मेलबर्न—गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय भवन काठमाडौंमा निर्माण गर्न अष्ट्रेलियाबाट झन्डै २ करोड रूपैयाँ संकलन भएको छ। जुलार्इ महिनाभर अष्ट्रेलियाका मुख्य चार शहरमा संचालित अभियानबाट झन्डै २ करोड रूपैयाँ संकलन भएको एनआरएनले जनाएको छ।
पछिल्लोपटक गत शनिवार मेलवर्नमा आयोजित गाला डिनर कार्यक्रममा भिक्टोरिया क्षेत्रमा बसोबास गर्ने एनआरएनहरूले करिव ७० लाख रूपैयाँ संकलनको प्रतिबद्धता जनाएका छन्। एनआरएनका अनुसार अष्ट्रेलियाकै सिड्नीबाट करिव १ करोड, क्यानबेराबाट १३ लाख र ब्रिसबेनबाट १५ लाख रुपैयाँको प्रतिबद्धता आएको छ।
गत हप्ता मेलबर्नको एस्टोनियन हाउस ब्रंज्विकमा आयोजित गाला डिनर कार्यक्रममा भिक्टोरिया क्षेत्रका नेपालीले भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट गच्छेअनुसार सहयोग रकम घोषणा गरे। गैरआवासीय नेपाली संघ अन्तरार्ष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सभासद् राजिबबिक्रम शाह, भिक्टोरियाका लागि नेपाल सरकारका मानार्थ कन्सुलर जनरल चन्द्र योञ्जन, एनआरएन केन्द्रिय सचिब रन्जु थापा, प्रबक्ता मन केसी सहभागी थिए।यसैगरी ओसिनिया संयोजक बिष्णु हमाल, भबन निर्माण समितिका ग्लोबल इभेन्ट्स टिमका गणेश केसी, आइसीसी सदस्य दीपा रार्इ, आइसीसी सदस्य डा. राजु अधिकारी, एनआरएन अस्ट्रेलिया सचिब भरत पोख्रेल लगाएत बुद्धिजीवी, पत्रकार, ब्यबसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
दौडाहामा अध्यक्ष घले
एनआरएनको कार्यालय भवन निर्माणका लागि अध्यक्ष घलेको व्यस्तता चुलिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आफ्नो गृहसहरमा हौसलापूर्ण रकम संकलनको प्रतिबद्धता आएको बताए। 'अष्ट्रेलियामा रहनुभएका हरेक गैरआवासीय नेपालीको सहभागितामा हामीले यो सफलता हात पारेका छौं', उनले भने, 'सामूहिक पहल भयो भने हामी जस्तोसूकै काम गर्न पनि सफल हुन्छौं।' अष्ट्रेलियाका एनआरएनले बिश्वभरका एनआरएन अभियन्ताहरुलाई उर्जा थपिदिएको उनले बताए। भने, 'यो अभियानमा खट्ने संयोजकहरु तथा सवै एनआरएनको जति प्रशंसा गरे पनि कम हुन्छ।'
आगामी 'एनआरएन डे' अर्थात् अक्टोवर ११ सम्ममा भवनको सिलन्यास गरिसक्ने अध्यक्ष घलेले जानकारी दिए। 'अस्ट्रेलियाबाट सुरु भएको यो अभियान काठमाडौंमा भवन निर्माण सम्पन्न गरेर मात्र विश्रम लिनेछ', उनले भने। अगष्ट महिनाभरि अध्यक्ष घले रकम संकलनका लागि अमेरिका, क्यानडा र युरोपमा आयोजना हुने बिभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
करिव १५ करोड लागतमा निर्माण गर्न लागिएको भवनका लागि बिश्वभर छरिएर रहेका नेपालीहरुले रकम संकलन अभियान चलाइरहेका छन्।
मेलबर्नस्थित ब्यबसायी, समाजसेवी टोनु गोथाने प्रमुख आयोजक रहेको कार्यक्रममा एनआरएन भिक्टोरिया संयोजक ऋषि कँडेलले स्वागत भाषण गरेका थिए। समाजसेबी एबम एनआरएन अभियन्ता रंजन बैध्य एबम सुष्मा बस्नेतले कार्यक्रम संचालन गरेका थिए।
भिक्टोरियाका लागि नेपाल सरकारका मानार्थ कन्सुलर जनरल चन्द्र योञ्जनले प्रबासी नेपालीहरुको नेपाल र नेपाल प्रतिको लगावले आफूलाई भावुक बनाएको उल्लेख गरे। उनले विश्वभरिका एनआरएनलाई आफ्नो देशको लागि केही न केही गर्न आह्वान गरे।
कार्यक्रममा एनसीसी सदस्य राजु शाक्यको सहयोगमा नेपाली संस्कृति तथा पहिचान झल्कने गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए भने एमआईटी, एइसीसी, टीडब्लुजीजी, इभेन्ट केटरर लगायतले कार्यक्रमको प्रायोजन गरेका थिए।
एनआरएन भबन निर्माणसम्बन्धी अभियानको यो कार्यक्रम एनआरएनए ग्लोबल आर्थिक संकलन समिति र एनआरएनए अष्ट्रेलियाको भिक्टोरिया राज्यसमितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
प्रकाशित: १८ श्रावण २०७१ ०४:५२ आइतबार





