२६ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

नेपालबाट नर्स बेलायत आउने प्रक्रिया एक वर्ष लाग्ने

नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता भई नर्सहरु बेलायत ल्याउने प्रक्रिया पूरा गर्न अझ एक वर्ष लाग्ने भएको छ।

बेलायतमा रहेका नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार एक भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी सोबारे जानकारी गराएको हो।

एनएनए युकेले बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसल केयर) संग गरेको छलफलमा मन्त्रालयका अधिकारीहरुले उक्त सुझाव दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

एनएनए युकेका अध्यक्ष सुनिता गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयसंग हालै भएको छलफलमा उनीहरुले नेपाल सरकारसंगको पहिलो छलफल सकारात्मक भएको र नेपालबाट नर्स ल्याउन एक वर्ष लाग्न सक्ने बताएको जानकारी दिइन्।

एनएनए युकेकी महासचिव बिनु लामिछानेले एउटा नर्सलाई बेलायत ल्याउँदा करिब ४ हजार पाउण्ड खर्च लाग्न सक्ने तर सबै पैसा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) वा त्यसमार्फतको एजेन्सीले तिर्ने तर नेपालका नर्सहरुले एक पैसा तिर्न नपर्ने उनले बताइन्।

एनएनए युकेका पूर्व अध्यक्ष वासु लामिछानेले नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई बेलायतमा दर्ताका लागि बेग्लै व्यवस्था नभएको प्रष्ट पारे।

उनले बेलायतले बिरामीहरुको सेवामा स्तर कायम गर्न अंग्रेजी भाषाको मापदण्ड बनाएको र नेपालबाट आउनेका लागि मात्र अंग्रेजी भाषाको स्तर घटाउने सम्भावना नभएका बताए।

अध्यक्ष गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई धेरै नहौसिन, नआत्तिन र खाइपाइ आएको जागिर अहिल्यै नछोड्न भनेको उद्धृत गर्दै इच्छुक नेपाली नर्सहरुलाई त्यहीअनुसार गर्न सल्लाह दिइन्।

उनले प्रशस्त जागिर भएकाले नआत्तिन, धैर्य गरी अंग्रेजी भाषाको परीक्षा पास गरेर मात्र बेलायत आउन आग्रह पनि गरिन्।

नेपालका मिडियाहरुमा बेलायतमा नर्सहरुले पाउने तलबका बारेमा बढाइचढाइ गरिएकोमा अध्यक्ष गौतमले बेलायतमा नर्सहरुको शुरुवाती तलब वार्षिक करिब २५ हजार पाउण्ड रहेको र लण्डन लगायतका क्षेत्रमा भत्तावापत २० प्रतिशतसम्म अतिरिक्त रकम दिइने पनि गौतमले प्रष्ट पारिन्।

बेलायतमा कार्यरत अर्का नर्स राजेन्द्र पुडासैनीले पनि नेपाली नर्सहरुलाई जागिर नछाड्न, धेरै उत्साहित नहुन र बेलायत आउनका लागि कसैलाई पैसा नतिर्न सचेत हुन आग्रह गरे।

एनएनए युकेकै ईन्दिरा बस्यालले एनएनए युकेले बेलायतमा कार्यरत नेपाली नर्सहरुको हितका लागि विभिन्न कार्यक्रम गरिँदै गरेको जानकारी दिइन्।

नेपाल नर्सिङ एसोसिएनका अध्यक्ष मन राईले नेपालबाट बेलायत नर्स लैजाने बारेमा नेपाल सरकारले आफूहरुसंग आधिकारिक रुपमा छलफल नगरेको बताइन्।

नेपालको मोडल नर्सिङ कलेजकी प्रिन्सिपल सुमिता पाठकले राज्यकै प्रत्यक्ष संलग्नतामा विदेशमा नर्सहरु पठाउँदा नेपालको नर्सिङ क्षेत्रमा भविष्यमा पर्ने असरका बारेमा ध्यान दिनुपर्ने बताइन्।

प्रकाशित: १० माघ २०७८ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App