६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

बैंककमा अपहरित नेपाली मुक्त

काठमाडौं- थाइल्यान्डको बैंककमा गएको शुक्रबार अपहरणमा परेका तीन नेपाली विद्यार्थी अपहरणमुक्त भएका छन्। एजप्सन विश्वविद्यालयमा पढिरहेका कर्ण हाछेथू, दिवस रिजाल र रोनिश श्रेष्ठ मंगलबार अपहरणमुक्त भएका हुन्।परिचित साथीसँग पार्टी मनाउन जाँदा उनीहरू पाकिस्तानी र थाई नागरिकको अपहरणमा परेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र थाइल्यान्ड प्रहरीले संयुक्त अप्रेसन चलाएर उनीहरूलाई अपहरणमुक्त गरेका हुन्।

नेपाल प्रहरीले दोस्रो देशमा संयुक्त अप्रेसन गरी अनुसन्धान गरेको यो सम्भवतः पहिलो आपराधिक घटना हो।

तीन दिनको संयुक्त अप्रेसनपछि मंगलबार दिउँसो प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी र पाकिस्तानी मूलका एक थाई नागरिकलाई पक्राउ गरेको छ। अपहरणमा नौ जनाभन्दा बढी संलग्न देखिए पनि मुख्य अपहरणकर्ता अलीसहित अन्य पक्राउ परेका छैनन्।

ब्युरोका प्रमुख डिआइजी हेमन्त मल्लले अपहरणमा परेका नेपाली विद्यार्थी अपहरणमुक्त भएको र अपहरणमा संलग्न देखिएका दुई जना पक्राउ परेको पुष्टि गरे। 'तीन जना विद्यार्थी अपहरणमुक्त भइसकेका छन्,' उनले मंगलबार नागरिकसँग भने, 'अपहरणमा संलग्न देखिएका पाकिस्तानी र थाई नागरिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।'

थाइल्यान्डको एजप्सन विश्वविद्यालयमा बिए अध्ययनरत उनीहरू शुक्रबार पार्टी गर्न भन्दै अली नाम गरेका पाकिस्तानी नागरिकसँग विश्वविद्यालयबाहिर गएका थिए। अली उनीहरू पढ्ने विश्वविद्यालयकै विद्यार्थी हुन्। जानकार अधिकारीका अनुसार अलीले उनीहरुलाई आफ्नो अस्टे्रलियाको भिसा लागेको भन्दै सेलिब्रेसनका लागि पब जान प्रस्ताव गरेका थिए। उनले शुक्रबार दिउँसो पब नलगी ट्याक्सीमा राखेर 'मुवाङ' भन्ने ठाउँको एक अपार्टमेन्ट पुर्या एर त्यहीँ बन्धक बनाएको प्रहरी स्रोतले बतायो।

अपहरणकारीले उनीहरूलाई बन्धक बनाएर नेपाल बस्ने अभिभावकको सम्पर्क नम्बर मागेका थिए। अपहरणकारीले अपहरित नेपाली विद्यार्थीका अभिभावकलाई शनिबार फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए। त्यसपछि मात्र नेपाली विद्यार्थी अपहरणमा परेको घटना खुलेको थियो।

अपहरितका परिवारले घटनाबारे नेपाल प्रहरीलाई जानकारी गराएपछि ब्युरोले थाई प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको थियो। स्रोतअनुसार अपहरणको प्राविधिक अनुसन्धानमा केही शंकास्पद नम्बर खुलेपछि अनुसन्धानमा थाई प्रहरीसँग समन्वय गर्न आइतबार ब्युरोका एसपी पिताम्बर अधिकारी बैंकक गएका थिए।

थाई प्रहरीले अपहरणकारीले प्रयोग गरेको नम्बरका आधारमा उक्त अपार्टमेन्टमा मंगलबार दिउँसो २ बजे छापा मार्दा तीनै जना नेपाली विद्यार्थीलाई कोठामा थुनेर राखेको अवस्थामा फेला पारेका थिए।

अनुसन्धान स्रोतका अनुसार पक्राउ परेका पाकिस्तानी र थाई नागरिक अपहरितलाई कुर्न बसेका थिए। हालसम्मको अनुसन्धानमा अपहरणको मुख्य योजनाकार पाकिस्तानी नागरिक अली देखिएका छन्। उनीसहित संलग्न अन्य सात जना पक्राउ परेका छैनन्। अपहरण मुक्त भएलगत्तै प्रहरीले बंंैकक र नेपालमा एकै समय पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। घटना थप गम्भीर देखिएको भन्दै दुवैतिरको पत्रकार सम्मेलन स्थगित गरिएको छ।

प्रकाशित: ८ पुस २०७१ २१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App