२३ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

‘चीन सामरिक विस्तारमा विश्वास गर्दैन'

बेइजिङ– चीनले आफू सैन्यवादमा विश्वास नगर्ने, चीनको परम्परामा नै सैन्यवाद नरहेको प्रष्ट पारेको छ। चीनका राष्ट्रपति सि चिनफिङले भारत र म्यान्मारलाई चीन सैन्यवादमा विश्वास नगर्ने र चीनबाट नतर्सिन छिमेकी राष्ट्रसँग शनिबार विश्वस्त पार्न खोजेका छन्।

चीनको राजधानी बेइजिङमा शनिबार त्रिदेशीय सन्धीको ६०औं वार्षिकीका अवसरमा सिले छिमेकी राष्ट्रलाई आश्वस्त पार्न खोजे। चीन, भारत र म्यान्मारले ६० वर्षअघि ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त'मा हस्ताक्षर गरेका थिए। यद्यपि, अहिले उक्त सहमति कार्यान्वयनमा छैन। 

राष्ट्रपति सिले समारोहमा तीव्र गतिमा आर्थिक वृद्धि गरिरहेको चीन शान्ति र समृद्धिप्रति प्रतिबद्ध रहेकोमा जोड दिए। सन् १९५४ मा तीन देशबीच भएको सहमतिमा आपसी समझदारी बढाउने, एकअर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्नेजस्ता कुरा उल्लेख थिए। त्यसबेला अमेरिका र सोभियत संघ खेमा गरी दुई ध्रुवमा विश्वका कतिपय राष्ट्र बाँडिएका बेला सुरु असंलग्न राष्ट्रजस्तै सिद्धान्त चीन, भारत र म्यान्मारले पनि अवलम्बन गर्ने प्रयासका रुपमा सहमति गरेका थिए।
तर सन् १९६० मा भारत र म्यान्मारसँग चीनको सम्बन्ध बिग्रियो। सीमा विवादका कारण् चीन–भारत सीमा युद्ध समेत भयो। उता म्यान्मारमा भने चीनविरोधी दंगामा त्यहाँका सैनिक शासकले पनि शान्त पार्ने कुनै प्रयास गरेनन्। चीन–म्यान्मार सम्बन्धमा अहिलेसम्म पनि तत्कालिन बर्मामा भएको चीनविरोधी दंगाको नकारात्मक प्रभाव महसुस गर्न सकिन्छ।
पछिल्लो समय विश्वमा चीनको बढ्दो आर्थिक र सामरिक प्रभावका साथै पूर्वी चीन समुद्रमा जापान तथा दक्षिण चीन समुद्रमा फिलिपिन्स र भियतनामलगायत राष्ट्रसँग चर्कंदो सीमा विवादका कारण ऊसँग छिमेकी देश सशंकित हुन थालेका छन्। सामुद्रिक सीमा विवादमा सामरिक उपस्थिति बलियो पार्न थालेपछि छिमेकी देश चीनसँग सशंकित हुन थालेका हुन्। 
राष्ट्रपति सिले बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा करिब सात सयको उपस्थितिमा चीन जतिसुकै शक्तिशाली भए पनि छिमेकीमाथि आफ्ना विचार जबरजस्ती नथोपर्ने र थिचोमिचो नगर्ने बताए। समारोहमा भारतका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी र म्यान्मारका राष्ट्रपति थिएन सिएन पनि समावेश थिए। 
राष्ट्रपति सिले भने, ‘जतिसुकै शक्तिशाली भए पनि चीन सधैं शान्तिपूर्ण विकासको पक्षमा रहनेछ। किनभने शान्तिपूर्ण विकास चीनका लागि मात्र नभएर एसियासहित पूरै विश्वका लागि सर्वोत्तम हुन्छ।'
राष्ट्रपति सिले सामरिक शक्ति प्रदर्शन र विस्तारले कुनै पनि राष्ट्रको शक्तिभन्दा पनि नैतिक धरातल वा दृष्टिकोण कमजोर भएको देखाउने बताए। उनले उच्च नैतिकता र दृष्टिकोण भए मात्रै देशको सुरक्षा दह्रो बताए। सिले भारतको निकै प्रशंसा गरेका थिए। सिले नोबेल साहित्य पुरस्कार विजेता भारतीय कवि रविन्द्रनाथ टैगोरको कविताको समेत उद्धृत गरेका थिए। 
अन्सारी–खछियाङ भेट
चिनियाँ प्रधानमन्त्री लि खछियाङ र भारतीय उपराष्ट्रपति अन्सारीबीच शनिबारै राजधानी बेइजिङमा भेटवार्ता भएको छ। 
चिनियाँ प्रधानमन्त्री लि र भारतीय उपराष्ट्रपति अन्सारी भेटमा दुई छिमेकीबीच भविष्यमा सहकार्यका साथै संयुक्त आर्थिक लगानीबारे कुराकानी भएको थियो। भारतीय उपराष्ट्रपति अन्सारीले भारत र चीन दुई असल छिमेकी हुन् भन्दै दुई देशबीच हुने सहकार्य र असल सम्बन्धले एसियामा नै प्रभाव पार्ने बताए। शुक्रबार चीन पुगेका उपराष्ट्रपति अन्सारी सोमबारसम्म चीनको औपचारिक भ्रमणमा रहने छन्।

प्रकाशित: १४ असार २०७१ २१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App