नेपाली कांग्रेसको विशेष महाधिवेशनका विषयमा संस्थापन पक्ष लचक देखिएको छ। पार्टी एकता जोगाउन विशेष महाधिवेशन ‘सशर्त’ स्वीकार गर्न सकिने कुरामा संस्थापन पक्ष तयार देखिएको हो।
यसअघि नियमित महाधिवेशनको कार्य तालिकामा पार्टी अघि बढिसकेको निष्कर्षसहित ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले मागेको विशेष महाधिवेशनको औचित्य नरहेको संस्थापन पक्षको ठहर थियो।
तर, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले अगुवाइमा मागकर्ताबाटै विशेष महाधिवेशन आह्वान भयो। जसअनुसार आइतबार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन भएको छ भने सोमबार बन्द सत्र पनि सुरु भएको छ। विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएको आयोजकको दाबी छ।
बन्द सत्रमा प्रस्तुत विशेष महाधिवेशनको कार्यविधिमा पुरानो केन्द्रीय कार्यसमिति भंग गरेर नयाँका लागि निर्वाचन गर्ने विषय पनि उल्लेख छ। जुन कार्यविधि ध्वनि मतबाट पारित पनि गरिएको छ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्ने प्रस्तावसम्म पुगेपछि पार्टीले वैधानिक झमेला बेहोर्नुपर्ने र विभाजनको अवस्था देखिएको छ। जसले संस्थापन पक्षलाई झस्काएको छ। त्यसपछि सभापति शेरबहादुर देउवाले सोमबार आफू निकट नेता र कानुन व्यवसायीलाई बोलाएर छलफल गरेका थिए।
छलफलमा पार्टी एकता जोगाउन महामन्त्री द्वय थापा र शर्मासँग संवाद र सहमतिको प्रयास गर्ने निष्कर्ष निस्किएको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनले भने, ‘हामी संस्थापन पक्ष सहमति संवाद र एकताको ढोका सधैँ खुला छ।’ सोहीअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति देउवाले संवाद गर्ने पनि छलफल भएको उनले बताए।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग संयोजक मीनबहादुर विश्वकर्माले पनि महामन्त्रीहरू विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा रूपान्तरण गर्न तयार भए कुरा मिल्ने बताए। ‘उहाँहरूले विशेष महाधिवेशनमा निर्वाचनको कुरा छाडेर नीति महाधिवेशनमा फोकस गर्नुप¥यो,’ उनले भने, ‘हामीले यही कुरा सभापति र कार्यवाहक सभापतिलाई पनि भन्यौँ। उहाँहरूले यसलाई सकारात्मक रूपमा लिनुभएको छ।’
सभापति देउवाले बोलाएको छलफलमा एकता कायम राख्न विभिन्न विकल्पबारे पनि कुराकानी भएको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए। ‘उहाँहरूले नयाँ नेतृत्व चुनेपछि त पार्टी प्रस्टै फुटिहाल्छ। देश र लोकतन्त्र जोखिममा रहेका बेला, चुनाव लागिसकेका बेला पार्टी फुट्ने कुरा सुखद होइन,’ उनले भने, ‘त्यसैले पार्टी फुट्न नदिन हर सम्भव लचक हुने र एकता जोगाउने विकल्पमा पनि छलफल भएका छन्।’

जसमा विशेष महाधिवेशनको स्वीकार्यताको विषय पनि एक रहेको बलायरले बताए। ‘विशेष महाधिवेशनलाई नीति महाधिवेशन अथवा कुनै संकल्प महाधिवेशन भनेर नीतिगत कुरा पारित गरेर अघि बढ्ने कुरा मान्दा पार्टी जोगिन्छ भने, त्यसो गर्न सकिन्छ भन्ने रह्यो,’ उनले भने।
कांग्रेस लड्ने बेला नभएकाले सबै पक्ष संयम हुनुपर्ने र मध्यमार्गी विकल्पमा जानुपर्ने आवश्यकता बनेको सभापति बलायरको बुझाइ छ। उनले भने, ‘अरू बेला भए विधानमाथि आफूखुसी हुँदा कसरी लड्ने भन्ने हामीलाई थाहा थियो। तर, यो बेला त्यसरी लड्ने अवस्था छैन। पार्टी विभाजन हुँदा चुनावमा घाटा हुन्छ, त्यसले देश र लोकतन्त्रलाई कमजोर पार्ने स्थिति छ।’
केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी एकता जोगाउन संस्थापन पक्ष सकेसम्म लचक हुने बताए। उनले भने, ‘यो पार्टी सबैको हो। यसको एकता जोगिँदा मात्र कांग्रेस र लोकतन्त्र बलियो हुन्छ। त्यसैले अहिले एकता जरुरी छ। एकताका लागि दुवै पक्ष लचक हुनुपर्छ।’
अर्का केन्द्रीय सदस्य श्याम घिमिरे फरक परिस्थितिमा पार्टी फुटाउनेतिर कसैले जान नहुने बताउँछन्। त्यसका लागि दुवै पक्षले ‘विन–विन’को अवस्था बनाएर सहमति गरेर जानुपर्ने उनको धारणा छ। ‘पार्टी फुटाएर त आखिर महामन्त्री ज्युहरूलाई पनि फाइदा हुन्न होला। विषम परिस्थितिमा पार्टी फुटोस् भनेर हामीले पनि चाहेका छैनौँ,’ उनले भने,‘त्यसैले संवाद र सहमतिको माध्यमबाट विन–विनको विकल्पमा जानुपर्ने अहिलेको आवश्यकता हो।’ नीति महाधिवेशनका रूपमा सहमति जुटे संस्थापन पक्षका नेता महाधिवेशनमै सहभागी हुन पनि तयारी अवस्थामा रहेको बताउँछन्।

यस्तै संस्थापन पक्ष वैशाखमा तोकिएको १५ औँ महाधिवेशन अब कुनै पनि हालतमा नसर्ने प्रत्याभूति दिलाउन पनि तयार देखिएको छ।
दुई वटा सर्त
संस्थापन पक्षले दुई वटा सर्तमा मात्रै विशेष महाधिवेशनको अजेन्डा स्विकार्ने धारणा राखेका छ। जसमा पहिलो नेतृत्व परिवर्तन गर्न नहुने र दोस्रो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सभापति देउवाको हस्ताक्षरमा नै उम्मेदवारी दिने। ‘यसो हुँदा विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा ग्रहण गरेर बाँकी छलफल र प्रस्ताव अपनत्व लिँदै पार्टीको सम्पत्तिको रूपमा ग्रहण गर्न सकिन्छ,’ सभापति देउवा निकट एक नेताले भने।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आफूले आइतबार महामन्त्री थापा र सोमबार सभापति देउवालाई भेटेर वैकल्पिक प्रस्तावमा कुराकानी गरेको बताए। शेर्पा संस्थापन पक्षकै नेता हुन्। ‘दुवै पक्ष एक कदम पछि हटेर विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा स्विकार्ने, तर तत्काल नेतृत्व नफेर्ने विकल्प दुवै आदरणीय नेतासमक्ष राखेँ,’ शेर्पाले भने,‘त्यसमा सभापति देउवा सकारात्मक नै हुनुहुन्छ। महामन्त्री ज्युले थप छलफल गर्छौँ भन्नुभएको छ।’
शेखरको पुरानै लाइन
पार्टी एकता जोगाउन यस्तै मध्यमार्गी प्रस्ताव इतर पक्षका नेता डा. शेखर कोइरालाले पहिल्यैदेखि राख्दै आएका थिए। उनले नेतृत्व नै परिवर्तन गरेर जाँदा पार्टी फुट्ने तर, विधानको व्यवस्थाअनुसार माग गरिएको विशेष महाधिवेशनको अजेन्डालाई पनि अस्वीकार गर्न नसकिने उनको धारणा थियो।

सोहीअनुसार अहिले विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा संकल्प सम्मेलनका रूपमा रूपान्तरण गर्न महामन्त्री द्वय थापा र शर्मालाई उनले आग्रह गरेका थिए। यस्तै सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षलाई पनि उक्त प्रस्ताव स्वीकार गर्न उनको आग्रह थियो।
तर, यसअघि संस्थापन पक्ष र महामन्त्री द्वयले कोइरालाको उक्त प्रस्तावलाई गम्भीर रूपमा लिएका थिएनन्। सोमबार पनि कोइरालाले आफू पक्षीय नेता र कानुन व्यवसायीसँग संवाद गरेका थिए। उक्त छलफलमा पनि पार्टी एकता जोगाउन यही विकल्पमा दुवै पक्षलाई मनाउन भूमिका खेल्ने निष्कर्ष निस्किएको थियो।
त्यसपछि नेता कोइराला सभापति देउवालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका थिए। जहाँ संस्थापन पक्षकै नेताहरूको पनि जमघट भएको थियो। त्यहाँ पनि कोइरालाले सभापति देउवालाई पार्टी एकता जोगाउन लचक हुँदै महामन्त्रीद्वयलाई बोलाएर छलफल गर्न आग्रह गरेका थिए।
सभापति देउवाले आफू छलफल गर्न तयारै रहेको प्रतिक्रिया दिएका थिए। यस्तै संवादका लागि कार्यवाहक सभापति खड्काले पनि प्रयास गरिरहेको र पटक पटक संवाद गरेको पनि सुनाएका थिए।
कारबाही गर्न नहतारिने, फुटिहाले सामनाको तयारी
सभापति देउवाले विशेष महाधिवेशनको विषयलाई हतारमा अनुशासनको विषय बनाएर कारबाहीका लागि नहतारिन पनि आफू पक्षका नेताहरूलाई आग्रह गरेका छन्। उक्त विषय केही नेताले छलफलमा उठाएपछि देउवाले पार्टीभित्र स्वस्थ छलफलका लागि हुने गतिविधिमा कारबाही गरिहाल्न हतार गर्न नहुने बताएका थिए।
‘सभापति ज्युको कुरा अन्तिम समयसम्म पर्ख र हेरकै अवस्थासम्म पुग्नुपर्छ भन्ने छ। एकताका लागि सके जति लचकता अपनाउन पनि उहाँ तयार हुनुहुन्छ,’ सुदूरपश्चिम सभापति बलायरले भने,‘अब निकै अप्रिय नै निर्णय भइहाले त्यसपछि पार्टीले आफ्नो कदम चाल्नुपर्ने नै होला।’
यस्तै सभापति देउवाले लचकता अपनाउँदा–अपनाउँदै पनि पार्टी फुटिहाले त्यो परिस्थितिको सामना गर्न आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।
प्रकाशित: २८ पुस २०८२ २०:४७ सोमबार





