साउदीको दमाममा रहेको मोहम्मद अलमोजिक ग्रुप कम्पनी (एमएमजी) मा कार्यरत ती नेपाली कामदारको आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा विचल्लीमा परेका हुन्। कम्पनीले आवासीय अनुमतिपत्र नवीकरण नगरिदिँदा त्यहाँ कार्यरत नेपाली कामदारले एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका छन्। अधिकांश नेपाली कामदारको एक वर्ष र केही नेपालीको दुई वर्षदेखि नवीकरण हुन सकेको छैन।
लामो समयदेखि आवासीय अनुमतिपत्रमा नवीकरण नगरेर कम्पनीले दमाम क्याम्पमा ३० जना र जुवैल क्याम्पमा २० जना नेपाली कामदारलाई बन्धक बनाएर राखेको पीडित नेपालीहरुले बताएका छन्। उनीहरुले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन्। आवासीय अनुमतिपत्रको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ । अनुमतिपत्रको म्याद गुज्रेपछि नवीकरण नगरिएको खण्डमा गैरकानुनी हुने भएकाले बाहिर निस्कन नपाउने र चेकका क्रममा प्रहरीले भेटेको अवस्थामा पक्राउ गरी सिधै जेल हाल्ने यहाँको नियम छ।
उनीहरुले आफूहरुकोे उद्धारमा साउदी अरबमा रहेको नेपाली दूतावासले चासो नदिँदा विचल्लीमा परेको गुनासोसमेत गरेका छन्। आफूहरुले भोग्दै आएको समस्याका विषयमा दूतावासलाई जानकारी गराएको भएपनि दूतावासले बेवास्ता गरेको पीडित कामदारले बताएका छन्। आफूहरुले भोग्नुपरेको समस्याका विषयमा आठ महिनाअघि नै पटक–पटक दूतावासलाई लिखित र मौखिक जानकारी गराइए पनि सुनुवाइ नभएकोे गुनासो स्याङ्जा रापाकोटका महेश पौडेलले गरे। पीडित पौडेलका अनुसार कम्पनी घाटामा गएपछि त्यहाँ कार्यरत नेपाली कामदारसहित फिलिपिनी र भारतीय कामदारलाई तलब दिन छोडेको र अनुमतिपत्रमा समेत नवीकरण नगरी दिएको हो।
तलब नपाएका र अवैधानिक भएर बसेका फिलिपिनी र भारतीय कामदारलाई भने उनीहरुको दूतावासले उद्धार गरेर स्वदेश पठाइसकेको छ। नेपाली कामदार भने नेपाली दूतावासले पहल नगरेकै कारण विचल्लीमा परेकोे त्यहाँ रहेका नेपालीको भनाइ छ। दूतावास प्रतिनिधि हरि घिमिरेले रोजगारदाता कम्पनीसँग छलफल गरेर रमादानअघि नै स्वदेश पठाउने आश्वासन दिएको भएपनि हालसम्म केही हुन नसकेको र नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल गरिरहेको बताए। रासस
प्रकाशित: २३ कार्तिक २०७२ ०७:२२ सोमबार





