविधि सञ्चालन गरेको बताइन्। थापाले आगामी दिन बालबालिकाको शिक्षाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाइन्।

त्यस्तै एनआरएनएले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तरगत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ।

डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाइ आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाइत भएका छन्। २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ।

ती मध्ये १४ घर पूर्ण क्षति भएका छन्। गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७९ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App