क्यालिफोर्निया– नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सडक दुर्घटनाबाट घाइते दुई आर्थिक पत्रकारको उपचारका लागि तीनहजार एकसय डलर सहयोग गरेको छ।
नेजाले आफ्ना सदस्य तथा शूभेच्छुकहरुबाट संकलन गरेको उक्त रकम मंगलबार नेपाल पठाएको छ। आर्थिक पत्रकारद्वय किरण अधिकारी र मोदनाथ ढकालको उपचारको लागि नेजाले एकसातादेखि सहयोग संकलन अभियान थालेको थियो।
गत साउन १० गते भक्तपुरको नगरकोटबाट फर्कने क्रममा दुबै जना बस दुर्घटनामा परेर गंभिर घाइते भएका थिए। दुबै जनाको ललितपुरको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
संस्थाका अध्यक्ष गौतम दाहालका अनुसार नेपालमा पत्रकारहरुलाई स्वास्थ लगायत कुनै पनि समस्या पर्दा नेजाले सकेको सहयोग गर्दै आएको छ। उक्त रकम पत्रकार महासंघको समन्वयमा सेजन मार्फत घाइते पत्रकारहरुलाई हस्तान्तरण गरिनेछ।
पत्रकारद्वयलाई सहयोग संकलन गर्नका लागि नेजाले मधुकर अधिकारीको संयोजकत्वमा भोला आचार्य, रामचन्द्र भट्ट र सुदर्शन ओली रहेको समिति गठन गरेको थियो। घाइते पत्रकारको उपचारका लागि अमेरिकामा रहेका ६२ जना पत्रकार तथा शूभेच्छुकहरुले सहयोग गरेका थिए। दाताहरुले कम्तिमा २० डलरदेखि एकसय ६१ डलरसम्म सहयोग प्रदान गरेको नेजाले जनाएको छ।
प्रकाशित: २८ श्रावण २०७१ ०८:३६ बुधबार





