३० पुस २०८२ बुधबार
image/svg+xml
प्रवास

लन्डनको नेपाली दूतावासबाट भूकम्प पीडितलाई २ करोड

लन्डन—लन्डनस्थित नेपाली दूतावासले भूकम्पपछि स्थापना गरेको नेपाल—ब्रिटेन भूकम्प राहत तथा उद्धार कोषमा हाल सम्म २ करोड रुपैयाँ भन्दा बढी संकलन भएको छ। सोमवारसम्म १ लाख ३२ हजार ९ सय ३८ पाउण्ड (२ करोड ६ लाख ) संकलन भइसकेको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए। संकलित रकममध्ये दोस्रो किस्ताको ६५ हजार पाउण्ड (करिब १ करोड २ लाख) रकम प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको छ।

यसअघि ६५ हजार पाउण्ड (एक करोड ३ लाख रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धारको कोषमा पठाइ सकिएको छ। बेलायतस्थित नेपाली, संघसंस्था, ब्यवसायी, भारतीय, बंगाली र मुस्लिम समुदायदेखि सर्वसाधारणले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् । हिन्दू वेलफियर सोसाइटी, नेपिलज डाक्टर एसोसियन, यू डोनट फाउण्डेसन् अस्मिनी अल्चर ट्रष्ट, शिव कम्युनिटी एण्ड सेन्टर, पाल्पाली भन्ज्याङ, हिन्दू मन्दिर, ट्रष्ट साउथहल, अल्डरसोट एण्ड फार्नबोरो मुस्लिम एजुकेशन सोसाइटी, माइलइण्ड बेङ्गाली मुस्लिम कम्युनिटी, नेपाली इन्जिनियर्स एसोसियसन, हाइली स्किल फोरम, रेडब्रिज इण्डियन वेलफेयर एसोसिएसन च्यारिटी, ब्रिटेन नेपाल सोसाइटी, नेटवेष्ट बैंक, एभरेष्ट इन समूह आदिले दूतावास कोषमा रकम जम्मा गरेका हुन्।

दूतावासका कूटनीतिक तथा स्थानीय कर्मचारीले पनि आफ्नो मासिक तलबबाट करिब साढे तीन लाख रुपैयाँ भूकम्प पीडितलाई दिएको दूतावासले जनाएको छ। कार्यवाहक राजदूत क्षेत्रीले बेलायतस्थित बिभिन्न समूदायबाट उठेको रकम पारदर्शीरुपमा भूकम्प पीडितलाई राहत, पुनस्र्थापना तथा पुनः निर्माणलगायतमा उपयोग गर्न प्रधानमन्त्री राहत कोषमा पठाएको बताए। उनले देशको अवस्था हेरेर यथासम्भव छिटो सहयोग रकम दूतावास कोषमा दाखिला गर्न बेलायतस्थित विभिन्न संघसंस्थालाई आग्रह गरेका छन्।

यसअघि वैशाख १३ गते बेलायतस्थित नेपाली समूदायको एक भेलाले क्षेत्री अध्यक्षतामा उच्चस्तरीय राहत संकलन समिति गठन गरेको थियो । भूकम्पपछि बेलायतबाट नेपाल जान चाहने स्वयंसेवकको सुविधालाई मध्यनजर गर्दै दूतवासले हप्ताको सातै दिन भीसा सेवा दिँदै आएको छ। दूतावासले भित्रै बिशेष हेल्प डेस्क स्थापना गरी सोहीमार्फत् सहयोग संकलन भइरहेको छ।

सो हेल्प डेस्क सोमबारदेखि शुक्रबार सम्म बिहान ९ देखी ५ बजे सम्म खुल्ला रहने दूतावासले जनाएको छ। हप्ताको सातै दिन संकलन हुँदै आएको हेल्प डेस्कमा मात्र भूकम्पका र सहयोगसम्वन्धी जिज्ञासाका चार हजार फोन आइसकेको दूतावासले जनाएको छ। हेल्प डेस्ककै सहयोगमा करिब ९ टन राहत सामाग्री भूकम्प पीडितका लागि पठाएको दूतावासले जनाएको छ। कार्यबाहक राजदूत क्षेत्रीको अध्यक्षतामा बसेको कोषको बैठकले अगामी जुलाइ १२ तारिख आइतवार लन्डन दूतावासमा एक कार्यक्रमको आयोजान गरी दातालाई सहयोग स्वरुप प्रशंसापत्र दिने निर्णय गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०७२ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App