लन्डन-बेलायतबाट प्रकाशन हुने एभरेष्ट टाइम्स साप्ताहिकमा कार्यरत फोटो पत्रकार हरिमान गुरुङ बेपत्ता भएका छन्। सोही पत्रिकामा कार्यरत पत्रकार मिलन तमूका अनुसार गुरुङ शनिबार साँझदेखि परिवारको सम्पर्कबिहीन भएका हुन्।
विगत ३ बर्षदेखि सो साप्ताहिकमा कार्यरत गुरुङ शनिबार अल्डरशट स्थित एम्पाएर हाउसमा प्रदर्शन भएको चलचित्र वडा नम्बर ६ हेरेर निस्केपछि घर नआएको तमूले जनाए। आइतबार दिउँसोसम्म कतै इष्टमित्रको घरमा गएको होला भनेर परिवारहरुले प्रतिक्षा गरेर बसेको तर दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि स्थानीय प्रहरीलाई खबर गरेको पारिवारीक स्रोतले जनाएको छ।मिलनसार र फूर्सदको समयमा गीत संगितमा रमाउने गुरुङ बेपत्ता भएपछि बेलायतस्थित नेपाली समूदाय चिन्तित बनेको छ। स्थानीय समाजसेवी बाचस्पति रेग्मीमा अनुसार गुरुङको अवस्थाका बारेमा स्थानीय प्रहरीले खोजि जारी राखेको छ। गुरुङ एभरेष्ट टाइम्स साप्ताहिकमा बिगत ३ बर्षदेखि इभेन्ट फोटोग्राफरका रुपमा कार्यरत थिए।
कास्कीको घान्द्रुकमा जन्मिएका गुरुङ सन् २००६ मा हङकङ हुदैं बेलायत आएका हुन्। परिवार सहित बेलायतमा बसोबास गर्दे आएका गुरुङको कार बेजिङस्टक जाने बाटोमा फेला परेकाे छ। गुरुङको खोजीमा सहयोग गर्न उनको परिवारले बेलायतस्थित नेपाली समूदायतलाई अपिल गरेको छ।
प्रकाशित: ९ कार्तिक २०७२ ०८:३८ सोमबार





