एकाउन्ट पढ्दै गरेकी २३ वर्षीया खुश्बु शाहको गत वर्ष हत्या गर्ने भारतीय विद्यार्थी रोशन डान्टिसलाई सोमबार यस्तो सजाय सुनाइएको हो। केही महिनाअघि नेपालमै भएको ख्याती श्रेष्ठ हत्याकाण्डसँग मिल्दोजुल्दो यो घटनामा पनि शरीरका भागहरु फरक फरक स्थानमा फेला परेका थिए। फैसलाका क्रममा 'ऊ स्कटल्याण्डकै आजसम्मको सबैभन्दा खतरनाक हत्यारा' भएको उल्लेख गरिएको थियो।
खुश्बुलाई नियन्त्रणमा लिने बित्तिकै हत्या गरेको, शरिर टुक्रा टुक्रा पारेर एउटा भाग नजिकैको जंगलमा फ्याँकेको, टाउको र हात चाहि प्लास्टिकमा पोका पारेर रेलवे लाइन छेउमा फ्याकिएको अवस्थामा फेला परेको थियो। त्यसपछि हत्याराले खुश्बुका पति एवं विद्यार्थी नगेन्द्र शाहसँग एक लाख २० हजार पाउण्ड रकम माग गरेको थियो।
सन् २००३ मा विहे गरेलगत्तै नगेन्द्र र खुश्बु बेलायत पुगेका थिए। त्यहा चार वर्ष बिताएपछि उनीहरु स्कटल्याण्डको ग्लास्गो पुगे। नगेन्द्र स्ट्राथक्लाइड विश्वविद्यालयमा विजनेश विषय लिएर स्नातकोत्तर गर्दै थिए। त्यसैबेला भारतबाट इञ्जिनियरिङ सकेर रोशन पनि नगेन्द्रकै कक्षामा अध्ययनका निम्ति पुगेका थिए। घटनाअघि उनीहरु दुवै घनिष्ट साथी रहेको पत्र पत्रिकाले उल्लेख गरेका छन्।
त्यसै क्रममा गत वर्ष जुन १ तारिखका दिन खुश्वुको टाउको र शरीरका विभिन्न भागहरु टुक्रा पारिएको अवस्थामा फेला पारिएको थियो।
शाह दम्पत्तिले बेलायतस्थित घर बेचेको पैसाले रेष्टुरेन्ट खोल्न लागेको योजना थाहा पाएपछि रोशनको नियत बदलिएको समाचारमा उल्लेख गरिएको छ। त्यसपछि उसले खुशबुको अपहरण र हत्यापछि ठूलो रकम फिरौती माग गरेको थियो। घटनाका बेला अपहरणकर्ताको म्यासेजबाट पठाएका सूचना, मोबाइलको विवरण र कम्प्युटरबाट ब्यूँताइएका विवरणको आधारमा रोशनको अपराध खुलेको हो।
रोशनलाई भारत डिपोर्ट गर्नु अगावै कम्तीमा २४ वर्ष जेल सजाय भोग्नु पर्ने फैसला सुनाइएको छ। शाह दम्पत्तिको चार वर्षीय छोरासमेत छन्।
प्रकाशित: २८ पुस २०६६ १८:१९ मंगलबार





