coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएका सल्लाहकार तथा पूर्वउपाध्यक्षसमेत रहेका आचार्यले आइतबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी २०२१–२०२३ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन्।  

उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु,’ उनले भने। उनले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी सहित तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने कुरालाई सर्वोच्च प्राथमिकतामा राख्ने बताए।  

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तीमा एक सय पुयार्‍उने घोषणा गरेका छन्। हाल एनसिसीको संख्या ८४ रहे पनि कतिपय एनसिसीहरू निस्क्रिय रहेका छन् भने संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा रहेको छ। 

आफ्नो कार्यकालमा आर्चायले गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोड्ने योजना बनाएका छन्। थाइल्याण्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पनि पहल गर्ने आचार्यले घोषणा गरेका छन्। पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन्। उनी लण्डनका स्थापित व्यवसायी हुन् भने समाजसेवी पनि हुन्।  

करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए। अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे। उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सिपको विकासमा संघले संस्थागत रूपमा ध्यान दिने उनले बताए।  

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउने उनको योजना छ। प्रवासी नेपालीहरूको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे ।

नेपालमा गैरआवासीय नेपालीहरूको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनु पर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ ।’ नेपालबाट अवैधरूपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो,’ उनले भने। 

आचार्यको उम्मेदवारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद् (एनसिसी)ले समर्थन जनाएका छन्। एनसिसी युकेबाट संघको यात्रा थालेका आचार्यले एनआरएनए युकेका अध्यक्ष, आइसिसी सदस्य, युरोप क्षेत्रको संयोजक, आइसिसी उपाध्यक्ष र सल्लाहकारका रूपमा काम गरेका छन्।  

आचार्यले अगाडि सारेका अजेन्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसिसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ। संघको महासचिव पदमा अमेरिका निवासी एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका चिकित्सक डा. केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन्। 

अमेरिकास्थित एक अस्पतालका मेडिकल डाइरेक्टर पौडेल एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन्। आचार्यको नेतृत्वमा संघलाई पारदर्शी र परियोजनामुखी बनाउने अभियानअन्तर्गत आफूले महासचिव पदमा उम्मेदवारी दिएको पौडेलले बताए ।

संघको दशौं विश्वसम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदैछ। निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।

प्रकाशित: ११ आश्विन २०७८ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App