कोपनहेगन– डेनमार्कमा भएको ‘जेएसएस कप' फुटबल कप प्रतियोगितामा हिमालयन ब्वाइज डेनमार्क विजयी भएको छ। यहाँ बस्ने नेपालीबीच जनसम्पर्क समिति डेनमार्कले स्व. गिरिजाप्रसाद कोइरालाको ९१औं जन्मजयन्ती पारेर प्रतिस्पर्धा गराएको हो।
प्रतियोगितामा हिमालयन ब्वाइज डेनमार्कले एनआरएन डेनमार्कलाई १ का विरुद्ध ८ गोलले हराउँदै कप जित्यो। सेभेन–ए साइडअनुसार नकाउट पद्धतिबाट खेलाइएको प्रतियोगितामा ११ टिमले भाग लिएका थिए।
शनिबार सुरु भएको प्रतियोगितामा आयोजक जनसम्पर्क समिति डेनमार्क, एनआरएन डेनमार्क, हिमालयन ब्वाइज डेनमार्क र जी नाइन डेनमार्क टिम पहिलो चरण पार गरी सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा जनसम्पर्क समितिलाई हराउँदै एनआरएनको टिम फाइनल प्रवेश गरेको थियो। सेमिफाइनलकै अर्को खेलमा हिमालयन ब्वाइजले जी नाइन डेनमार्कलाई हरायो। फाइनलमा हिमालयन ब्वाइजले एनआरएन टिमलाई ठूलो गोल अन्तरले पछार्यो।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्ट र जनसम्पर्क समितिका अध्यक्ष रामचन्द्र पाठकले कप, मेडल तथा प्रमाणपत्र वितरण गरे। कार्यक्रमको संयोजन जनसम्पर्क समितिका खेलकुद संयोजक कृष्ण गिरीले गरेका थिए। प्रतियोगितमा सहयोग गर्ने रेफ्री र रञ्जन ओझा, महेश कंसाकार, सन्देश श्रेष्ठ, राजमान तामाङ, सुमित खड्का र फाइनल खेल सञ्चालन गर्ने डेनिस रेफ्रीलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो।
प्रतियोगितामा बढी गोल गर्ने प्रशान्त लामा र सुमित खड्कालाई संयुक्त रुपमा गोल्डेन बुट प्रदान गरिएको थियो। बेस्ट प्लेयरको उपाधि श्रीधर सिलवाल र अनुशासित खेलाडीमा तेजेन्द्र पौडेलले पुरस्कार पाए। उत्कृष्ट गोलकिपरको उपाधि कृष्ण खड्काको भागमा पर्यो।
स्थानीय बेलह्वोय मैदानमा भएको प्रतियोगिता हेर्न डेनमार्कमा रहेका नेपाली ठूलो संख्यामा आएका थिए। प्रतियोगितास्थलमा डेनमार्कका विभिन्न व्यापारिक संस्थाले स्टलसमेत राखेका थिए। हिमालयन रेस्टुरेन्टले नेपाली खानाको स्टल राखेको थियो। नेपाली रेमिटेन्स कम्पनी आइएमईले पनि स्टल राखेको थियो।
प्रकाशित: १६ असार २०७१ १०:०१ सोमबार





