लन्डन– भारतले नेपालमाथि हस्तक्षेप गरेको भन्दै स्वीटजल्याण्डको बर्नमा सोमबार नेपाली समुदाय स्वतस्पुर्त विरोध प्रदर्शनमा निस्के। हालै जारी भएको संविधानप्रति असन्तुष्ट बनेको भारतले नेपालमा विभिन्न बहानामा नांगो हस्तक्षेप गरेको भन्दै उनीहरु प्रदर्शनमा निस्केका हुन्।


बर्नस्थित भारतीय दूतावासको अगाडि जम्मा भएका बिभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायत नेपाली समुदायको सहभागितामा भएको प्रदर्शनमा राष्ट्रिय झण्डा, ब्यान र विभिन्न प्लेकार्डसहित उपस्थित थिए । प्रदर्शनकारीले भारतविरुद्ध चर्का नारावाजीसमेत गरेका थिए। नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी आबद्ध भ्रातृ संस्थाका कार्यकर्ताहरुको ब्यापक उपस्थिति थियो। कार्यक्रमलाई नेपालका राजनीतिक दलको नैतिक सर्मथन रहेको नेपाली जनसम्पर्क समितिका सभापति राम महतोले बताए। स्थानीय पत्रकार गुणराज शर्माका अनुसार प्रदर्शनकारीले नेपालमा संविधानसभाले बनाएको संविधानमा असन्तुष्टि जनाएर भारतले नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको उल्लेख गर्दै भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका छन्।
यसअघि तीनवटै संस्थाले संयुक्त रुपमा एक बक्तब्य जारी गर्दै नेपालमाथि आफ्नो प्रभुत्व जमाउन खोज्ने भारत सरकार र प्रशासनले कहिले सीमा विवाद त कहिले आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आइरहेको महतोले बताए। भारतीय पक्षले नयाँ संविधानमा राख्न खोजेको सात बुँदे प्रस्ताव राष्ट्रघाती भएको भन्दै प्रदर्शनमा उपस्थित हुन स्वीजरल्याण्डका नेपाली समुदायसँग आग्रह गरेको थियो । प्रदर्शनपछि बोल्ने वक्ताहरुले भारतलाई नेपालको स्वतन्त्रतामा हस्तक्षेप नगरी आफूलाई असल छिमेकी बनेर देखाउन आग्रह गरे। बिरोधपत्र बुझाउन प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय मुडभरी, नेपाली जनसम्पर्क समितिका सभापति, राम महतो, नेपाली ऐक्यबद्धता मञ्चका अध्यक्ष, अच्युत फुयाल, गुणराज शर्मा, गैरआवासीय नेपाली संघ स्वीजरल्याण्डका अध्यक्ष, हिरावल गुरुङलगायत भारतीय दूतावास पुगेका थिए ।
यसैबीच गैरआवासीय नेपाली संघ स्पेनको सक्रियतामा बार्सिलोनामा सम्पन्न राजनीतिक, जातीय तथा सामाजिक संघसंस्थहरुको भेलाले भारतको पछिल्लो नाका बन्दीको बिरोध गर्दै खेद प्रस्ताव पारित गरेको छ। संघले अगामी बुधबार बार्सिलोनास्थित भारतीय कन्सुलर कार्यालयमा पुगेर स्वतन्त्र राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेपबिरुद्ध ज्ञापनपत्र दिने तयारी गरेको बताइएको छ ।
प्रकाशित: ११ आश्विन २०७२ ०८:४० सोमबार





